‘महालक्ष्मी लाइफ कहिल्यै पनि नक्कली बीमाको धन्दा गर्दैन’

काठमाडौं । रमेशकुमार भट्टराई महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनी नेपाली बीमा क्षेत्रकै पहिलो सीईओ पनि हुन् । भट्टराईले शंकर देव क्याम्पसबाट २०३८ सालमा स्नाकोत्तर अध्ययन पूरा गरे । त्यसपछि नेपाल बैंकमा काम गर्न थाले । त्यहाँ म्यानेजर तहसम्म पुुग्न सफल भट्टराई २०५२ साल मंसिर १५ गते आफ्नै नेतृत्वमा महालक्ष्मी फाइनान्स खोले । उक्त फाइनान्स कम्पनीमा एक दशक काम गरेर राम्रो लाभांश खुवाउँदै बाहिरिए उनी त्यसपछि २०६२ साल मंसिर २३ गते नेपाल लाइफ इन्स्योरेन्समा प्रवेश गरे । नेपाल लाईफमा उनको दुई वर्षको अनुभव रह्यो । त्यस क्रममा उनले भारतीय सीईओहरूले गर्न नसकेको प्रगति गरेर रेकर्ड कायम गरे । त्यसपछि २०६४ चैत २१ मा भट्टराईले एशियन लाईफ इन्स्योरेन्स कम्पनीको नेतृत्व गरे । त्यहाँ छोडेपछि महालक्ष्मी विकास बैंक प्रवेश गरेका उनले उक्त बैंकलाई सफल र सबल बनाउन सक्षम भए । अहिले उनको यात्रा महालक्ष्मी लाइफ इन्स्योरेन्समा जारी छ । महालक्ष्मी कान्छो जीवन बीमा कम्पनी हो । सशक्त टिमसहित महालक्ष्मीलाई नम्बर १ बनाउने दौडमा रहेका भट्टराईको कार्यशैली र दृष्टिकोण फरक खालको छ । नेपालको बीमा बजारमा नयाँ पुनर्बीमा कम्पनी(हरू)लाई अनुमति दिने तयार भइरहेको छ । त्यसैको अनुमतिका लागि लाइनमा रहेका विभिन्न  कम्पनीहरूमध्ये ‘काठमाडौं रि–इन्स्योरेन्समा भट्टराई पनि आवद्ध छन् । यिनै सन्दर्भमा रमेशकुमार भट्टराईसँग कर्पोरेट नेपालका नबिन पोखरेलले गरेको कुराकानीको सार प्रस्तुत छः 

महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो व्यवसाय बिस्तारलाई आफैले कसरी मूल्यांकन गर्दै आएको छ ?
१९ वटा जीवन बीमा कम्पनीमध्ये महालक्ष्मी लाइफ सबैभन्दा अन्तिममा आयो । एकै पटक धेरै वटा कम्पनीले लाइसेन्स पाएको बेलामा हामीलाई व्यापार गर्न ठूलै चुनौती थियो । हामीले सुरुका तीन महिना त बजारीकरणमा मात्र बितायौं । अधिराज्य भरिबाट अभिकर्ताहरूलाई बीमाका बारेमा सचेत बनाउने काम पनि गर्यौं । यसले ग्राहकमा हामीप्रतिको विश्वास बढाउन मद्दत गर्यो । 

महालक्ष्मी मात्र एउटा यस्तो कम्पनी हो जसले आफ्नो काम थाल्नुपूर्व केही नयाँ आभाष दिएको छ भन्ने ग्राहकमा पर्यो । बजारमा १८ वटा कम्पनी हुँदा पनि महालक्ष्मी लाइफ किन चाहियो भन्ने ? भन्ने प्रश्न पनि हुनसक्छ । तर महालक्ष्मी लाइफ फरक ढंगले आएको कम्पनी हो । यसले बजारमा एक किसिमको तरंग दिँदै स्थापना भएको थियो । अहिले मेचीदेखि महाकालीसम्म हेर्दा हाम्रो नतिजा राम्रै आएको छ । महालक्ष्मी लाइफको व्यवसाय वृद्धि राम्रै रहेको थियो । 

