प्रधानमन्त्रीलाई उद्घाटन र शिलान्यासमा हतारो, बजेट बिनानै १२ वटा नयाँ सहर शिलान्यासको तयारी

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २१ चैत (शनिवार) बालुवाटारबाटै १६५ वटा निर्वाचन क्षेत्र हरेकमा एकएक वटा पर्ने गरी रणनीतिक सडक पूर्वाधारहरूको एकैपटक शुभारम्भ (शिलान्यास)  गरेका थिए । पूरा नभएका आयोजना उद्घाटन गर्ने र बजेट सुनिश्चितता नै नभएको आयोजना वालुवाटारबाटै शिलान्यास गरेर सस्तो लोकप्रियताको लागि काम गर्न थालेको ओलीले फेरि अर्को पूर्वाधार आयोजनाको शिलान्यास गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले हालसम्म बजेटको सुनिश्चिता नै नभएको, आयोजना कहिले सुरु भएर कहिले सकिने टुंगो नभएको र निर्माण मोडालिटीसमेत तय भइनसकेका सहितका अयोजना उद्घाटन र शिलान्यास गर्ने भएका छन् । ओलीले १२ वटा नयाँ सहर र दुई वटा जग्गा एकीकरणबाट बनेको सहर गरी एकैपटक १४ वटा सहरको शिलान्यास तथा उद्घाटन गर्ने गरी तयारी भएको सहरी विकास मन्त्रालयको भनाइ छ

Advertisement

सहरी विकास मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार ओलीले १२ वटा स्मार्ट सिटीसहितको नयाँ सहर र दुई वटा जग्गा एकीकरणबाट बनेको सहर उद्घाटन गर्ने तयारी धामधम भइरहेको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरणले १६ वर्ष अगाडि निर्माण सुरु गरेर भर्खर सकेको दिव्येश्वरी र रानीवन जग्गा एकीकरण आयोजना उद्घाटन गर्न प्रधानमन्त्रीसमय समय माग गरिसकेको छ । सम्भवत यही साता यी दुई सहरसहितको थप १२ सहरको शिलान्यस हुने प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले जानकारी दिए ।

मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार सातै प्रदेशमा पर्ने गरी आयोजना छनोट भएर बसेका छन् । आगामी आर्थिक वर्षको लागि बजेट माग गर्ने गरी तयारी भएका यस्ता आयोजना स्रोत सुनिश्चितता बिना नै शिलान्यासको तयारी भइरहेको छ ।

यस्ता छन्, बजेट बिनानै शिलान्यास तयारी भएका नयाँ सहर
बजेट बिनानै शिलान्यास तयारी भएका नयाँ सहर सहरमा प्रदेश १ को धनकुटा र गौरीगन्ज, प्रदेश २ को मौलापुर र चन्द्रपुर, वागमती प्रदेशको काभ्रे भ्याली र गुन्डु–भक्तपुर सहरको शिलान्यास गर्ने तयारी भएको छ । यस्तै गण्डकी प्रदेशको वालिङ, लुम्बिनीको लुम्बिनी र तुलसीपुर, कर्णालीको दुल्लु तथा सुदुरपश्चिमको भिमदत्त र अमरगढी नामका नयाँ सहर शिलान्यास हुने भएका छन् ।

सहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेश वाग्लेका अनुसार यी सहर स्रोत सुनिश्चितताको लागि अर्थ मन्त्रालयमा पठाइएको छ । यी नै सहर शिलान्यासको तयारी भएको विषयमा भने आफूलाई जानकारी नभएको उनले बताए । सहरी विकास मन्त्रालयले नयाँ सहरलाई राष्ट्रिय योजना आयोगमार्फत गेम चेन्जर आयोजनामासमेत राखेर पठाएको छ । यी आयोजना नै यो वर्षको बजेटमा प्राथमिकता पाउने भएकोले अगाडि बढाउन लागिएको दाबी मन्त्रालको छ ।

यस्ता नयाँ सहरमा काठमाडौं उपत्यका विकास प्राधिकरणले स्याटेलाइट सिटी बनाउने भनेर तय गरेको १० हजार रोपनीको भक्तपुरको गुन्डु सहरलाई पनि राखिएको छ । यो सहरको भर्खर डीपीआर सकिएको छ । सहर बनाउने ३० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको भएपनि अहिलेसम्म स्रोत सुनिश्चिताता नै नभएको अवस्थामा प्रधानमन्त्रीबाट उद्घाटन तयारी भइरहेको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार १६ वर्षपछि निर्माण पूरा भएको भक्तपुरको दिव्येश्वरी र इचंगुनाराणको रानीवन जग्गा एकीकरण आयोजनाको उद्घाटन गर्ने तयारी पनि भइरहेको हो । प्रधानमन्त्रीले यसको उद्घाटन गर्ने भनेपछि सहरी विकास मन्त्रालय र उपत्यका विकास प्राधिकरण आयोजनाको सूची तयार गर्ने देखि आयोजनाको विवरण तयार गर्न थालेका छन् । 

पोखरा र भैरहवाको विमानस्थल पनि उद्घाटन गरिने
प्रधानमन्त्री ओलीले पोखरामा निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी भएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले यी दुई विमानस्थल उद्घाटनको लागि आवश्यक तयारी भइरहेको जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार बारामा निर्माण गर्ने भनिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पनि शिलान्यास गर्ने तयारी गर्न प्राधिकरणलाई निर्देशन आएको प्राधिकरण स्रोतले उल्लेख गरेको छ । 
प्राधिकरणका अनुसार भौतिक पूर्वाधार निर्माणको काम निरन्तर चलिरहने र तत्कालै पूरा नहुने भएकाले एउटा विंङ्स तयार गरेर उद्घाटन हुन्छ । बाँकी कामलाई निरन्तरता दिइने भएको छ ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि बर्षोदेखि सञ्चालनमा रहेको छ तर यसको अझै निर्माण पूर्ण भएको छैन् । त्यसैले अरु पनि निर्माण हुने र सञ्चलन प्रक्रिया चलिरहने भन्दै अहिले उद्घाटन तयारी भएको उल्लेख छ । निर्माण प्रक्रिया चलिरहने र एउटा कुनै पाटोबाट काम भइरहेको देखाएर उद्घाटन तयारी भने भएको प्राधिकरणले जनकारी दिएको छ ।

Advertisement

Advertisement