महासंघ आज भिजन पेपर सार्वजनिक गर्दै, थप २२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आज शनिबार सम्पन्न हुन लागेको ५५औं बार्षिक साधारणसभामा १० बर्षे भिजन पेपर सार्वजनिक गरिने महासंघले जनाएको छ । साधारणसभाको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्दैछन् । 

सोही अवसरमा ओलीले महासंघले अघि सारेको राष्ट्रिय आर्थिक रुपान्तरण २०३० पुस्तक (भिजन पेपर) सार्वजनिक गर्नेछन् । महासंघले यस बर्षको साधारणसभाको नारा ‘सम्मानित निजी क्षेत्रः समुन्नत नेपाल ’ राखेको छ । सभामा भाग लिन मुलुकभरबाट प्रतिनिधि काठमाडौं आएको जनाइएको छ । 

Advertisement

भिजन पेपरमा मुलुकको अर्थतन्त्र दोहोरो अंकमा वृद्धि गर्ने, आगामी दश वर्ष भित्र मुलुकको अर्थतन्त्र एक सय अर्ब डलरको पुरयाउने र दीगो उच्च आर्थिक वृद्धिमार्फत अतिरिक्त २२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । ती लक्ष्यलाई पूरा गर्ने बलियो आधार र सुझावसमेत भिजन पेपरमार्फत दिइने महासंघको भनाई छ । भिजन पेपरको कार्यान्वयनमा महासंघले वार्षिक साधारण सभामा नेपाल सरकारको प्रतिवद्धता समेत लिँदैछ । 

बंगलादेशका वाणिज्यमन्त्री टिपु मुन्सीले भिडियोमार्फत सम्बोधन गर्ने सभामा महासंघका सदस्य संघ संस्थाहरूलाई कदर सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । सभाको उद्घाटनपछि तीन वटा सत्रमा भिजन पेपर बारे अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र श्रम तथा रोजगार मन्त्रीको उपस्थितिमा प्यानल डिस्कसन हुने छ । आइतबार महासंघको बन्दसत्रसहित सभा सम्पन्न हुने कार्यक्रम छ । 
 

Advertisement

Advertisement