सेयर बजारमा १० कित्ते प्रावधान हटाउने होइन, बरु ५ कित्ते प्रावधान लागू गर्नुपर्छः पन्थी

Advertisement

काठमाडौं । केही समययता सेयर बजारमा नयाँ लगानीकर्ताको आकर्षण बढ्दो छ । लगानीकर्ताको संख्या बढेसँगै बजारमा लगानीका जोखिमहरू पनि बढेको छ । सेयर बजारमा प्रवेश गरेका नयाँ लगानीकर्तालाई दोस्रो बजारमा कसरी कारोबार गराउन प्रेरित गर्ने ? भन्ने विषय पनि रहेको छ । यस्तै कुरामा केन्द्रीत रहेर बिगत सात बर्षदेखि सेयर बजार क्षेत्रमा लाग्दै आएका युवा लगानीकर्ता कमल पन्थीसँग कर्पोरेट नेपालले गरेको कुराकानीको सारः

तपाईंको अरु नै क्षेत्रमा लागेर केही गर्ने उमेर छ । किन सेयर बजार नै रोज्नुभयो ? 
सेयर बजार भनेको यस्तो क्षेत्र हो जहाँ अन्य क्षेत्रमा रहेर पनि लगानी गरेर आम्दानी गर्न सकिन्छ । यस क्षेत्रमा लागेर पूरै समय दिनुपर्दैन् । दुई–तीन घण्टामा अनलाईन माध्यमबाट काम गर्न सकिन्छ । म यो क्षेत्रमा २०६९ सालदेखि आवद्ध छु । म सेयर बजारमा पहिले आईपीओ भरेर नै प्रवेश गरेको हो । पछि बिस्तारै दोस्रो बजारमा प्रवेश गरेको हुँ । 

Advertisement

दोस्रो बजारमा कारोबार गर्दा एकदमै जोखिम हुने चान्स रहन्थ्यो । मैरो पढाई पनि म्यानेजमेन्ट भएको कारण यस क्षेत्रमा आउन केही सहज भयो । मलाई यस क्षेत्रमा ल्याउन कुनै एउटा व्यक्ति वा अग्रजको हात पक्कै पनि छ । म बजारमा कसैको साथमा नै प्रवेश गरेको हुँ । आजसम्म म निरन्तर बजारमा छु । मैले सेयर बजारसँगै अन्य क्षेत्रमा पनि काम गरिरहेको छु । 

यस क्षेत्रमा आगामी दिनमा कसरी अगाडि बढ्ने योजना बनाउनु भएको छ ?
मैले करियर बैंकिङ क्षेत्रबाट सुरु गरेको हो । केही समय अगाडि एमबीए पनि पूरा गरें । आगामी दिनमा पनि सेयर बजारमा निरन्तर नै हुनेछु र योसँगै अन्य क्षेत्रमा पनि काम गरिएला । आगामी दिनमा सेयर बजारबाहेक अन्य क्षेत्रमा पनि काम गर्ने योजना छ । 

नेपालको सेयर बजारलाई तपाईंले कस्तो रुपमा बुझ्नु भएको छ ?
२०७२–७३ तिर सेयर बजार ‘बियरिस जर्नि’मा थियो । बजार निरन्तर घटेर एक हजार ९९ सम्म आएको थियो । त्यसपछि बजारमा ‘बियरिस’ आएको भनेको कोरोना भाइरसको संक्रमण सुरुवात भएको समयमा हो । अहिले लगानीकर्ताले अन्य क्षेत्रमा लगानी गर्ने बाताबरण नभएका पनि यस क्षेत्रमा लगानी बढाएका हुन् । 

अहिलेको बजारलाई धेरै कुराले सहयोग गरेको देखिन्छ । देशमा सबै कुरा सकारात्मक नै छ । यसकारण पनि बजार सकारात्मक नै हुन्छ भन्ने मेरो सोचाई छ । अहिले बैंकहरुको ब्याजदर पनि सस्तो छ । बचतमा राख्नुभन्दा सेयर बजारमा लगानी गर्दा लगानीकर्ताले राम्रो प्रतिफल पाउँछन् । यसकारण पनि सेयर बजारमा लगानीको भविश्य मैले उज्जल देखेको छु । 

सेयर बजारबाट नयाँ लगानीकर्ताले कसरी फाइदा लिन सक्छन् ?
अहिलेको लगानीकर्ताको अवस्था हेर्ने हो भने ३३ लाख माथि डिम्याट प्रयोगकर्ता छन् । दैनिक अनलाईनबाट नै कारोबार गर्नेको संख्या पनि बढिरहेको देखिन्छ । अहिले र एक वर्ष अगाडिको डाटा हेर्ने हो भने दोब्बर नयाँ लगानीकर्ताको प्रवेश भएको छ । 

