संसदीय व्यवस्थाले निकास दिँदैन्, मुलभूत बिषयमा जनमत संग्रह गर्नुपर्छः बास्तोला

Advertisement

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले देशको समस्या हल गर्नको लागि मुख्य मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको स्पष्ट पारेका छन् । 

रिपोर्टर्स क्लबमा शनिबार उनले भने, ‘जनताको मत लिने गरौं । हरेक विषयमा जनतमसंग्रह गरौं भनेका छौं । यसले जनतालाई परिचालित गर्छ । पूर्ण लोकतान्त्रिक प्रक्रिया, जनवादी प्रक्रिया आवश्यक छ । यो प्रकारणको लोकतान्त्रिक समाज बनाऔं । अहिले हामी सरकारसँग छलफल गर्छौं । सेट अफ आईडियाज छ । हामी राख्छौं । खाका छ । हामी भन्छौं । नयाँ दिशामा जानुपर्छ ।’

Advertisement

बास्तोलाले जनमतसंग्रह के के विषयमा गर्ने भनेर अहिले नै भन्न सम्भव नभएको सुनाए । उनले अघि भने, ‘सबै भन्न सम्भव छैन् । खास खास विषयमा हुन्छ । अहिले हामी सरकारसँग छलफलमा छौं । संसदीय व्यवस्था भन्दा पनि लोकतन्त्र मूल कुरा हो । यसको विकसित कुरा गरेका छौं ।’

बास्तोलाले आफूहरु मुलुकलाई समृद्ध बनाउने उद्देश्यमा होमिएकोले यो विषयमा आफ्नो पार्टीका धारणाहरु छिट्टै सार्वजनिक गर्ने पनि जनाए । उनले वार्ताको वातावरण कसरी बन्यो ? भन्नेबारे पनि थप प्रष्ट्याएका छन् । बास्तोलाले भने, ‘राजनीतिक आन्दोलनलाई, समस्यालाई समाधान गर्नको निम्ति हामीले धेरै लामो समयदेखि छलफल गर्दै आएका थियौं । नेपालको संविधानले कतिपय विषयलाई समेट्न सकेको छैन् भन्दै आएका थियौं । आर्थिक आधार उपयोगी संरचनाको कुरा गरेका थियौं, अहिलेको व्यवस्था परिवर्तन जरुरी छ भनेर हामीले भनेका थियौं । शान्ति प्रक्रियाको दश वर्ष, यो संविधान बनेको तीन–चार वर्षमा प्रष्ट भएको छ । सरकारले के महशुस गर्यो भने नेपालमा एउटा राजनीतिक परिवर्तनको जरुरी छ । नयाँ बाटोको जरुरी छ भन्यो । त्यही भएर अहिले सहमति भएको हो ।’

अहिलेको संसदीय राजनीतिक व्यवस्थाले मुलुकलाई निकास नदिने उनको भनाई छ । बास्तोलाले भने, ‘त्यही भएर अहिले संसद् विघटन गर्नुपर्ने अवस्थामा पुग्यो । अहिले दलभित्र तनाब पैदा भएको छ । लडाईँ चलिरहेको छ । अदालतले संसद् पूनःस्थापना गरेको छ । अहिले दलभित्र लडाईँ चलिरहेको छ ।’

नेता बास्तोलाले गरिब नेपाली जनताको अवस्था अहिले पनि पनि पहिलेजस्तै रहेको सुनाए । उनले भने, ‘गरिब जनताको अवस्था जस्तो पहिले थियो, अहिले पनि त्यस्तै छ । तीन करोड नेपाली जनतामा ६० लाख नेपाली जनता सुकुम्बासी छन् । त्यो ६० लाख नेपाली जनताका छोराछोरी पढ्न पाएका छैनन् । काठमाडौंभित्र पनि हाम्रा जनता यति धेरै पिछडिएका छन् । खासमा दुई करोड जनशक्ति श्रम क्षेत्रमा सहभागिता जनाउने रहेछ । यो स्थिति देशको छ । अनि देश कसरी बन्छ ? दुई तिहाई बुहमत गरेको सरकार, पार्टी छ । तर, स्थिति झगडा गर्नुपर्ने छ । ठोस प्रकारको आर्थिक नीति आवश्यक छ ।’

