नबिल बैंकलाई नम्बर १ को ताज जोगाउन धौधौ, प्रतिस्पर्धी आक्रामक बन्दै

Advertisement

काठमाडौं । नेपालको पहिलो नम्बरको बैंकको रुपमा चिनिदै आएको नबिल बैंकलाई आफ्नो ताज जोगाउन धौधौ पर्न लागेको छ । प्रतिस्पर्धीहरू आक्रामकरुपमा सञ्जाल, सेवा र पुँजी विस्तारमा लागेपछि नबिल आफ्नो साख जोगाउन अब कसरी अघि बढ्छ ? सबैको चासो बन्न थालेको छ । 

नबिल बैंक न एनआईसी एसिया बैंकले जसरी मुलुकभर शाखा सञ्जाल विस्तार गर्नसक्ने अवस्थामा छ । न त स्टाण्र्डर्ड चाटर्ड बैंकको शैलीमा चल्नसक्ने सुविधा उसलाई छ । उसको एउटै विकल्प उपयुक्त बैंक वित्तीय संस्थालाई गाभ्नु मात्रै छ जुन उसको लागि  निकै चुनौतिपूर्ण छ । बैंकहरूबीच प्रतिस्पर्धा बढ्दै गएपछि नबिलका समकालिन बैंक हिमालयन, नेपाल इन्भेष्टमेन्टसमेत मर्जरमा जान बाध्य हुँदैछन् । लाइन मिल्ने बैंक वित्तीय संस्था पाए ग्लोबल आईएमई अझै ठूलो हुने दाउमा छ । तर, नबिल अहिलेसम्म मुकदर्शक बन्न बाध्य हुँदै आएको छ । 

Advertisement

नबिलमा अहिले सेलिब्रेटी बैंकर अनिल शाहले व्यवस्थापनको नेतृत्व गर्दै आएका छन् । शाहप्रति नबिलको मुख्य लगानीकर्ता चोधरी समूह त्यति सन्तुष्ट नरहेको बेला चौधरी समूहले मर्जर किङ्गका रुपमा चिनिएका उपेन्द्र पौडेललाई सञ्चालक समितिको अध्यक्षको रुपमा भित्राएको छ । यसबाट नबिल उपयुक्त संस्थासँग मर्जरमा जान हतारिएको देखिन्छ । यद्यपि सम्झौता अवधि नसकिँदा अनिललाई हटाउँदा संस्थाको इमेजमा असर पर्ने भएकाले चौधरी समूह मौन रहँदै आएको छ । 

नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर चिरञ्जीवी नेपालको कार्यकालमा बैंकहरूले आफ्नो चुक्ता पुँजी आठ अर्ब रुपियाँ पुर्याउनुपर्ने र बैंकको संख्या घटाउनु पर्ने नीति अघि सारेका थिए । यस नीतिलाई तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले पनि साथ दिए । खतिवडाले बैंकहरू मर्जरमा नगए ‘फोर्स मर्जर’ गराउने चेतावनी समेत दिएका थिए । सँगै मर्जर तथा प्राप्तीमा जानेलाई प्रोत्साहन र सुविधा पनि दिने निर्णय गरियो । 

राष्ट्र बैंकले क्रसहोल्डिङ भएका तथा कमजोर र मजबुतबीच मर्ज गराउने राष्ट्र बैंकको नीति रहँदै आएको छ । बैंक वित्तीय संस्थाहरूबीच अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको बेला संख्या नघटाउने हो भने वित्तीय क्षेत्रमा ठूलो विपत्ति आउनसक्ने त्रास देखेपछि राष्ट्र बैंकले यो नीति लिएको हो । उक्त नीतिपछि धेरै बैंक वित्तीय संस्था घटेका पनि छन् । 

