काठमाडौं । चैत अन्तिममा बैंकहरु कर्जा लगानीमा एग्रेसिभ देखिएका छन्। चैत अन्तिममा पनि बैंकहरुले संकलन गरेको निक्षेप भन्दा कर्जा लगानी निकै धेरै रहेको देखिएको छ।
नेपाल बैंकर्स एशोसियसनले उपलब्ध गराएको तथ्याँक अनुसार चैत २० गतेदेखि चैत २७ गतेसम्ममा बैंकहरुको कर्जा लगानी ३४ अर्ब रुपैयाँले बढेको छ भने निक्षेप संकलन २२ अर्ब रुपैयाँले बढेको देखिएको छ। चैत अन्तिममा पनि बैंकहरुको निक्षेप संकलनको तुलनामा कर्जा लगानी धेरै देखिन्छ।
अघिल्लो साता निक्षेप संकलन कर्जा लगानीभन्दा केहि बढेको थियो। सो अवधिमा बैंकहरुले ४० अर्ब निक्षेप संकलन गरी ३८ अर्ब कर्जा लगानी गरेका थिए।
चैत २७ गतेसम्ममा बैंकहरुको कुल निक्षेप संकलन ३९ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ, जसमा ३७ खर्ब ८५ अर्ब स्वदेशी मुद्रामा गरिएको निक्षेप संकलन रहेको छ भने १ खर्ब २८ अर्ब रुपैयाँ विदेशी मुद्राको निक्षेप संकलन गरेका छन्।
त्यस्तै सो अवधिमा कर्जा लगानी समेत ३५ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ। जसमा ३३ खर्ब ९२ अर्ब स्वदेशी मुद्रामा प्रवाह गरिएको कर्जा रहेको छ भने १ खर्ब ४३ अर्ब विदेशी मुद्रा प्रवाह गरिएको कर्जा रहेको छ।
यता, महिनाको अन्तिमसम्ममा सरकारले तेस्रो त्रैमासिक राजस्व संकलन गर्ने भएको कारण तरलतामा केहि दवाव देखिने नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् । आइतबारसम्मको तथ्यांक हेर्दा राष्ट्र बैंकमा ३४ अर्ब रुपियाँ तरलता छ ।