शाश्वत धामः दैनिक ५ हजार भन्दा धेरै  पर्यटकले गर्छन् अवलोकन (फोटो फिचर)
रमणीय शाश्वत धाम (फोटोहरु सुश्मा तिम्सिना/कर्पोरेट नेपाल)

Advertisement

काठमाडौँ । नवलपरासी जिल्लाको शाश्वत धामको परिसर प्रवेश गर्न नपाउँदै पर्यटकहरुले हातहातमै भएको क्यामेरासहितको मोवाइल फोन खिचिक्क, खिचिक्क, खिचिक्क ! पार्न थाल्छन् । मोवाइल मात्र हैन, ठूला क्यामेराको ‘सटरस्पिड’ दबाउने पर्यटकहरुको संख्या पनि उल्लेख्य देख्न सकिन्छ । 

पछिल्लो समय शाश्वत धाम  पर्यटकीय गन्तब्य बनेको छ । शाश्वत धाम पुगेपछि शान्त वातावरणले पर्यटकहरुको मन आनन्दित तुल्याउँछ । उक्त धाम राजमार्ग सँगै जोडिएको छ । निजी सवारी साधन प्रयोगकर्ता मात्र होइन लामो दुरीको बसबाट आउने दर्शकले पनि यहाँ गाडि रोक्न लगाए दर्शन गर्ने गरेको पाइन्छ ।  ।

Advertisement

शाश्वतको अर्थ हो कहिले पनि नाश नहुने, सधैभरि रहिरहने, चिरस्थायी, नित्य, सनातन र चिरन्तर हुन्छ । चितवनको नारायणघाट बजार भन्दा पश्चिम २३ किलोमिटरको दुरीमा पूर्वपश्चिम राजमार्गस्थित चौधरी उद्योग ग्रामसँगै रहेको शाश्वत धाम अवस्थित छ ।  

शाश्वत धामको निर्माण उद्योगपति विनोद चौधरीले गरेका हुन् । सनातन धर्मको प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण भएको शाश्वत धाममा आजभोलि दैनिक ५ हजार भन्दा धेरै पर्यटकहरुले भ्रमण/अवलोकन गर्ने गरेका छन् । शाश्वत धामको महत्व बुझ्न र भ्रमण अवलोकन गर्न नेपालका मात्र होइन भारत लगायत विभिन्न देशका पर्यटकहरु पुग्ने गरेका छन् । 

भारतको काञ्ची मठका पिठाधिश शंकराचार्य जयन्द्र सरस्वतीले उद्योगपति चौधरीका पिता स्व. लुनकरणलाई मानिसहरुमा सकारात्मक धारणाको विकास गराउन उद्योग परिसरमा शाश्वत धाम निर्माण गर्न आशिर्वाद दिएका थिए । पिताले प्राप्त गरेको आशिर्वादलाई मुर्तरुप दिंदै उद्योगपति चौधरीले उक्त धाम निर्माण गरेका हुन् । 

चौधरी उद्योग ग्रामसँगको ८० बिघा जमिन भित्रको चौधरी उद्योगग्रामकै करिव सात विगाह क्षेत्रफलमा शाश्वत धाम फैलिएको छ । शाश्वत धामको मध्य भागमा दक्षिण भारतमा प्रशिद्धी कमाएको खजुरावान शैलीमा बनेको बुट्टादार तथा अत्यन्तै मनमोहक श्री काञ्ची शंकरा सदाशिवलिंगको मन्दिर रहेको छ । पाटनको कृष्ण मन्दिर जस्तै देखिने सदाशिवलिंगका मन्दिरलाई चारैतिरबाट तालले घेरेको छ ।

शाश्वत धाम परिसरमा निर्माण गरिएका संरचना काठको बुट्टा जस्तो देखिएपनि सिमेण्टबाट बनाइएको हो । धामभित्र १२ राशी र २७ नक्षत्रअनुसारका रुखहरु समेत रोपिएका छन् । तीर्थाटन पर्यटकीय स्थलको रुपमा विकास भएको शाश्वत धाम परिसरमा पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्धारी, गोसाईकुण्ड, बद्रीनाथ, केदारनाथ, हरिद्धारालगायतका धार्मिक स्थलहरुको डिजिटल प्रविधिद्वारा दृष्यवलोकन गर्न समेत पर्यटकहरुले पाउँछन । 

मन्दिर भित्र विभिन्न १६ देवी देउताको आकर्षक मुर्तिहरु राखिएको छ । मन्दिरको तल धार्मिक संग्राहालय बनाइएको छ । जसले गर्दा पर्यटकहरुलाई थप अध्ययनको सुविधा समेत भएको छ । शास्वत धाममा श्रीलंकाबाट भगवान गौतम बुद्धको अस्तु ल्याइएको छ । अस्तु शाश्वत धाममा निर्माण गर्न लागिएको बुद्धिष्ट सेन्टरमा राखिएको छ ।  

Advertisement

Advertisement