काठमाडौं महानगर र फोहोर प्रभावितबीच आज पनि कुरा मिलेन, मेयर शाक्य बिचैमा उठेर हिँडे

Advertisement

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्ने विषयमा आन्दोलनरत स्थानीयवासी र काठमाडौं महानगरपालिकाबीच बिहीबार भएको दोस्रो वार्ता पनि असफल भएको छ । 

स्थानीयको अवरोध गरेपछि काठमाडौं उपत्यकाको फोहोर सात दिनदेखि उठ्न नसकेको बेलामा काठमाडौं महानगरपालिकाले आज पनि वार्ताका लागि बोलाएको थियो । वार्तामा नुवाकोट र धादिङका प्रभावितहरूले आफ्नो अडान नछोडेपछि वार्ता असफल भएको हो । वार्ताका क्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सन्चो नभएको भन्दै बीचैमा निस्किएर हिँडेका थिए । 

Advertisement

विगत १६ वर्षदेखि उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइट र नयाँ व्यवस्थापन हुने बन्चरेका बासिन्दाहरूले विभिन्न माग राख्दै फोहोर व्यवस्थापन गर्न अवरोध गर्दै आएका छन् । 

फोहोरमैला प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समितिले प्रभावित क्षेत्रका विद्यालयमा ५१ वटा शिक्षक दरबन्दी थप गर्नुपर्ने, प्रभावित सबै विद्यार्थीका लागि माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्नुपर्ने, रातोमाटेबाट गल्छीसम्मको सडक कालोपत्रे गर्नुपर्ने, १५ शैयाको अस्पताल तत्काल प्रभावित क्षेत्रमा निर्माण गर्नुपर्ने, प्रभावित क्षेत्रको जग्गाको मूल्याङ्कन गरी अधिग्रहण गर्नुपर्ने, बन्चरेमा फोहोर व्यवस्थापन सुरु गर्नुअघि सिस्डोलको सुरक्षित व्यवस्थापन गर्नुपर्ने, फोहोरमैलासम्वन्धी विषय हेर्ने छुट्टै अधिकारसम्पन्न समिति बनाउनुपर्नेलगायतका माग राखेका छन् । 

आजको वार्तामा प्रभावित क्षेत्र धादिङ र नुवाकोटका साँसद, मेयर, उपमेयर, वडाध्यक्ष, राजनीतिक दल तथा संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

Advertisement

Advertisement