महिला हस्तकला मेला सुरु, हस्तकला तालिम लिनेहरु जागिर खोज्न हिँडने गरेको मेयरको गुनासो

Advertisement

काठमाडौं । हस्तकलाको प्रवद्र्धन, महिला सशक्तिकरणको सम्वद्र्धन भन्ने नाराका साथ १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबारदेखि ललितपुरमा महिला हस्तकला मेला सुरु भएको छ । ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा ललितपुर महानगर परिसरमा मेला सुरु भएको छ । 

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले हस्तकला उद्यमशिलता प्रवद्र्धनका लागि महानगरपालिकाले सयौं व्यक्तिलाई तालिम दिए पनि उनीहरु हस्तकला व्यवसायमा नलागी नोकरीका लागि भौतारिने गरेको बताए । उनले भने, ‘हस्तकला उद्यशीलता प्रवद्र्धनका लागि हामीले तालिम, गोष्ठीमा धेरै खर्च गर्यौं । तर, तालिम लिनेहरु उद्यमशीलतातर्फ नलागी नोकरी खोज्दै हिँड्ने गरेको पाइयो, अब महानगरपालिकाले यस्ता उपलव्धी बिहीन तालिम गोष्ठीमा खर्च गर्ने छैन ।’ 

Advertisement

उनले हस्तकलाको प्रवद्र्धनका लागि महानगरपालिका परिसरमा हप्तैपिच्छे मेला आयोजना गर्न महानगरपालिकाले मेलास्थल निःशुल्क उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे । महानगर परिसभित्र मात्र नभई ललितपुरका सडक परिसरमा समेत रातको समयमा हाट बजार सञ्चालन गरी आफ्नो उत्पादनको प्रवद्र्धन गर्न सकिने उनको भनाइ थियो । 

महानगरपालिकाले मुख्य सडक तथा बजार क्षेत्रमा रातको समयमा पनि लाइटको व्यवस्था गरेका कारण दिनमा जस्तै रातमा उज्यालो हुने भएकोले रातको समयमा पनि हाट बजार संचालन गर्न सकिने महर्जनको तर्क छ  ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद बिक्रम राणाले निर्यात व्यापारमा नेपाली हस्तकलाको महत्वपूर्ण भूमिका रहेको भन्दै आगामी दिनमा महिला हस्तकला उद्यमीसँग पनि मेला, प्रदर्शनीहरुमा सहकार्य गर्ने प्रतिवद्धता जनाए । नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले कोरानाका कारण शिथिल बनेको हस्तकला प्रवद्र्र्धनमा मेलाबाट थप टेवा पुग्ने बताए ।

मेला संयोजक सविता सिंह महर्जनले कोरोनाबाट थलिएको हस्तकलाको प्रवद्र्धनका लागि मेला आयोजना गरिएको बताए । उनले मेलामा करिब ५० स्टल रहेको जानकारी गराउँदै उत्कृष्ट एक स्टललाई पुुरस्कृत गरिने घोषणासमेत गरे । सो अवसरमा ललितपुर महानगरपालिका अन्तर्गतको हस्तकला प्रवद्र्धन समितिका संयोजक सुरेशमान महर्जन, उपमेयर गीता सत्याललगायतले उद्यमशिलता विना महिला सशक्तिकरण हुननसक्ने भन्दै महिलालाई आर्थिक रुपमा सम्पन्न गराउन विना धितो कर्जाको व्यवस्थाका लागि महानगरपालिकाले पहल गर्ने बताए । 

फागुन २४ गतेसम्म संचालन हुने मेलामा एकै छानामुनि प्राकृतिक रेसा केतुके, अलैंची, केरा, अल्लो र बाँसबाट निर्मित सामान, काष्ठकला, चाँदीका गरगहना तथा चाँदीका वस्तु, धातुका गरगहना, फेल्ट, क्रिष्टलका सामान, हाड र सिंगका सामान, बिड्सका सामान, उनी तथा सुती, ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, सेरामिक तथा माटोका सामान ,सीसाजन्य सामानका साथै वैक तथा वित्तीय संस्था गरी करिब ५० स्टल रहेको आयोजकले जनाएको छ । 
 

Advertisement

Advertisement