आइएमई यु–१६ टेनिस प्रतियोगिताको उपाधि  अकि र सर्भानीलाई

Advertisement

काठमाडौं । अकि जुविन राउत र सर्भानी श्रेष्ठले तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिता अन्तरगत यु-१६ तर्फको उपाधि जितेका छन् । 

मण्डीखाटारस्थित टेनिस कोर्टमा आइतबार सम्पन्न यु-१६ ब्वाइज तर्फको फाइनल स्पर्धामा अकिले आरभ सम्राट हाडालाई २-१ सेटमा हराउँदै च्याम्पियन भएका हुन् । पहिलो सेट ६-१ ले आफ्नो पक्षमा पारेका अकिले दोस्रो सेट ३-६ ले गुमाएका थिए । अन्तिम तथा निर्णायक सेटमा अकिले आरभलाई ६-४ को सेटमा स्तब्ध बनाउँदै उपाधि उचालेका हुन् । अकिले आरभलाई पराजित गर्न ३ घण्टा समय खर्चिएका थिए । 

Advertisement

यस्तै गल्र्स यु-१६ तर्फकै स्पर्धामा सर्भानी श्रेष्ठले रैना शाहमाथि २-० को सोझे जित निकालिन । सर्भानीले दुबै सेट ७-५ ले पक्षमा पार्दै उपाधि उचालेकी हुन् । सर्भानीले रैनालाई हराउन साढे ३ घण्टा लागेको थियो । 

दुबै च्याम्प्यिनले जनही २० हजार रुपियाँ हात पारे । विजयी खेलाडीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आइएमई फाउन्डेसनका अध्यक्ष हेमराज ढकाल, सदस्य सचिव अञ्जली अर्याल ढकाल, पूर्व एआइजी राजेन्द्र सिंह भण्डारी, आइएमई ग्रुपका प्रवक्ता राजु पौडेल र टेनिस प्रशिक्षक कृष्णराज घलले लगायतले पुरस्कार वितरण गरे । सोही अवसरमा विभिन्न उमेर स्पर्धाबाट च्याम्पियन भएका खेलाडीलाई मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राणाले निजी क्षेत्रको तर्फबाट आइएमई ग्रुपले टेनिस खेलको विकास र विस्तारमा गरेको योगदानको प्रशंसा गरे । फाउन्डेसनका अध्यक्ष हेमराज ढकालले खेलकुदले बालबालिकाको पढाईमा पनि सहयोग पुग्ने बताउँदै प्रतियोगितामा भाग लिने खेलाडीहरु सबै च्याम्पियन हुने बताए । पूर्वएआईजी भण्डारीले आइएमई जस्तो संस्थाले बालबालिकाहरूलाई टेनिस खेलमा अभ्यस्त बनाउन गर्दै आएको योगदानको प्रशंसा गरे । 

आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्गत सञ्चालन गरिएको प्रतियोगितामा देशै भरका कुल १ सय ५ खेलाडीले सहभागिता जनाएका थिए । गल्र्स तर्फ ४५ र ब्वाईज तर्फ ६० खेलाडीले विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था हो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएको छ । 
 

Advertisement

Advertisement