२०४७ को संविधान नब्युँताए देशले निकास नपाउने दाबी, २०७२ संविधान खारेज गर्न माग

Advertisement

काठमाडौं । राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै वैशाख ११ गते माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै २०४७ सालको संविधान पुनःस्थापना महाअभियानका अभियन्ताहरूले प्रदर्शन गर्ने घोषणा गरे । 

अभियन्ताहरूले २०७२ सालको संविधान खारेज गर्न र २०४७ को संविधानलाई पुनःस्थापना गर्न माग समेत गरे । अभियानका प्रमुख संयोजक किशोरी महतोले अहिलेसम्म सात वटा संविधान बनिसकेको भन्दै अब आठौं संविधानको परिकल्पना गर्न नहुने बताए । उनले २०४७ को संविधान कुनै संशोधन नगरी सोही संविधान पुनः स्थापना गर्नुपर्ने बताए । 

Advertisement

स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले राजा, राजनीतिक दल र जनताले बनाएको २०४७ को संविधानलाई नै फर्काउनु पर्नेमा जोड दिए । उनले भने, ‘देशको हितको लागि ४७ सालको संविधानमा फर्कनुको विकल्प छैन् ।’ 

संविधान पुनः स्थापना महाअभियान २०४७ का संयोजक बिक्रमबहादुर बमले २०७२ सालको संविधानले काम नगरेको तर्क गरे । उनले २०४७ को संविधानमा प्रजातान्त्रिक भएको जिकिर गरे । 

अभियानका अर्का संयोजक शोभाराम थापाले २०४७ सालको संविधानमा नफर्किए देशले निकास नपाउने बताए । उनले भने, ‘पूरानो संविधान नै जनताको हितमा छ ।’ उनले संविधान पुनःस्थापना गर्नुपर्नेमा जोड दिए । 

संविधान पुनस्थापना महाअभियान २०४७ का महासचिव चक्रदेव जोशीले २०४७ सालको संविधान परिर्वतन गरेर २०७२ सालको संविधान जारी गर्नु नै नेताहरुबाट गल्ती भएको तर्क गरे । 

Advertisement

Advertisement