फागुनमा महंगी दर  ३.०२ प्रतिशत, घ्यूमा सबैभन्दा बढी मूल्यबृद्धि

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार फागुन २०७७ मा वार्षिक विन्दूगत उपभोक्ता मुद्रास्फीति अर्थात महंगीको दर ३.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४१ प्रतिशत रहेको छ ।

फागुनमा सबैभन्दा बढी मूल्यबृद्धि घ्यूमा भएको छ । २०७६ फागुनको तुलनामा २०७७ फागुनमा घ्यू तथा तेलमा १९.९७ प्रतिशतले मूल्यवृद्धि भएको छ । फलफूल, सुर्तिजन्य वस्तुहरू र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः, १३.६७ प्रतिशत, १०.४१ प्रतिशत र १०.१७ प्रतिशत रहेको छ ।

Advertisement

समीक्षा महिनामा काठमाडौं उपत्यकामा २.५० प्रतिशत, तराईमा ३.२५ प्रतिशत, पहाडमा ३.४० प्रतिशत र हिमालमा १.१४ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ फागुनमा यी क्षेत्रहरुमा क्रमशः ७.६१ प्रतिशत, ६.८४ प्रतिशत, ५.५३ प्रतिशत र ५.४२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७७ फागुनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.३० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.५७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि गत वर्षको सोही महिनाको तुलनामा क्रमशः ८.४५ प्रतिशत, ५.५९ प्रतिशत र ३.४७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ४.९२ प्रतिशत रहेको छ ।
 

Advertisement

Advertisement