तर त्यही राम्रो भइरहेको बेलामा कोरोना महामारी आयो । महामारी आए पनि हामीले भर्चुअल छलफललाई प्राथमिकतामा राख्यौं । संकटकाल जस्तो भएर सबै आतिएको अवस्थामा हामीले आफ्नो कामलाई रोकेनौं । त्यसले नै आज राम्रो नतिजा ल्याउन मद्दत गरेको छ । यसलाई हामीले ठूलो उपलब्धी मानेका छौं । त्यस्ता संकटकालको बेलामा कम्पनीहरू टिक्नु नै ठूलो कुरा हो । महालक्ष्मी लाइफ कोभिडको समयमा पनि नाफामा नै छ । 

नयाँ बीमा कम्पनी आएपछि बजारमा अस्वस्थ प्रतिस्पर्धाहरू पनि बढ्न थाले । त्यस्तो अवस्थामा महालक्ष्मी आफ्नो ब्राण्डिङमा लागेको थियो । यो कम्पनी सधैँ बीमाको गुणस्तरमा ध्यान दिने कम्पनी हो । अहिले बजारमा नक्कली बीमाका कुरा आएका छन् । सिङ्गल प्रिमियम पोलिसिका कुराहरू पनि बजारमा चलिरहेका छन् । तर महालक्ष्मी कहिल्यै पनि नक्कली बीमाको धन्दामा लागेन । हामीले त हाम्रो व्यवसाय कम बेसी भयोभन्दा पनि त्यसको गुणस्तर कस्तो छ ? भन्नेमा ध्यान दिँदै आएका छौं ।  

लाभांश र पोलिसि होल्डरको बोनसले पनि बीमा कम्पनीको अवस्था कस्तो छ ? भन्ने देखाउँछ । पोलिसि होल्डरको बोनसमा हाम्रो अवस्था राम्रो छ । हामीले ७४ करोड बराबरको बीमाशुल्क संकलन गरिसकेका छौं ।

नयाँ बीमा योजना ल्याउन के कस्तो तयारी गरिरहनु भएको छ ?

बीमा समितिको छलफलमा प्रोडक्टको दायरा बढाउन अनुसन्धान गरौं भन्ने कुराहरू उठ्ने गर्छन् । म पनि बीमा कम्पनीका प्रोडक्टहरू कपी पेस्ट गर्नु हुन्न भन्ने पक्षमा छु । महालक्ष्मी लाइफ इन्स्योरेन्सले भने अहिले पनि नयाँ किसिमका बीमा योजना ल्याउन पहल गरिरहेको छ । 
हाम्रोमा ‘महालक्ष्मी डबल बीमा योजना’, ‘लगानी फिर्ता बीमा योजना’ र ‘महालक्ष्मी हेरचाह’ बीमा योजना सञ्चालनमा छन् । त्यस्ता किसिमका बीमा योजनाहरू अन्य कुनै पनि कम्पनीसँग छैन । 

हिजोको दिनसम्म अभिकर्ताले जबरजस्ती बीमा गर्थे । अहिले पनि पाँच वर्ष, दश बर्षमा नै बीमा डबल हुन्छ पनि भन्ने गरेको भेटिन्छ । तर मलाई के लाग्छ भने बीमा डबल हुन त १५ वर्ष लाग्छ र कम्तीमा ७० रुपियाँ बोनस दिनुपर्छ । अहिले बीमितलाई डबल दिने भनेर बीमा कम्पनीले सरासर ठगी गरिरहेका छन् । हामीले त बीमा समितिबाट स्वीकृत भएको प्रोडक्टमार्फत डबल बीमा योजना बेचिरहेका छौं । सो बीमा योजनाको आजसम्म कसैले पनि नक्कल गर्न सकेको छैन । 

निर्जीवन बीमामा गाडी दुर्घटनामा नपरे बीमाशुल्क त्यतिकै सकिन्छ । तर हामीले जीवन बीमामा नै मृत्यु नभएमा पैसा फिर्ता दिइने योजना ल्याएका छौं ।

१९ वटा जीवन बीमा कम्पनीमध्ये महालक्ष्मी लाइफमा नै किन बीमा गर्ने ?
महालक्ष्मी लाइफको व्यवस्थापकीय समूह बलियो छ । अन्य बीमा कम्पनीमा नयाँ कर्मचारी छन् । यहाँ अनुभवी छन् । हाम्रा अभिकर्ताहरूलाई हामीले निस्क्रिय राखेका छैनौं । विश्व प्रसिद्ध पुनर्बीमा कम्पनी ‘म्यूनिक रिइन्स्योरेन्स’सँग हामी आवद्ध छौं । उक्त पुनर्बीमा कम्पनीमा बीमा गर्दा हामीलाई निकै सहज भएको छ । कम झन्झट व्यहोर्नु पर्छ । महालक्ष्मीमा किन बीमित आउने भन्ने यस्ता आधारहरू हामीसँग धेरै छन् ।

