प्रधानमन्त्री ओलीको आव्हान– इनर्जी ड्रिङ्क्स, कोक फ्यान्टा नखाउँ

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोक फेन्टा, इनर्जी ड्रिङ्क्स जस्ता खाने कुरा नखान आव्हान गरेका छन् । नेपाल उद्योग परिसंघले सोमबारबाट आयोजना गरेको  ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको शुभारम्भ कायृक्रममा ओलीले यस्तो आव्हान गरेका छन् । 

कोक, फ्याण्टालाई रामदेवले ट्वाइलेट क्लिनर भने पनि आफूले त्यसो चाहीं नभन्ने तर यस्तो वस्तुहरु नखाँदा नै ठिक हुन्छ भन्दै उनले कोक फ्यान्टा चेविङगम जस्ता विदेशी वस्तुहरु नखाई स्वदेशी उत्पादनहरु उपभोग गर्न आग्रह गरे । 

Advertisement

प्रधानमन्त्री ओलीले आफ्नो मुलुकको अर्थतन्त्र विकासका लागि आफ्नै उत्पादन उपभोगमा सबैले ध्यान दिनुपर्ने भन्दै अत्यावश्यक वस्तुहरु आफैंले उत्पादन गर्न सक्ने अवस्थामा अर्थतन्त्रलाई विकास गर्नुपर्ने बताए । देशभक्तिका साथ आफ्नै उत्पादन उपयोग गर्ने वातावरण बनाउनुपर्ने उनको तर्क छ । 

मुलुकभरी औद्योगिक क्षेत्रहरु धमाधम निर्माण भइरहेकाले अब उद्योग कहाँ खोल्ने ? भन्ने चिन्ता छैन भन्दै नयाँ नयाँ उद्योग व्यवसायमा ढुक्कसँग लगानी गर्न जोड दिए । आयातलाई प्रोत्साहन गर्ने नीति सरकारको नरहेको उनले बताए । 

स्वदेशमै धेरैभन्दा धेरै उत्पादन गर्ने, उपभोग गर्ने र बेच्ने काम गर्नुपर्छ भन्दै ओलीले आफू उत्पादन नगरी बाहिरबाट बेसाहेर खाने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए । हामी ३८–४० अर्बको चामल आयात गरेर खान उद्यत छौं भन्दै ओली लामो सिता भएको चामल खान पल्केको कुरालाई व्याङ्ग्य गरे । उनले भने, ‘हाम्रो उत्पादनले खानै नपुग्ने भन्ने होइन् । तर लामो सितावाला चामल खाने बानीले बिगारेको छ ।’

स्वदेशी उत्पादन प्रयोग गरौं अभियानलाई विस्तार गर्न परिसंघलाई सुझाव दिँदै ओलीले त्यसका लागि गर्नुपर्ने सहयोग सरकारले गर्ने बताए । मुलुकभर आठ वटा औद्योगिक क्षेत्र निर्माण भइरहेको उनले बाटो, बत्तिसहितको आवश्यक पूर्वाधारसहितका औद्योगिक क्षेत्र बनिरहेको जानकारी दिए । 

ओलीले भने, ‘तपाईंहरु लगानी गर्नुस । आफ्नो क्षमता अनुसार लगानी गर्नुस, विदेशी लगानी ल्याउन सहजीकरण गर्नुस् । अब उत्पादन र रोजगारी दुबै बढाउनुपर्नेछ । हामी विज्ञापनका भरमा विदेशी समानप्रति आकर्षित भइरहेका छौं । इनर्जी ड्रिङ्क्स र चेविङगम नखाए हुने हो । कोक फ्याण्टा नपिए हुने हो । कतिपय विदेशी समान नलगाए पनि हुने हो ।’

Advertisement

Advertisement