पहिलो पटक जहाज चढ्दाको अनुभव

Advertisement

काठमाडौ । जीवनमा मानिसले चढ्नुपर्ने थुप्रै चिजहरू होलान् । त्यस्ता चिजको लिस्ट बनाउने हो भने ठूलै चाङ् लाग्न सक्छ । मानिसहरूले नयाँ, नौला चिज पत्ता लगाउने, आविस्कार गर्ने कुराहरूमा दैनिक फड्को मारेको हामीले सुन्दै र देख्दै आएका छौं । 

तर पनि मानिसको स्वभाव सधै जिज्ञासु नै हुन्छ । यही कारणले मानव जातिले सिंगो विश्वलाई खोज र अनुसन्धान गर्दै आजको विश्वसम्म ल्याई पुर्याएको छ । मानिसको स्वभाव त्यही जिज्ञासु हुने भएकाले नै कुनै पनि काम गर्न मन लाग्ने र पहिलो–पटकमा निकै कौतुहलता जाग्ने गरेको हुनसक्छ । 

Advertisement

यस्तै, विभिन्न बेलामा अनेकौ किसिमका जिज्ञासा मेरो पनि साथी भएका छन् । आज मैले पहिलो पटक आफैले हजाई जहाजमा यात्रा गर्दाको अनुभव साटन् जाँदैछु । 

हुन त हवाई जहाजको यात्रा मेरो आफ्नै परिवारमा नयाँ विषय होइन । तर मानिसलाई कुनै पनि नयाँ काम गर्दा उ भित्रको कौतुहलताले जिज्ञासाका सिँढी चढेका र झरेका सन्दर्भ भने सधैं रोचक हुने गर्छन् ।

गत वर्ष त्रिशुलीमा याफ्टिङ गर्दा जोखिमका बिच अद्भुत आनन्द पाएको थिएँ । तर अहिले हवाई यात्राको अनुभव साट्न संयोग मिलेको छ । 

यती एयरलायन्समार्फत काठमाडौं टू सिमरा
आकाशमा उँडेका हवाई जहाजमा कस्को पो आँखा नपुग्ला र ? त्यस्तै मेरो पनि आकाशमा उडेका हवाई जहाजमा सानैदेखि आँखा पुगिसकेको थिए । बाल्यकालमा साथीहरूसँग हवाई जहाजको आवाज आउने बित्तिकै कस्ले पहिले देख्ने ? भनेर जहाज पत्ता लगाउने खेल खेल्ने गर्थौं । कतिपय अवस्थामा आँखाले भ्याउन्जेल आकाशमा उडेको जहाजको अवलोकन गर्ने गर्थौं । हवाई जहाजमा धेरै पटक आँखा त पुगेको थयो । तर पाइला भने पर्न बाँकी नै थियो ।

विस्तारै समय यस्तो आयो, हवाई जहाज चढेको छैन भन्दा कतिपयले पत्याउनै मुस्किल मान्नथाले । विदेश जाने धेरै साथीभाईको अनुभवहरूमध्ये हवाई जहाजको यात्रा पनि एक हुने गर्छ । कुनै पनि काम पहिलो पटक गर्दा सबैलाई निकै कौतुहलता जाग्ने गर्छ । त्यसमा पनि जमिनबाट केही समयका लागि टाढा रहेर बादलपारी गाउँको यात्रा गर्नु एउटा सम्झनलायक क्षण पनि त हो ।

आफ्नो काम परेपछि र बाध्यता आइलागेपछि धेरै कुरा गर्छन् मानिसहरू । तर त्यही काम नपरी मनिसहरू अनेकौ कुरा गर्न बाँकी नै राख्छन् । त्यही बाँकी राख्नेमध्ये कै एक थिए म ।

राजधानीबाट ४–५ घण्टामै गाडि तथा अन्य सवारी साधनमा मेरो जन्म घर रौतहट पुग्न सकिने भएकाले होला, हवाईमार्ग मेरो खास प्राथमिकतामा थिएन् । वा भनौ मलाई हवाईमार्गको यात्रा जुरेको थिएन् ।

एयरपोर्ट गेटबाटै चेक–अप
गएको दशैंको सप्तमीको दिनमा बिहान ९ बजेको फ्लाइटमा मैले घर जाने निर्णय गरे । उक्त दिन बिहान एयरपोर्टको गेटबाट चेकजाँच सुरु भयो । मुख्यतयाः कोरोना जाँचलाई नै अहिले एयरपोर्टले प्राथमिकता दिइरहेको छ । अन्य बैंक, वित्तीय संस्थामा जस्तै एयरपोर्टमा समेत ज्वरो जाँचेर स्यानिटाइजर लगाएर भित्र छिराउने काम भइरहेको थियो । 
सबैको सामानहरू चेकजाँच भयो । मलाई चेकजाँचसँग खास मतलब थिएन् । किनकी मलाई त चाँडै जमिनमाथि उँड्नु थियो ।