कुनै पनि नयाँ लगानीकर्ता बजारमा प्रवेश गर्दा लगानीकर्ताले आईपीओबाटै लगानीको सुरुवात गर्दा राम्रो देखिन्छ । त्यसपछि लगानीकर्ताले बजाको बारेमा, आफूले लगानी गर्न लागेको कम्पनीको बारेमा राम्रोसँग अध्ययन गर्न आवश्यक छ । आफूभन्दा अग्रजको पनि सुझाव लिँदा जोखिम कम हुन्छ । 

तपाईंले सेयर बजारमा आएर गरेको पहिलो गल्ती के हो जुन गल्तीले तपाईंलाई बजारको ज्ञान दियो ?
सेयर बजारमा हरेक लगानीकर्ताले अन्जानमा केही न केही गल्ती गरेका हुन्छन् । मैले बजारमा आएर गरेको गल्ती भनेको भर्खर बजारमा प्रवेश गर्दा हाम्रै स्थानीय क्षेत्रको रिडि हाइट्रोपावर कम्पनीको सेयर किन्दा हो । दोस्रो बजारमा यसको सेयर सात सय रुपियाँमा खरिद गरें । त्यतिबेला कम्पनीको अवस्था मेले बुझिन । पछि कम्पनीको सेयर तीन–चार वर्ष होल्ड गर्दा पनि मुनाफा आएन् । उल्टो सात सय रुपियाँमा किनेको सेयर तीन सय रुपियाँमा बेच्नुपर्यो । यसले मलाई घाटा त पक्कै धेरै नै भयो । तर, के सिकें भने कुनै पनि कम्पनीको सेयर खरिद गर्दा कम्पनीसँग भावानात्मक नातामा बहकिन हुँदो रहेनछ । 

तपाईंको नजरमा अहिलेको अवस्थामा सेयर बजारमा नियमक निकायले सुधार गर्नुपर्ने कुरा के के छन् ? 
मलाई लाग्छ अहिले बजारमा नीतिगत समस्याहरु धेरै छन् । बैंकले ब्रोकर लाइसेन्स पाउनुपर्ने । त्यो पाइरहेको छैन् । अर्को समस्या भन्ने हो भने नेप्से (नेपाल स्टक एक्सचेन्ज लिमिटेड)को अनलाईन सिस्टम टीएमएस प्रणालीमा जहिले समस्या आइरहेको हुन्छ । सीडीएसको मेरो सेयरमा पनि उस्तै समस्या छ । यस्तो समस्याको समाधान नै अहिलेको मुख्य खाँचो हो । 

यस्तै, बजारमा अहिले ‘इन्साइडर ट्रेडिङ’का कुरा पनि छ । विशाल बजार कम्पनी कै कुरा गर्दा यस कम्पनीले अहिलेसम्म आफ्नो वित्तीय विवरण नै ल्याएको छैन् । यस्ता कम्पनीलाई सामान्य स्पष्टिकरण सोधेर छाडिएको छ । कारबाही छैन् । यस्तो कुरामा नियमक निकायले ध्यान दिनुपर्ने हो । अहिले बजारमा १० कित्ता आईपीओ भर्न नपाउने कुरा पनि सुनिन आएको छ । यो सरासर गलत हो । यो व्यवस्था हटाउन हुन्न भन्ने मेरो धारणा छ । साना लगानीकर्तालाई थोरै लगानी गरेर केही कमाउ भन्ने हुन्छ । अर्कोतिर विद्यार्थीहरु पनि हुन्छन् सेयर बजारमा लगानी गर्ने । यसका कारण आईपीओको १० कित्ते प्रवधान हटाउनु सरासर गलत हो । यो व्यवस्था हटाउनु भन्दा पाँच कित्तामा झारे सर्वसाधारणको पहुँचमा सेयर बजार पुग्ने देखिन्छ । 

सेयर बजार पहुँचवालाको हातमा मात्र छ । सोझा लगानीकर्ता जहिले त्यस्ता लगानीकर्ताको चेपाईमा हुन्छन् भन्नेछ । यो कुरा कतिको जायज हो ? 
आज भन्दा पाँच–सात वर्ष अगाडि त्यस्तो अवस्था थियो । तर, अहिले यस्तो अवस्था छैन् । केही सीमित कम्पनीको सेयरमा होला । त्यसलाई लिएर सेयर बजार ठूला लगानीकर्ताको पहुँचमा छ भन्न मिल्दैन ।  

Advertisement

Advertisement