ऋषि कट्टेलले मुद्दा जिते, ओली र प्रचण्डले दाबी गर्दै आएको नेकपा खारेज (पूर्णपाठसहित)

Advertisement

काठमाडौं । अन्ततः सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता विवादमा ऋषि कट्टेलाई मुद्दा जिताइदिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदनबमोजिम उनले नेतृत्व गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीलाई नै आधिकारिक नेकपाल कम्युनिष्ट पार्टीको मान्यता दिएको छ । यससँगै केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज हुन पुगेको छ । 

Advertisement

अदालतको फैसलाअनुसार ओली, प्रचण्ड र माधव नेपालले नेतृत्व गर्दै आएको नेकपा पूर्व एमाले र माओवादी केन्द्र हुँदाको अवस्थामा पुगेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने आयोगको २३ जेठ २०७५ को निर्णय र त्यसलाई सदर गर्ने कात्तिक २०७५ को निर्णय बदर गर्दै सर्वोच्चले साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने बताएको छ ।

फैसलामा अगाडि भनिएको छ, ‘अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्र कानून बमोजिम आवश्यक निर्णय गर्नू गराउनू भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परामादेश समेत जारी गरिएको छ ।’

ओली र प्रचण्डले नेतृत्व गर्दै आएको नेकपा विभाजित अवस्थामा पुगेको बेला आएको अदालतको फैसलाले राजनीतिको अंकगणितमा निकै फेरबदल हुनसक्ने देखिएको छ । यतिबेला नेकपा प्रचण्ड–माधव समूह प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा छन् । 

Advertisement

Advertisement