एयरपोर्टको चेकजाँचको प्रक्रिया सक्किएपछि बोडिङ पासका लागि सम्वन्धित् एयरलाइन्सको काउन्टरतर्फ लागें । 

एक अपरिचित व्यक्ति  
मैले अनलाइनबाट हवाई टिकट खरीद गरेको थिएँ । बोडिङ पासका लागि टिकट नम्बर र आफ्नो परिचयपत्र बोकेर लाइनमा लामबद्ध भइरहेको बेला एक अपरिचित व्यक्तिले पछाडिबाट सोधे, ‘कहाँ जाने हो ?’ म त एकछिन अलमलमा परें । उनले किन त्यसरी सोधे, जिज्ञासा पलायो । सिमरा यात्रामा एक जना भान्जी ( दिदीको छोरी) समेत मेरो साथमा थिइन् । 
ती व्यक्तिको भान्जीसँग समेत खास चिनजान रहेनछ । एकै छिनमा ती अपरिचित मेरो नजिक आएर भने, ‘मेरो समानमा तपाईंको ट्याग लगाइदिनु न है ।’ 

म त तीन छक्क परे । उनी को हुन् ? किन मलाई त्यसरी फलो गरे ? म अलमलमा परें । तर कुनै पनि अवैध सामान वा दुई नम्बरी धन्दामा सम्लग्न व्यक्ति पनि त हुन सक्छन् नि ! भन्ने सोचेर मैले उनलाई भने, ‘अब छिट्टै तपाईंको पालो आउँदैछ ।’ 

उनले केही रिसाएझैं गरी हेरे र मसँग केही नबोली बसे । मैले टिकट हात पार्न अगाडि सरें । एयरपोर्टको कर्मचारीले कोरोना भएको छ छैन ? भन्ने सम्वन्धी विवरण भरेको फारम मागेपछि मैले दिएँ । मलाई बोडिङ पास प्राप्त भयो । त्यसपछि दोस्रो चेकजाँच गरी वेटिङ रुममा जान भनियो ।

वेटिङमा रहँदा
वेटिङ रुम, जहाँ सयौं यात्रु जहाजको पखाईमा थिए, म पनि त्यही भीडमा सहभागी भएँ । सबै यात्रु सामाजिक दूरी कायम गरेर बसिरहेका थिए । पहिलो पटकको यात्रा भएकाले मलाई नयाँ अनुभव भइरहेको थियो । यात्रा फरक–फरक ठाउँकोे भए पनि सबैको मनमा एउटै त्रास थियो कोरोना भाइरस (कोभिड १९)बाट कसरी जोगिने ? 

सोही त्रासका बीचमा कोही लगेज गुडाइ रहेका थिए । कोही नजिकैको क्याफेमा कफि पिउँदै थिए । कोही चुपचाप कुर्सीमा प्रतिक्षा गरिरहेका थिए । यात्रुहरूमध्ये म एक यात्रु थिए जसलाई फोटोले असन्तुष्ट बनाइरहेको थियो । 

म गज्जबका फोटोहरू खिच्न प्रयास गरिरहेको थिए । तर यात्रुका चहल पहलले मलाई सामान्यतया बिचलित गराईरहेको थियो ।
मैले कहिले बसेर फोटो खिचें । कहिले उठेर खिचें । कहिले भिडमा खिचें । कहिले सिंगल खिचें । किनकी म त वेटिङ रुममा न थिए । 

वेटिङरुममा ठूलो टिभी थियो । सानोमा म बिरामी पर्दा कान्ती बाल अस्पताल पुग्दा त्यस्तै पर्खाइको बेलामा टिभी हेरेको याद आयो ।

त्यही बजिरहेको टिभी, भीडभाडको बीचमा निरन्तर माइकिङ भइरहेको थियो । त्यसै क्रममा एनाउन्स भयो, ‘बुद्ध एयर एनाउन्सेस डिपार्चर सेभेन जेरो वान टू विराटनगर ।’ तर म भने यती एयरको पर्र्खाइमा थिए । 

फेरि आवाज आयो, बुद्ध एयर एनाउन्सेस फोर फाएभ वान टू नेपालजञ्ग । तर म यतीको पखाईमा थिएँ । पर्खाइमा रहेको यतीले लामो समय लगायो । 

एयरपोर्ट भित्रको भ्यान
केही समयको प्रतिक्षापछि बल्ल यतीको पालो पालो आयो । हामीहरूलाई प्रवेशद्धार अगाडि रहेको भ्यानमा चढ्न संकेत गरियो । चढ्न पाएको थिएन, एकैछिनमा भ्यान जहाज नजिक पुगेर रोक्कियो । पहिलो पटक जहाजभित्र प्रवेश गरियो । 

