‘सगरमाथा आरोग्य’ बीमालेख बजारमा, १० लाख रुपियाँसम्मको जोखिम बहन

Advertisement

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले नयाँ वर्षको अवसर पारेर ‘सगरमाथा आरोग्य बीमालेख’ जारी गरेको छ । कम्पनीले स्वास्थ्य बीमाका विभिन्न प्याकेज समावेश गरी सो बीमालेख जारी गरेको हो ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सो बीमालेख जारी गरेका हुन् । कार्यक्रममा समितिका अध्यक्ष सिलवाल सहित कार्यकारी निर्देशक राजुरमण पौडेल, सगरमाथा इन्स्योरेस कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत एसके रावल लगायतको उपस्थिति थियो ।

Advertisement

कार्यक्रममा समितिका अध्यक्ष सिलवालले भने, ‘बीमा भनेको समिति र कम्पनीका लागि एउटै नाउँ हो, यसलाई डुब्न दिनु हुँदैन, बीमा क्षेत्रमा रहेका छिद्रहरु टाल्नु पर्छ नत्र नाउँ डुबिहाल्छ ।’ उनले बैकिङ क्षेत्रको पहुँच ८० प्रतिशत पुग्दा बीमा क्षेत्र भने लड्दै, घिस्रिदै २३ प्रतिशतमा सीमित रहेका बताए ।

त्यस्तै, बीमा समितिका कार्यकारी निर्देशक एवम् प्रवक्ता पौडेलले अरुको जोखिम धारण गर्ने बीमा कम्पनीहरूले जोखिम समेत विचार गर्नु पर्ने र प्रविधिमैत्री बन्दै जानु पर्ने बताए । बीमाको दाबी भुक्तानीलाई छिटो छरितो बनाएमा बीमाको दायर अझै फराकिलो हुने उनको भनाई छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीका डीसीईओ रावलले  ६ वर्ष देखि ६५ वर्ष उमेर समूहलाई लक्षित यस बीमा योजना निकै उपयोगी हुने दाबी गरे ।

सगरमाथा इन्स्योरेन्सले २०५३ सालबाट कारोबार सुरु गरेको थियो । अहिले निर्जीवन बीमा व्यवसायमा विभिन्न सूचकहरूमा कम्पनीले अग्रता कायम गर्दै आएको छ ।

यस्तो छ ‘सगरमाथा आरोग्य’ बीमालेख

सगरमाथा आरोग्य बीमालेख एउटा प्याकेज पोलिसी हो । यसमा थोरै बीमाशुल्क बुझाउँदा नै बीमा गर्न सकिन्छ । सो बीमालेखले सात लाखदेखि दश लाख रुपियाँसम्मको जोखिम बहन गर्छ । सामान्य बिरामीहरूको न्यूनतम एक लाख रुपियाँसम्मको जोखिम बहन हुने व्यवस्था छ । 

यस्तै, नेपाल  सरकारले तोकेका गम्भीर १८ प्रकारका रोगहरूको लागि एक लाख रुपियाँदेखि दश लाख रुपियाँसम्मको जोखिम बहन हुने कार्यक्रममा बताइयो । 

Advertisement

Advertisement