प्रसुती शल्यक्रिया गर्दा चिकित्सकले शरीरभित्र कपडा छाडेपछि पीडितको ज्यान जोखिममा

Advertisement

काठमाडौं । शल्यक्रियामार्फत प्रसुति गराउँदा अस्पतालका चिकित्सकको लापरबाहीका कारण सोलुखुम्बु सल्लेरी निवासी ३० वर्षीया डोमा घताने विश्वकर्माको ज्यान नै जोखिममा परेको छ । 

सोमबार पत्रकार सम्मेलन गर्दै पीडितका परिवार र सामाजिक अभियन्ताहरूले सोलुस्थित फाप्लु अस्पतालका डाक्टर दिलिप साहको टिमले डोमाको ज्यान जोखिममा पारेको भन्दै कारवाहीको गर्न माग गरेका हुन् ।

Advertisement

कार्यक्रममा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले गम्भीर त्रुटी गर्ने चिकित्सक दोषी भएको जिकिर गर्दै कडा कारबाहीको माग गरे । उनले क्षमताभन्दा बाहिरका मानिसलाई डाक्टर बनाएको समेत आरोप लगाए । उनले भने, ‘जबसम्म विधिको शासन हुँदैन तबसम्म यस्तो समस्या भईरहन्छ । यो व्यवस्थामा कुनै नागरिकले पनि न्याय पाउदैनन् ।’ 

शाहीले देशमा पार्टीका कार्यकर्ता मात्र न्यायाधीस भएको बताए । कुनै पनि न्यायाधीस आफ्नो क्षमताले न्यायाधीस नबनेको भन्दै शाहीले व्यवस्था परिर्वतन गरे मात्रै डोमाको जस्तो समस्या दिर्घकालिन रुपमा समस्या समाधान हुने बताए ।

सामाजिक अभियन्ता हेमराज थापाले डोमा घतानेको सोलुखुम्बुमा बच्चा जन्माउने क्रममा डाक्टरहरूले शल्यक्रिया गर्दा कपडा भित्र छाडेको आरोप लगाए । उनले काठमाडौंमा रिफर गरेपछि बौद्वस्थित स्तुपा कम्युनिटि अस्पतालका डा.आशिषराज भण्डारीले एउटै व्यक्तिलाई चार–चार पटक भिडियो एक्सरे गर्न लगाएको बताए । 

थापाले भने, ‘आज उनको जीवन मर्नु न बाच्नु भएको छ । ६५ किलो तौलकी डोमा ३० किलोमा झरेकी छिन् ।’ डा. भण्डारीलाई मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयले कारबाही गर्नुपर्ने थापाको माग थियो ।

उनले नेपालका जनतामाथि नक्कली डाक्टर बनेर कसरी झुक्याउछन् भन्ने बारेमा अध्ययन गर्ने पनि जानकारी दिए । घटनामा सम्बन्धित डाक्टरहरूको लाइसेन्स खारेज गर्नुपर्ने माग गरे । 

सामाजिक अभियन्ता ज्वाला संग्रौलाले डोमालाई मर्नु न बाच्नु अवस्थामा पुर्याउने डाक्टरलाई कारवाही गर्न माग गरिन् । उनले भनिन्, ‘एक आमाले बच्चा जन्माउदा भोग्ने पीडा अरु कसैलाई बुझ्न सक्दैन् । बच्चाले जन्मदा बित्तिकै आमाको अनुहार देख्न पाउने होकी होइन भन्ने सन्त्रास फैलिएको छ ।’

संग्रौलाले एकजना डाक्टरको लापरवाहीले एउटी आमाको जीवन मृत्युको मुखमा पुगेको भन्दै आफ्नो आमाको रुपमा एकपटक सोच्न आग्रह गरिन् । शहरमा विदेशमा पढेका डाक्टर राख्ने र सरकारले दुरदराजमा नक्कली डाक्टर पठाएको आरोप लगाइन् ।

Advertisement

Advertisement