राष्ट्रिय वाणिज्य बैंकले ट्राफिक प्रहरीलाई हस्तान्तरण गर्यो ट्राफिक लाईट

Advertisement

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक लाईट(बत्ती) हस्तान्तरण गरेको छ । बैंकले निर्माण गरेको सो ट्राफिक लाईट सुन्धरा, नागस्थानमा शुक्रबारबाट एक कार्यक्रमका बीच संचालनमा ल्याइएको छ । 

नयाँ जडान गरिएको ट्राफिक लाईट काठमाडौं महानगरपालिका वडा न.२१ का वडा अध्यक्ष चिनकाजी महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा उद्घाटन गरी ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गरिएको हो ।

Advertisement

कार्यक्रममा काठमाडौँ २१ वडा अध्यक्ष चिनकाजी महर्जनले उपत्यकामा बढ्दै गईरहेको ट्राफिक जामलाई व्यवस्थापन गर्न वडा कार्यालयले पनि सहयोग गर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै बिभिन्न क्षेत्रमा सहयोगी कार्यहरु गरिरहेको र आगामि दिनमा पनि निरन्तर सहयोग गर्ने बताए । 

त्यसैगरी प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले प्रबिधिमार्फत ट्राफिक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमनमा सहजता आउनुको साथै सडक अनुशासन कायम भई दुर्घटना न्युनिकरणमा समेत सघाउ पुग्ने बताए । 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको संचालन विभागीय प्रमुख सरोज बस्नेतले गरेका थिए । कार्यक्रममा प्रहरी अधिकारीहरु, कर्मचारीहरु लगायतको उपस्थिति थियो ।
 

Advertisement

Advertisement