ज्योति लाइफको आईपीओबाट ‘बोरे’हरूमाथि नियन्त्रण सुरु, अर्को हप्ताबाट नयाँ केवाईसी

Advertisement

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओबाट ‘बोरे’ प्रवृत्ति नियन्त्रणको सुरुवात भएको छ । एकै व्यक्तिले धेरै जना व्यक्तिको नाममा अवैधरुपमा सेयर हाल्ने प्रवृत्तिलाई ‘बोरे’ प्रवृत्तिको संज्ञा दिइने गरेको छ । 

शुक्रबार बाँडफाँड गरिएको ज्योति लाइफको आईपीओमा एकै व्यक्तिको नाममा रहेका दुई हजार ९४२ आवेदनहरू रद्द गरेर ‘बोरे’ प्रवृत्तिको सुरुवात गरिएको हो । अर्कोहप्ता इ–केवाईसी सुरु गरिने जानकारी दिँदै सीडीआईएसले त्यसपछि बोरे प्रवृत्ति नियन्त्रणमा आउने दावी गरेको छ । 

Advertisement

सीडीआईएसका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले ई–केवाईसी लागू गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भइसकेकोले अर्को हप्ताबाट यसको कार्यान्वयन हुने बताए । ज्योति लाइफको आइपीओमा रद्द गरिएका झण्डै तीन हजार आवेदनतर्फ औंल्याउँदै आचार्यले आफैले दुरुपयोग गरेका वा अर्कोलाई दुरुपयोग गर्न दिइएका एकै नाममा डिम्याट खाताहरू रद्द गरिएको बताए । उनले बोरेहरूले थाहा नदिईकन पनि आफन्त तथा साथीभाईको नागरिकता लगेर दुरुपयोग गर्दै आईपीओ भर्ने गरेको हुनसक्ने भन्दै उनले अब यस्ता गलत प्रवृत्ति अन्त्य हुने दिन नजिक आएको बताए । 

सेयर बजारमा अझै पनि अनधिकृतरुपमा एकै व्यक्तिले ४०–५० वटासम्म आईपीओ भर्ने गरेको देखिन्छ । यस्तो बोरे प्रवृत्ति नियन्त्रणका लागि आफूहरूले निगरानी गरिरहेको र चाँडै कारवाही गर्ने धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुँगानाले यसअघि बताए पनि अहिलेसम्म कसैलाई कारवाही भएको देखिएको थिएन् । यस पटक ज्योति लाइफको आईपीओ बाँडफाँडमा भने एकै व्यक्तिको नाममा दुई वटा डिम्याट खाता भएकाहरूको आवेदन रद्द गरेर सामान्य कारवाहीको सुरुवात गरिएको छ । 

प्रमुख कार्यकारी अधिकृत आचार्यले एकै परिवारमा कुनै एक व्यक्तिले परिवारका सदस्यहरुको नाममा डिम्याट खाता खोलेर आईपीओ भर्ने कुरा जायज भए पनि अनधिकृतरुपमा दर्जनौको नागरिकता बटुलेर अर्काको नाममा आईपीओ भर्ने कुरालाई आफूहरूले पूर्णरुपमा नियन्त्रण गर्न लागेको बताउँदै कुन बोरे हो ? कुन होइन् ? भनेर छुट्टाउन प्रमाण नहुने भएकाले सेन्ट्रलाइज केवाईसीमार्फत सम्वन्धित् व्यक्तिको उपस्थितिमा दुई–तीन चरणमा भेरिफाई गरेर ब्रिजिङ केवासीको सुरुवात गर्न लागेको जानकारी दिए । 

अर्काको फोटो, नागरिकता प्रयोग गर्ने र उनीहरूको नाममा आफूले हस्ताक्षर गरेर खाता खोल्ने र आईपीओ भर्ने कुरा गैरकानुनी कुरा हो भन्दै उनले आफूहरू सचेतना गराउँदा गराउँदै पनि नियन्त्रण हुन नसकेकाले नयाँ केवाईसी सुरु गर्न लागेको बताए । आचार्यले ज्योति लाइफको आईपीओमा रद्द गरिएका एकै नामका डिम्याट खाताहरूको आवेदन रद्द गरिएको विषयमा कसैले उजुरी गर्न आएमा आधिकरिता व्यक्ति र अनधिकृतरुपमा प्रयोग गर्ने व्यक्ति छुट्टाउन सहज हुने बताए । ज्योति लाइफको आईपीओमा ४४ हजार ६४५ जना आवेदक अयोग्य ठहरिएका छन् । जसमध्ये दुई हजार ९४२ जनाको दोहोरो आवेदन भेटिएको हो । यस कम्पनीको आईपीओमा कुल १८ लाख ४२ हजार ४८० जनाको आवेदन परेको थियो । यो आवेदन अहिलेसम्म कै उच्च हो । 

Advertisement

Advertisement