स्वास्थ्य बीमा अब नागरिक एपमा पनि, थप छ जिल्लामा सेवा विस्तार

Advertisement

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले प्रदान गर्दै आएको स्वास्थ्य बीमा सेवा अब सरकारको नागरिक एपमा पनि समावेश भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले उसको शुभारभ्भ गरेका हुन् । 

त्यस्तै, यो सेवा थप छ जिल्लामा पनि विस्तार गरिएको छ । पाँचौ स्वास्थ्य बीमा दिवसको अवसर पारेर सेवालाई नागरिक एपमा समावेश गर्ने, सेवा थप जिल्लामा विस्तार गर्ने काम गरिएको हो । थप जिल्लामा ताप्लेजुङ, बारा, सर्लाही, दोलखा, मनाङ र मुस्ताङ छन् । अब ७५ जिल्लामा स्वास्थ्य बीमा लागू भएको छ । अब यो कार्यक्रम लागू हुन काठमाडौं र ललितपुरमा बाँकी छ । 

Advertisement

कार्यक्रममा मन्त्री त्रिपाठीले स्वास्थ्य बीमालाई सरकारले महत्व दिएको बताउँदै स्वास्थ्य बीमा गरेका बीमितहरूको रकम भुक्तानीलाई बोझको रुपमा नहेर्न कर्मचारीहरूलाई निर्देशन दिए । 

स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न पनि उनले कर्मचारीहरूलाई आग्रह गरे । त्रिपाठीले स्वास्थ्य बीमा सेवा दिने संस्थालाई सुदृढ बनाउन पनि सुझाव दिए । 

सरकारले २०७२ चैत्र २५ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो । पहिलो कार्यक्रम कैलालीबाट सुरु गरिएको थियो । पाँच जनाको परिवारले तीन हजार पाँच रुपियाँ बीमा शुल्क बुझाए परिवारका प्रत्येक सदस्यको एक लाख रुपियाँसम्मको औषधि र उपचार खर्च बोर्डले व्यहोर्छ । 

हालसम्म यस कार्यक्रममा करिब ३७ लाख ४२ हजार छ सय बीमा कार्यक्रममा सहभागी भइसकेका छन् ।

Advertisement

Advertisement