ओलीलाई हटाएर नयाँ सरकार बनाउन देउवाले आज माओवादी र जसपासँग निर्णायक वार्ता गर्ने

Advertisement

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाएर आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सँग निर्णायक वार्ताका लागि बोलाएर छ ।

पार्टीभित्रको आन्तरिक दबाबपछि काँग्रेस सभापति शेरबहादुर देउवाले अपरान्ह ३ बजेका लागि तीन दलको बैठक बोलाएका हुन् । देउवा आफै प्रधानमन्त्री केपी ओलीसँग भित्री साँठगाँठमा रहेको देखिँदै आएको बेला रामचन्द्र पौडेलको दबाबपछि तीन दलसँग निर्णायक बैठक बनाउन तयार भएका हुन् । 

Advertisement

पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले शुक्रबार ३ बजे कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक बोलाएका छन् । देउवा आफै ओलीकै नेतृत्वमा मध्यावधि चुनाव होस भन्ने पक्षमा देखिएका छन् । जसपामा पनि ओली नेतृत्वको सरकारसँग सहकार्य गर्ने कि नयाँ सरकार बनाउन समर्थन गर्ने ? भन्ने कुरामा दुई धार देखिन्छ । माओवादी केन्द्र भने काँग्रेसको नेतृत्वमा सरकार बनाउन सकारात्मक देखिन्छ । 

नयाँ सरकारको समिकरण मिलाउन कठिन भइरहेको बेला देउवाले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनबारे दुवै दलको आधिकारिक धारणा माग्न लागेका हुन् । जसपाको एउटा धार ओलीसँग नजिकिएपछि नयाँ सरकार गठन जटिल बन्न पुगेको हो । जसपाले टीकापुर घट्नाको मुख्य योजनाकारको रुपमा दोषी प्रमाणित भई जेल सजाय भोगिरहेका रेशम चौधरीलाई रिहाई गर्नुपर्ने कुरालाई मुख्य एजेण्डा बनाएको छ । आजको छलफलबाट ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेनगर्ने र नयाँ सरकार बन्नेनबन्ने टुँगो लाग्ने बताइएको छ । 

Advertisement

Advertisement