बुधबार स्वास्थ्य बीमा सदस्यता दर्ताको शुभारम्भ, एमएमएस सेवा पनि सुरु हुने

Advertisement

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमाको गुणस्तरमा ध्यान दिने प्रतिवद्धता जनाएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर बोर्डले बीमाको गुणस्तर बढाउने बताएको हो । 

हालसम्म आफ्नो पहुँच विस्तारलाई प्राथमिकता दिँदै आएको बोर्डले अब गुणस्तर सुधारमा ध्यान दिने बताएको छ । बोर्डका सदस्य सचिव एवं कार्यकारी निर्देशक डा. दामोदर बसौलाले भने, ‘हामीले छोटो समयमा नै भौगोलिक पहुँच विस्तार गरेका छौं, अब हाम्रो ध्यान बीमाको गुणस्तरतर्फ जानेछ ।’

Advertisement

कुनै पनि नेपाली नागरिकले आर्थिक अभावका कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्य आफूहरूको रहेको भन्दै सरकारले समेत सोही अवधारणाअनुरुप स्वास्थ्य बीमा कार्यक्रम ल्याएकाले सबै नेपाली यसबाट लाभान्वित हुनुपर्ने बताए ।

भोलि चैत्र २५ गते स्वास्थ्य बीमा दिवस मनाउने तयारी गरिएको सन्दर्भमा बोर्डले आज पत्रकार सम्मेलन गरेको हो । बोर्डले यस पटक पाचौं स्वास्थ्य बीमा दिवस मनाउन लागेको हो । यसै अवसरमा काठमाडौं र ललितपुरबाहेकका जिल्लामा स्वास्थ्य बीमा सदस्यता दर्ताको शुभारम्भ एकसाथ गर्न लागिएको जानकारी दिइएको छ । 

स्वास्थ्य बीमा दिवसकै अवसरमा बीमितलाई नागरिक एपमा स्वास्थ्य बीमा कार्यक्रमको आवद्धता र मोवाइल एसएमएस सेवाको पनि घोषणा हुनेछ । यसको शुभारम्भ स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले गर्नेछन् । 

बोर्डले जिल्लास्थित आफ्ना कार्यालयहरूमा दीपावली, अन्तक्रिया तथा प्रभातफेरीलगायतका गतिविधि गरी बीमा दिवस मनाउने बसौलाले बताए । बोर्डले ‘स्वस्थ विश्वको लागि समतामूलक स्वस्थ्य सेवा’ भन्ने नारा पनि ल्याएको छ । 

हालसम्म बोर्डले ३७ लाख ४२ हजार ६५६ नागरिकको स्वास्थ्य बीमा गराईसकेको छ । कूल बीमित परिवार भने ११ लाख २६ हजार ८१ जना रहेका छन् । हालसम्म ६७३ स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम बिस्तार भएको छ ।   
 

Advertisement

Advertisement