जीवन बीमा कम्पनीमध्ये अग्रता कायम गर्न के–कस्ता योजना बनाउनु भएको छ ?
छ महिनामा ६० वटा शाखा कार्यालय हामीले स्थापना गर्यौं । अरु कम्पनी नपुगेको ठाउँमा हामी पुग्यौं । तर पछिल्लो समय कोरोना महामारीले हाम्रो गतिलाई रोक्यो । हाम्रो गति केही मात्रामा रोकिए पनि हामी आत्तिएका छैनौं । अहिले हामी बजारको अध्ययन गर्दैछौं । अझै नयाँ प्रोडक्ट ल्याएर बीमितलाई सेवा दिने हाम्रो लक्ष्य छ । बजारमा कायम रहेको फोर्ससेलिङ् हटाउन पनि उपयोगी उपाय हामी खोज्दैछौं ।

भर्खरै हामीले एएमएल सीएफटीको तालिम सम्पन्न गरेका छौं । व्यवसायमा एग्रेसिभ भएर राम्रो गरेको र सँगसँगै बीमाको गुणस्तरमा समेत ध्यान दिइरहेको कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स नै हो । उधारो बीमामा कम्पनीहरू संलग्न भएको बीमा समितिले नै पत्ता लाएको अवस्था छ ।

जीवन बीमा कम्पनीका समस्याहरू के–के छन् ?  
पहिलो कुरा त ग्राहकहरूमा बीमा चेतनाको कमी छ । हामीले कम्पनी बचाउनका लागि बीमा गर्नुपर्छ । कम्पनीको बीचमा अस्वस्थ प्रतिस्पर्धा छ । अहिले विश्व छिनछिनको प्रतिस्पर्धामा उत्रिरहँदा हामी भने पूरानै ऐनमा अल्झिरहेका छौं । डिजिटलाइजेसनमा जान पनि ऐनले नै समस्या बनाएको छ । जर्बजस्ती व्यापार गर्नुपर्ने अवस्थाले राम्रोसँग सेवा दिन सकेका छ्रैनौ । सरकारले बीमा क्षेत्रलाई प्राथमिकतामा राखेको छैन । हामीले बैक जस्तो गर्न नसकुला । तर हामीले बिस्तारै प्रविधिमा बीमालाई सुधार गर्नैपर्छ । अन्डरराइटिङका कारण बैंक जस्तो बन्न बीमालाई सहज छैन् ।

अधिकांश जीवन बीमा कम्पनीलाई बीमाङ्की भेट्न समस्या छ ? महालक्ष्मी लाइफलाई चाहीं समस्या छ कि छैन ?

सबै कम्पनीलाई बीमाङ्की चाहिने भएकाले भनेको बेलामा भेट्न समस्या छ । नेपालमा बीमाङ्की छ्रैनन् । बाहिरका बीमाङ्कीले पनि ७५ वर्ष कटेपछि भ्यालुयसन गर्न पाउँदैनन् । प्रेक्षा माथेमा भन्ने एकजना बीमाङ्की बीमा समितिले राखेको छ । त्रिभुवन विश्वविद्यालयले भर्खरै बीमाङकीको सैद्धान्तिक पढाई सुरु गरेको छ ।

कुनै कम्पनीसँग गाभ्ने–गाभिने केही योजना बनाउनु भएको छ ?

अहिले कुनै पनि कम्पनी अघि बढ्नको लागि पहिले च्याउ आएका जस्ता आउँदा रहेछन् । तर बिस्तारै जस्ले गर्न सक्छ, उ मात्र टिक्छ । बाँकी नासिन्छन् । लाइसेन्स धेरै दिँदा केही अस्वस्थ प्रतिस्पर्धा देखिए । तर अर्को तिर त पहुँच बढेको छ नि । अब नियामक निकायले पनि बीमा कम्पनीहरूको आवश्यक अध्ययन गर्नुपर्छ । छिमेकी राष्ट्र भारतको हिसाबमा नेपालमा बीमा कम्पनीहरूको संख्या धेरै भएको छ ।