आफूहरुले पहिले पनि यही राजनीतिक बाटोबाट गए देश अस्थिरतातर्फ नै जान्छ भनेर राजनीतिक विश्लेषण गरेको र अहिले आएर त्यो कुरा पुष्टि भएको बास्तोलाको भनाई छ । उनले सरकार र आफूहरुबीच भएको तीन बुँदे सहमति पालना हुनेमा शंका नगर्न आग्रह गरे । बास्तोलाले भने, ‘सरकारले वार्ता गरौं भन्यो, पछिल्लो चरणमा वार्ताको माध्यमबाट सहमति भयो । हामी निश्कर्षमा पुग्यौं । तीन बुँदे सहमति गरेका छौं । हाम्रो महासचिव र प्रधानमन्त्रीले प्रष्टसँग सहमति कार्यान्वयन हुन्छ भनेर आफ्नो कुरा राख्नुभएको छ । उहाँहरुले इमानदारीताका साथ सहमति कार्यान्वयन गर्छौं भन्नुभएको छ ।’

उनले संसद विघटन सदर भएर चुनाव भएको भए पनि देशले निकास नपाउने थियो भन्ने उनको भनाई छ । बास्तोलाले भने, ‘यसअघि पनि बहुमत आएकै हो नि । सरकार पनि बनेको थियो । यो स्थिति नयाँ घट्ना होईन् । पूनःस्थापना भएको छ । फेरि पनि चुनाव हुनुपर्छ । हामीले प्रतिष्पर्धाको कुरा गरेका छौं । समाजलाई कसरी उन्नत बनाउन सकिन्छ ? भन्ने नै हो ।’

तपाईँहरुसँग भएको हतियार कहाँ छ ? भन्ने प्रश्नमा उनले भने, ‘त्यो कुरा अहिले यहाँ गर्न जरुरी छैन् । हामीसँगको कुरा छैन त्यो । हामीलाई हाम्रो पार्टी हतियार लिएर लड्ने, हामीले भनेको सशस्त्र युद्ध पनि होईन । सशस्त्र विद्रोहको कुरा पनि होईन् । हामीले भनेको त एकीकृत जनक्रान्ति हो । वैज्ञानिक समाजवाद स्थापना गर्नै हो । क्रान्ति भनेको आमूल परिवर्तन गर्ने हो । देश धनी भयो हरेक नागरिक धनी हुन्छ ।’

उसो भए तपाईँहरुसँग अत्याधुनिक वा आधुनिक हतियार छैन ? त्यही सुतली बम मात्रै हो ? भनेर पत्रकारले सोधेको अर्को प्रश्नमा बास्तोलाले भने, ‘हामीसँग हतियार छैन् । हामीले हतियारको कुरा गरेको होईन् । हामीले गरेको कुरा एकीकृत जनक्रान्ति हो । रेभोलुसन भनेको वार होईन् । रिभोलुसन भनेको निरन्तर प्रक्रिया हो । एकीकृत जनक्रान्ति हो ।’

बास्तोलाले आफूलाई पटक–पटक हिरासतमा राखिए पनि कुनै यातनाको अनुभव नभएको सुनाए । उनले भने, ‘मलाई त सम्मानपूर्वक व्यवहार गरियो । कतिपय कमरेडेलाई टर्चर गरिएको कुरा आएको छ । बरु, अस्ति अदालतमा प्रहरीले धरपकड गरेको हो । सरकारसँग भएको सहमतिमै कार्यकर्ता छोड्ने र मुद्दा फिर्ता गने कुरा छ । तीन बुँदे सहमतिको बुँदा नम्बर तीनमा त्यो कुरा उल्लेख छ । त्यो तुरुन्तै हुन्छ ।’

Advertisement

Advertisement