प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोप लगाएसँगै शुरु भयो दोस्रो चरणको अभियान

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्यसँगै ‘कोभिशिल्ड’ खोप लगाएका हुन् । उनले खोप लगाएसँगै मुलुकभर दोस्रो चरणको खोप अभियानसमेत शुरु भएको छ । 

उनीसँगै खोप लगाउन अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वाथ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठी र  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट अस्पताल पुगेका थिए । खोप लगाएपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिडविरुद्धको अभियान सफल पार्न सबैमा अनुरोध गरे । उनले खोप सुरक्षित रहेकाले ढुक्क भएर लगाउन सर्वसाधारणलाई आग्रह गरे । प्रधानमन्त्री ओलीले खोप लगाएर आफूलाई कुनै पनि नकारात्मक असर नपरेको पनि जानकारी दिए । गृहमन्त्री रामबहादुर थापाले भने बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाए । 

Advertisement

सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । पहिलो चरणअन्तर्गत १ दशमलव ४ प्रतिशतलाई खोप प्रदान गरिएको छ । यसअघि सरकारले भारत सरकारको अनुदानमा १० लाख मात्रा खोप र खरीद गरिएको १० लाख मात्रा खोप ल्याइसकिएको छ भने १० लाख मात्रा खोप भारतबाट ल्याउने प्रक्रियामा छ । 

सरकारले आजदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका  नागरिकलाई खोप लगाउन थालेको छ । बीस दिनसम्म चल्ने ज्येष्ठ नागरिक खोप अभियानमा १६ हजारलाई खोप प्रदान गरिने जनाइएको छ ।

Advertisement

Advertisement