जबसम्म बीमा कम्पनीहरूले साधारण सेयर आईपीओ जारी गर्दैनन्, तबसम्म बीमा कम्पनी चल्ने कि नचल्ने टुंगो हुँदैन । मुख्य कुरा भनेको त लाभांश हो नि । बीमा कम्पनीहरूले लाभांश खुवाउन सक्छन् कि सक्दैनन् ? त्यो त हेरिन्छ । प्रमोटरले त्यतिकै पेल्छन् । कि त बीमा क्षेत्रका बिकृति रोक्नुपर्यो । होइन भने कम्पनीहरू मर्जरमा जानुपर्यो । अहिले त नयाँ जीवन बीमा कम्पनी खोल्ने कुरा पनि चलिरहेका छन् । भईरहेका कम्पनी टिकाउने ठूलो कुरा हो कि नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने ठूलो कुरा हो ? भन्ने पनि छ ।

मेरो विचारमा मर्जर गर्न आवश्यक छ । हामीलाई कसैले विश्वास गरेर मर्जरमा जाउँ भन्छन् भने हामी त तयार छौं । हाम्रो नेतृत्वमा हामी मर्जरमा जान तयार छौं । र अहिले बीमा समितिले नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने भन्दा पनि भएका जीवन बीमा कम्पनीलाई पनि पाँच–सात वटामा सीमित गर्दा राम्रो हुन्छ । बीमा कम्पनीले धेरै शाखा खोलेर मात्र हुन्न । खर्च व्यवस्थापन पनि गर्नुपर्ने हुन्छ ।
६० अर्ब रुपियाँको जोखिम छ भने सोही अनुसार क्यापिटल समेत बढाउँदै जानुपर्छ । हकप्रद सेयर रोक्नुपर्छ । त्यसो गरेमा कम्पनी मर्जरमा जान्छन् ।

अर्को कुरा, भारतमा एउटा मात्र पूनर्बीमा कम्पनी छ । नेपालमा चाहीं किन धेरै चाहियो ?

भारतमा एउटा मात्र पूनर्बीमा कम्पनी भए पनि त्यहाँका ब्रोकरहरू बलिया छन् । तर नेपालमा त अवस्था त्यस्तो छैन । सरकारी पूनर्बीमा कम्पनीलाई २० प्रतिशतले पुगेको छ भने उसले बाँकी व्यवसायका लागि किन मेहनत गर्छ ?  नेपाल पुनर्बीमा कम्पनीलाई सक्रिय बनाउन, विदेशिने २० अर्ब बीमाशुल्क नेपालमा नै राख्न नयाँ पुनर्बीमा कम्पनी आवश्यक छ । अहिलेसम्म नेपालको एउटा पनि ब्रोकर छैन ।

महालक्ष्मी लाइफलाई प्रविधिमैत्री बनाउन के–कस्ता प्रयास भएका छन् ?

बीमा समितिले लघुबीमा मात्र डिजिटल्ली गर्न मिल्ने भनेको छ । लकडाउनको समयमा हामीले प्रविधिबाटै काम गर्न प्रयास पनि गर्यौं । अहिले प्रविधि के हो ? भन्ने सबै कर्मचारीहरूलाई जानकारी छ । अब यसको आवश्यकताअनुसार प्रयोग पनि गर्नुपर्छ ।
बीमा ऐन, २०४९  संशोधन नभएसम्म बीमा समितिले पनि हामीलाई स्वतन्त्रता दिन सक्दैन ।

कर्मचारी व्यवस्थापनमा केही समस्या छन् कि ?
नयाँ कर्मचारी ल्याउँदा उनीहरूले काम गर्न सक्दैनन् पूरानो ल्याउँदा धेरै महङ्गो हुन्छन् । यही हाम्रो समस्या हो । कर्मचारीले सुरुमा चिनजानको बीमा ल्याउँछन् । त्यसरी बीमा ल्याउन नपाउँदै उनीहरूलाई कम्पनीमा लग्ने चलन छ । व्यापारमा बरु समस्या छैन् । तर कर्मचारी व्यवस्थापनमा समस्या छ । सोही सन्दर्भमा जीवन बीमक संघले आचारसंहिता पनि बनाएको छ । तर सबैलाई आफू मात्र अब्बल बन्नु छ । सेवाको भावमा कमी देखिन्छ ।

बीमा समितिको नियमनलाई कसरी हेर्नुहुन्छ ?

