बजार नपाएपछि अल्लो उद्योग सङ्कटमा

Advertisement

रुकुमपूर्व । यहाँका विभिन्न ठाउँमा स्थानीयवासीले सञ्चालन गरिरहेका अल्लो उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । अल्लोबाट उत्पादित विभिन्न सामग्रीले बजार नपाएपछि उद्योग सञ्चालनमा कठिनाइ भएको हो । अल्लो प्रशोधन र त्यसबाट बनाइने सामग्रीबारे सीप प्राप्त गरेर अल्लो उद्योग सञ्चालन गरे पनि उत्पादित सामग्री बिक्री नहुँदा आम्दानी शून्य भएपछि उद्यमी समस्यामा परेका छन् ।     
     
यहाँका तीनवटै स्थानीय तहमै प्रशस्तमात्रामा अल्लोको कच्चा पदार्थ पाइने गरेको छ । उत्पादित सामग्रीले परिश्रमअनुसारको बजार र मूल्य नपाउँदा अल्लो अद्योग सञ्चालनमा समस्या भएको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं १४ जामाबगरस्थित सिर्जनशील अल्लो उद्योग सञ्चालक गौसरी पुनले बताइन् । “जामाबगरमा छ वर्षदेखि अल्लो उद्योग स्थापना गरी उद्योग सञ्चालन गर्दै आए पनि सामग्रीले बजार र परिश्रमअनुसारको मूल्य नपाउँदा घाटा बेहोर्नुपर्ने अवस्था छ”, उनले भनिन ।     
     
अल्लोको रेसा निकालेर सुकाउने, पकाउने कुट्नेजस्ता प्रक्रियाबाट सामग्री बनाउनुपर्ने अवस्थामा गाउँमा बजार र श्रमअनुसारको आम्दानी नहुँदा रुकुमकोट र सदरमुकाम खलङ्गासम्म पु¥याउँदा झनै लागत बढेको पुनले बताइन । अल्लोबाट तयार पारिने सामग्रीबाट पारिश्रमिकसमेत नउठेपछि उत्पादनमा कमीका साथै सञ्चालनमा रहेका उद्योगसमेत सङ्कटमा परिरहेका उद्योग सञ्चालक बताउँछन् ।     
     
भौगोलिक विकटताका बीच ग्रामीण क्षेत्रका सर्वसाधारणले गाउँघरमै सङ्कलन गरेको अल्लोबाट झोला, टोपी, बर्की, कोटलगायत विभिन्न लत्ताकपडा सामग्री निर्माण गरे पनि गाउँमा बजार नभएपछि व्यवसाय धरापमा पर्ने अवस्था आएको उनहरूको गुनासो छ । जामाबगरस्थित सिर्जनशील अल्लो उद्योग व्यवस्थापनका लागि अल्लोका कपडा तयार गर्ने आधुनिक औजार खरीद र आवश्यक तालीम सञ्चालन गर्न गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ ।     
     
चालू आर्थिक वर्षमा गाउँपालिकाको रु चार लाख र वडाको रु ५० हजार गरी रु चार लाख ५० हजारको बजेट विनियोजन गरिएको वडा नं १४ का वडाध्यक्ष हर्कमान बुढाले जानकारी दिए । अल्लो उद्योग सञ्चालनबाट स्थानीयवासीलाई व्यावसायिक बनाउन सरकारसँगै विभिन्न सङ्घसंस्थाले तालीम दिँदै आए पनि उचित बजार तथा मूल्य नपाउँदा अल्लोबाट घाटा खानु परेको उद्यमी बताउँछन् ।   रासस  

Advertisement

Advertisement

Advertisement