नेपालकै पहिलो पाँचतारे डिलक्सको बन्यो होटल ​मेची क्राउन, महामारीपछि थपियो ठूलो होटल

Advertisement

काठमाडौं । कोरोना महामारी (कोभिड) पछि नेपालमा पहिलो पाँचतारे डिलक्स होटल थपिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागका अनुुसार झापाको होटल मेची क्राउनले नेपालकै पहिलो पाँचतारे डिलक्स होटलको अनुमति पाएको हो ।

विभागका होटल शाखा अधिकृत खेमराज जोशीका अनुसार सरकारले होटलको स्तर वर्गीकरणको मापदण्ड परिवर्तन गरेपछि नेपालकै र कोरोनापछिको पहिलो पाँचतारे डिलक्सको रूपमा झापा धुलावारीको मेची क्राउनले पहिलो पाँचतारे डिलक्स होटलको अनुमति पाएको हो । यो होटल कोभिड महमारीपछि थप भएको सबैभन्दा ठूलो र पहिलो पाँचतारे होटल हो ।

Advertisement

विभागका अनुसार कोरोना महामारी अगाडिसम्म नेपालमा काठमाडौं र बाहिर गरेर जम्मा १५ वटा पाँचतारे होटल थिए । अहिले एउटा थप भएर पाँचतारेको सूचीमा पर्ने होटलको संख्या १६ वटा पुगेको छ । कोरोना महामारीको कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । यही क्षेत्रमा आएको लगानीले भोलिको दिनलाई दृष्टिगत गरेर आएको बुझ्न सकिने विभागको बुझाई छ । 
कोरोना महामारीकै बीचबाट सञ्चालनमा आएको यो होटल झापामा छ ।

यो होटलमा १०५ कोठा रहेको छ भने होटल निर्माण चार वर्षदेखि भएको हुँदा सम्पन्न भएपनि सञ्चालन गर्नुपर्ने बाध्यता भएको हुँदा महामारीको बीचमा सुरु गरिएको होटलका एक सञ्चालक बलराम सापकोटाले कर्पोरेटनेपाललाई बताए । उनका अनुसार काठमाडौं बाहिर १०० भन्दा बढीको होटल खोल्न र त्यसमा पनि महामारीपछि पर्यटक आगमन शून्यमा झरेको अवस्थाबाट माथि उठ्न निकै चुनौतिपूर्ण छ ।

पाँचतारे डिलक्स होटल सञ्चालनमा आएपछि कोभिडका कारण पाहुना नआउँदा मुस्किलले ५/७ प्रतिशतको मात्रै अकुपेन्सीमा होटल सञ्चलन गर्नुपरेको पीडा अर्कै छ । तर, पनि सञ्चलन गर्नेपर्ने बाध्यता तथा यसको संरचना तथा आन्तरिक सजावटलाई बिग्रन नदिन पनि होटल सञ्चालन गर्नुपरेको सापकोटाको भनाइ छ ।

‘होटल तयारी भएपनि उसै राख्नुभन्दा सञ्चालन गर्नु नै उचित ठानेर खोलेर मात्रै बसिरहेका छौं ।’ यसको अर्थ हामी पर्यटक भित्र्याउन पूर्वाधार तयार पारेर बसेको छौं भन्ने सन्देश पनि प्रवाह गर्न खोजिएको सापकोटा बताउँछन् ।

होटलमा एउटै भवनभन्दा पनि धेरै प्रकारका भिल्ला भएको उल्लेख छ । पर्यटकलाई फरक र आधुनिक सेवा दिनका लागि सकेकस्म नयाँ प्रविधि र शैली अपनाएर होटल सञ्चालन गर्न थालिएको पनि उल्लेख छ । होटलमा विभिन्न प्रकारका सेमिनार हलको साथै क्यासिनो पनि छ । 
 

Advertisement

Advertisement