बीमा समितिमा कर्मचारीहरूको संख्या कम छ । समितिलाई धेरै कामकारबाही गर्न बीमा ऐन नै बाधक छ । हुन त कम्पनीहरू आँफै स्वनियमनमा बस्नुपर्ने हो । जबसम्म बीमा कम्पनीहरू स्वनियमनमा बस्दैनन्, तबसम्म अस्वस्थ प्रतिस्पर्धा रहिरहन्छ । अहिलेको लागि मात्र सोचेर काम गर्नु हुन्न । क्षणिक सोचले काम गर्दा कतिपय बैकको अस्थित्व मेटिएका छन् । त्यसबाट हामीले पाठ सिक्नुपर्छ ।

बीमा कम्पनीहरूले बोनस दरलाई किन बढि बजारीकरण गर्छन ?
पन्द्र वर्षको बीमा पोलिसिमा ३० वर्षको बोनसका कुरा जोडर बीमितलाई दिग्भ्रमित पारिएको हुन्छ । ८६ रुपियाँ दिन्छु भनेर बीमा कम्पनीले ढाँटेका छन् । आफूले बेचेको पोलिसिको बोनस भन्नु पर्छ । तर १० वर्षको बीमा पोलिसि बेच्दा ३० वर्षको बोनस भनेर ढाट्नु हुँदैन । त्यो त सोझै ठगी हो । हामीले सबैभन्दा न्यूनतम बोनस ५० रुपियाँ छ भनेर भनिरहेका छौं । बोनसभन्दा अधिकतम् नभनी न्यूनतमभन्दा राम्रो हुन्छ । बीमितले आफैले बुझेर बीमा गर्नुपर्छ । अरुले भनेको सुनेर दिग्भ्रमित भएर बीमा गर्ने होइन । अरुले के भन्यो भन्दा पनि आफ्नो परिवारको अवस्था हेरेर बीमा गर्नुपर्छ ।

नयाँ पुनर्बीमा कम्पनी ल्याउने प्रयासमा हुनुहुन्छ । किन चाहियो अर्को पुनर्बीमा कम्पनी ?
अहिले बीमा बजारमा चार वटा पुनर्बीमा कम्पनी ल्याउने चर्चा चलिरहेको छ । चार वटा पुनर्बीमा कम्पनी ल्याएमा त बिकृति भित्रिन्छ । तर नेपाल पुनर्बीमा कम्पनीलाई पनि प्रतिस्पर्धी बनाउन जरुरी छ । सोही कारण एउटा पुनर्बीमा कम्पनीको आवश्यकता छ । दुई वटाभन्दा बढी कम्पनी चाहीं ल्याउनु हुँदैन । बाहिरको व्यवसाय ल्याउने भिजन बोकेका पुनर्बीमा कम्पनीको आवश्यकता छ । अहिले नेपाल भुकम्पीय जोखिमका कारण विश्व पुनर्बीमा बजारमा त्यति चर्चामा छैन । 

नयाँ पुनर्बीमा कम्पनी ल्याउँदा नेपाली बीमा बजारमा राम्रो प्रभाव पर्छ । बीमा कम्पनीहरूले पुनर्बीमाका लागि बाहिरका देशमा धाउनु पर्दैन । बाहिरका पुनर्बीमा कम्पनीका लागि धेरै कागजात बनाउनुपर्ने झन्झट छ  । नेपालमै नयाँ पुनर्बीमा कम्पनी आएमा काम गर्न सहज हुन्छ । २० अर्ब रुपियाँ पुँजीमा मात्र आउन पाउने र पुनर्बीमा कम्पनीमा काम गरेको अनुभव भएको व्यक्तिलाई नयाँ पुनर्बीमाको लाइसेन्स दिनुपर्छ ।

कोरोनाको कारण बीमितको मृत्यु भएमा जीवन बीमाले पैसा दिन्छ ?
हामीले कुनै पनि कारणले जीवन बीमा गरेका बीमितको मृत्यु भएमा बिमाङ्क दिन्छौं । यसमा कसैले शंका मान्नु पर्दैन । बीमा गराउने बेलामा नै बीमितले सबै प्रकिया पूरा गर्नुपर्छ । त्यतिबेला नै कुनै पनि कारणले मृत्यु भएमा जीवन बीमाले बिमाङ्क दिने सम्झौता गरेका हुन्छन् ।
कोरोनाकै कारण जति जना बीमितको मृत्यु भए पनि जीवन बीमाले भुक्तानी दिन्छ । भुक्तानी दिनु पनि पर्छ ।

महालक्ष्मी नाम फापने रहेछ ?
महालक्ष्मी नाम धेरै पटक उच्चारण गर्दा मलाई फलिफाप भएको छ । सोही कारण महाक्ष्मी नामको संस्थासँग मैले आवद्धता बढाएको हो ।