डेढ अर्ब नतिरेका पाँच क्यासिनो कहाँ भागे ? एउटैको बक्यौता ८० करोड नाघ्यो

Advertisement

काठमाडौं । सरकारलाई तिर्नुपर्ने वर्षोदेखिको रकम बाँकी राखेर भागेका पाँच क्यासिनो सञ्चालकको बक्यौता रकम डेढ अर्ब नाघेको छ । कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयले अद्यावधिक गरेको १ चैत २०७७ सम्मको तथ्यांक अनुसार नेपालका ६ वटा पूर्व क्यासिनो सञ्चालाई तिर्नुपर्ने रोयल्टी र व्याजसहितको रकम १ अर्ब ५४ करोड ४१ लाख ८१ हजार ९७० रुपैयाँ पुगेको छ ।

सरकारले विभिन्न समयमा क्यासिनो सञ्चालन गर्न अनुमति दिएका यस्ता क्यासिनोले सरकारलाई बुझाउँन बाँकी रोयल्टी नतिरेपछि २०६७ पछि विवाद आउँन थालेको थियो । सरकारले पटकपटक ताकेता गर्दा पनि क्यासिनोले रोयल्टी नतिरेका र २०७० पछि क्यासिनो सञ्चालक नै सम्पर्कमा आएनन् । जसका कारण सरकारी रकम ब्याज र जरीवानका कारण थप हुँदै गएको हो । सरकारले २०७० मा क्यासिनो नियमावली जारी गरेर कडाइ गरेपछि भने पुराना क्यासिनोको विवरण पर्यटन मन्त्रालयले तहसीलको कार्यालयमा पठाएको थियो ।

Advertisement

तहसीलको कार्यालयले भौतिक सम्पती बिक्री गरेर भएपनि सरकारी बक्यौता उठाउने भनेपछि ३३ करोड रुपैयाँ उठाउन बाँकी रहेको क्यासिनो नेपालले तिर्नुपर्ने रकम ८० करोड रुपैयाँ पुग्दापनि अझै उठाउन सकेको छैन् । तहसील कार्यालयको विवरणमा सबैभन्दा बढी रकम उठाउन बाँकी नै भारतीय लगानीकर्ता राकेव वादवले सोल्टी होटलमा सञ्चालन गरेको तत्कालिन क्यासिनो नेपालबाट रहेको छ । यसले सरकारलाई बुझाउनुपर्ने रकम ५३ करोड ५० लाख ३४ हजार रहेको र ब्याज २६ करोड ५६ हजारसमेत गरेर ८० करोड रुपैयाँ बक्यौता पुगेको छ । 

सरकारलाई तिर्नुपर्ने रकम नतिर्ने विभिन्न ६ वटा क्यासिनोमा सबैभन्दा पुरानो र धेरै बक्यौता हुनेमा यही क्यासिनो नेपाल हो । यसबाहेक सोल्टी होटलका दिनेशबहादुर विष्टले पनि ९ करोड १७ लाख तिर्नुपर्ने तथ्यांकमा उल्लेख छ । 

दरबारमार्गको याक एण्ड यती होटलका सञ्चालक राधेश्याम सराफले पनि १७ करोड ७७ लाख रुपैयाँ तिर्न बाँकी राखेका छन् । यो होटलले तत्कालिन गिल्ट इन्भेष्टमेन्टले सञ्चालन गरेको क्यासिनो रोयलको बाँकी बक्यौता भएको र आफ्नो दायित्व नभएको भन्दै पन्छिएको भएपनि सरकारी विवरणमा भने होटलले नै इजाजत लिएका कारण उसैलाई जिम्मेवार बनाइएको छ ।

पोखरामा फूलवारी रिसोर्ट नामक पाँचतारे होटल सञ्चालन गरेका पियुषबहादुर अमात्यको दि फूलबारी लिमिटेडले पनि क्यासिनो सञ्चालन गरेर सरकारलाई रोयल्टी तिर्न बाँकी राखेको छ । यो क्यासिनोले ३६ करोड ९१ लाख तिर्न बाँकी रहेको पनि तथ्यांकमा उल्लेख छ । सोल्टी होटलमा क्यासिनो सञ्चालन गर्दा रोयल्टी नतिरेका कारण पुराना सञ्चालक आरडी टटलको नाममा समेत ११ लाख ९० हजार रुपैयाँ बाँकी रहेको तहसील कार्यालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ । 

पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले भने पुरानो बक्यौता आफू आउनु अगाडिकै भएको र त्यसको जिम्मा तहसील कार्यालयलाई दिइसकेको बताए । उनले भने ‘सम्पती लिलामी गरेर भएपनि सरकारी बक्यौता उठाउने काम तहसीलकै भएकोले अब उसैले अगाडि चाल्ने प्रक्रियाका आधारमा मात्रै बाँकी बक्यौता उठ्न सक्छ ।’ पछिल्लो समय सञ्चालनमा आएका र क्यासिनो नियमावलीपछि सुरु गरेको क्यासिनोको हकमा भने कुनै समस्या नभएको पनि तामाङले बताए ।
 

Advertisement

Advertisement