तर अहिले ठूलो समस्या नबिललाई भएको छ । बैंकहरू मर्जरमा गएर नम्बर वान बन्ने होड चलेपछि उसलाई नैतिक दबाब परेको हो । गत वर्षमा ग्लोबल आईएमीले जनता बैंकलाई मर्ज गरेर चुक्ता पुँजीको आधारमा सबै भन्दा ठूलो बैंक बन्न सफल भएको थियो । त्यसपछि बाणिज्य बैंकहरुबीच बिग मर्जरको निकै हल्ला चले पनि कुनै निर्णय भने हुन सकेको छैन् । सेयर बजारका विश्लेषक छोटेलाल रौनियारले नबिलको एउटै र उपयुक्त विकल्प मर्जर नै भएको बताउँछन् । 

को हो नबिलका चुनौति ?
नबिल बैंकलाई च्यालेन्ज गर्नेमा ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक देखिएका छन् । एनआईसी एसियाको व्यवसाय, शाखा सञ्चालन जस्ता कुरा नबिल बैंक भन्दा धेरै अगाडि छ । नबिल भन्दा एनआईसी एसिया निक्षेप, कर्जामा र इपीएसमा अगाडि  छ । नबिललाई एनआईसी एसियाले जित्न नसकेको एउटा मात्र इन्डिकेटर हो रिजर्भ सर्कुलर । यस इन्डिकेटरमा भने एनआईसी एसिया पछाडि रहेको देखिन्छ । एनआईसीले यस इन्डिकेटरलाई पनि अगाडि बढाउन धमाधम आफ्नो सेयर बेचिरहेको छ । 

एनआईसी एसियाले शाखा संख्या ३५५ भन्दा धेरै पुर्याइसकेको छ । तर नबिलको १५० मात्रै छन् । एनआईसी एसिया सरह शाखा पुर्याउन नबिललाई दुई सय शाखा थप्नुपर्ने हुन्छ जुन आर्थिक र अन्य संभावनाका हिसावले पनि अब कठिन छ । 

नबिल बैंकको पहिलो नम्बरको ताज खोस्न हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक पनि लागिपरेका छन् । यी दुई बैंक मर्जरमा जाने तयारी करिव पूरा भइसकेको छ । दुबैको अब बस्ने सञ्चालक समितिबाट मर्जरलाई अन्तिम टुँगो लगाउने अनुमान गरिएको छ । मर्जरका लागि आन्तरिक रूपमा गरिरहेको ड्यू डेलिजेन्स अडिट (डीडीए)को रिपोर्ट चैत १ गते आइसकेको छ । दुवै बैंक मर्ज भएमा सबैभन्दा ठूलो बैंक बन्न सफल हुनेछ । 

यता हिमालयन बैंकसँग सिभिल बैंक पनि गाभिने कुरा चलिरहेको छ । यदी तीन वटा बैंक मर्जर भए अझ ठूलो बैंक बन्नेछ । यस कुरा पनि नबिललाई च्यालेन्ज बनेको छ । 

के छ उपाय ? 
नबिलसँग विभिन्न बैंक वित्तीय संस्था मर्ज हुन लागेको हल्ला लामो समयदेखि चल्दै आएको छ । सबैभन्दा बढि हल्ला एनबी बैंकसँग जोडेर हुने गरेको छ अर्को एनसीसीसँग । यद्यपि यस मर्जरको संभावनाबारे आफू बेखबर रहेको नबिलका सीईओ अनिल शाह बताउँछन् । 

नबिलले उपेन्द्र पौडेललाई बैंकमा भित्राउनु र विज्ञ टोली बनाउनुबाट उ मर्जरमा जान हतारमा छ भन्ने प्रष्ट हुन्छ । तर  मर्जर प्रक्रिया सहज विषय होइन । त्यसमाथि नबिलका लागि झन असहज किन छ भने चौधरी समूहको स्वार्थसँग मर्ज हुने बैंक सञ्चालकहरूको लय मिल्नुपर्ने हुन्छ । यदि नबिलले एनबी र एनसीसी दुवैलाई मर्जर गराउन सफल भयो भने उसको नम्बर १ को ताज कायम रहनसक्ने संभावना कायम छ । 

Advertisement

Advertisement