यती एयरलाइन्सभित्र कोही म जस्तै पत्रकार थिए होलान् । कोही अन्य पेशा व्यवसाय गर्ने थिए होलान् । कतिले धेरै पटक जहाजको यात्रा गरेका होलान् । कतिले म जस्तै पहिलो पटक यात्रा गरेका पनि होलान् । तर कोहीसँग मेरो परिचय भएन् । मैले कसैलाई चिनिन् । कसैले मलाई चिनेनन् । तर हामी सबै समान थियौ । सबै यात्रु थियौं । 

मैले मेरो जहाज यात्राको भरपुर मज्जा त लिए । तर यो यात्रालाई यतिमै सीमित राख्न हुन्न भन्ने लाग्यो । मेरो उद्देश्य यसलाई शुभचिन्तकमाझ सार्वजनिक नै गर्नु उचित लाग्यो । अहिले नै लेखन यात्रामा असंख्य छन् । जहाजको यात्रा पनि निकै पटक गर्नेहरू टन्नै छन् । तर जहाजको यात्रालाई लेखन यात्रामा जोड्ने मेरो प्रयत्न हो । जहाज चढिरहेकालाई लाग्ला ‘जाबो जहाज चढेको कुरा पनि के लेखेको होला ?’ तर मेरा लागि यो संस्मरण हो । अनुभव हो । छुट्टै मज्जा हो । सकारात्मक उर्जा हो । 

बसेको मिनेट नपुग्दै उड्यो जहाज
मैले सामाजिक सञ्जालमा आफू जहाज चढेको फोटो पोष्ट्याउनेहरू निकै भेट्थें । केही दिनअघि मात्रै मेरा एक क्लासमेटले नै धनगढी जाँदै भनेर तस्वीर सामाजिक सञ्जालमा राखेको याद आयो । तर मलाई त त्यो अवसर नै मिलेको थिएन् । 

जहाजमा बसेको केही समयमै जहाज धावनमार्गतर्फ अघि बढ्यो । बिहानको करिव ९ बजेको थियो । म घर जाँदै थिएँ, त्यो पनि जहाजमा । धेरै खुशीहरू एकसाथ जोडिएर आए ।  

देखिएन कपास, कसैले दिएन चकलेट
मैले सानैबाट सुनेको थिए, जहाजमा आवाज ठूलो आउने भएकाले कपास दिन्छन् । चकलेट खान दिन्छन् । तर न कपास पाइयो न त चकलेट । कारण कोरोना महामारी रहेछ ।

फेससिल्ड र मास्स लगाइकी एयर होस्टेजको स्वागत
जहाजमा चढ्ने क्रममा एक सुन्दरी एयर होस्टेजले स्वागत गरिन् । तर उनको मुख फेससिल्डले ढाकिएकोले राम्रोसँग हेर्न पाइएन् । मेरा पनि केही साथी एयर होस्टेज छन् । आकर्षक व्यक्तिलाई एयर होस्टेजमा राम्रो अवसर छ भन्ने सुनेको छु । 

एयर होस्टेजको मुहार राम्रोसँग देख्न नपाए पनि उनले दिएको सेवा भने राम्रो थियो । जहाजबाट बिदा हुने बेलामा उनले परैबाट नमस्कार गरेर बदा गरिन् । 
उड्दा र झर्दाको डर
जहाज एयरपोर्टबाट उड्दा र अवतरण गर्दै केही खुल्दुली उत्पन्न भयो । केही डर पनि । तर जुन ढंगले डर लाग्छ भन्ने गरिन्थयो, त्यो लागेन । 

काठमाडौबाट जमिन छोड्न लामो पर्र्खाएको जहाजले सिमरामा भने छाटो समयमै ओराल्यो । बाहिर निस्किँदा नौलो अनुभव भयो । काठमाडौ एयरपोर्ट र सिमरा एयरपोर्ट मलाई उस्तै लाग्यो ।

आकाशमा उडिरहेको हवाई जहाज देख्दा...
अन्य बेलामा आकाशमा उडेको हवाई जहाज देख्दासम्म आफू जहाज चढ्ने इच्छा हुन्थ्यो । कहिले चढ्न पाइयला ? भन्ने लाग्थ्यो । जहाज देख्दा राइट ब्रदर्श र लियो नार्दो दा भिन्चीको याद आउथ्यो । 

अब त्यो इच्छा मेटियो । तर अहिले आकाशमा हवाई जहाज देख्दा आफूले गरेको पहिलो हवाई यात्राको याद आउँछ । 

मलाई पहिलो पटक उडाउने यती एयरलाइन्सका क्याप्टेन मनिष श्रेष्ठले धेरै पटक यात्रा गरे होलान् । तर सिट नम्बर ए ‘वान’ मा म आफै समावेश भएको यात्रा मेरो लागि निकै यादगार छ । रहिरन्छ । 

Advertisement

Advertisement