२०७८ मा सेयर बजार कस्तो रहला ?

Advertisement

काठमाडौं । सेयर बजार लाखौं मानिसको आफ्नो पैसा लगानी गर्ने क्षेत्र बनेको छ । सेयर बजारतर्फ मानिसहरूको आकर्षण बढिरहेको बेला आजबाट सुरु भएको नयाँ सालमा यो क्षेत्र कस्तो रहला ? मानिसहरूको चासो र जिज्ञासा बढेको रहँदै आएको छ । 

सेयर बजारमा २०७७ सुखद रह्यो । यो बर्ष बजारले इतिहास कै नयाँ उचाई कायम गर्न सफल भयो । बजारमा नयाँ लगानीकर्ताको पनि उत्साहजनक प्रवेश भयो । नियामक निकायले पनि सेयर बजारलाई व्यवस्थित विकास गर्न सक्दो पहल गरे । 

Advertisement

२०७७ सालमा सेयर बजारमा सुधार आउनुको धेरै कारण छन् । त्यसमध्ये लगानीकर्ताको उच्च मनोबल नै सेयर बजारको सुधारको मुख्य पाटो रहेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । कोरोना महामारीको कारण सबै ब्यापार व्यवसाय बन्द भएको कारण लगानीकर्ताको लगानी गर्ने एक मात्र थलोको रुपमा सेयर बजार रहँदै आएको छ । 

२०७७ मा सेयर बजारमा इतिहास कै ठूलो आईपीओ पनि भित्रियो भने नेपालको एउटा मात्र पुनर्बीमा कम्पनीको सेयर पनि बजारमा कारोबार हुनसक्यो । अरु थुप्रै कम्पनीको प्रवेशले नयाँ लगानीकर्ताको उत्साह सेयर बजारमा बढ्न गयो । २०७७ मा सेयर बजार परिसुचक नेप्सेले नयाँ रेकर्ड कायम गर्नसक्दा साना ठूला सबै लगानीकर्तामा उत्साह कायम भएको छ ।

सेयर बजारप्रति नयाँ लगानीकर्ताको उत्साह थपिनुमा कोरोना महामारीको कारण अन्य क्षेत्रमा आर्थिक गतिबिधि शिथिल हुनु पनि हो । लगानीकर्ताको लागि लगानीको वैकल्पिक थलोको रुपमा सेयर बजार रहँदै आएको छ । विशेषगरी नेपाल बाहिर रहेका नेपालीहरूलाई सेयर बजारले आकर्षण गरेको छ । यसले मानिसहरूमा लगानी गर्ने बानीको विकास पनि भएको छ । 

अहिलेको सेयर कारोबार पूर्णरुपमा अनलाईनमार्फत गर्न सकिने भएकाले पनि मानिसहरुलाई आकर्षित बनाएको छ । यिनै सकारात्मक पक्षका बीच आजबाट नयाँ बर्ष सुरु भएको छ । नयाँ बर्षमा सेयर बजार कस्तो रहला ? यस्तो छ सेयर बजारका जानकार छोटेलाल रौनियार, अम्बिकाप्रसाद पौडेल, अनलराज भट्टराई र बिष्णु बस्यालको विश्लेषणः 

छोटेलाल रौनियार 
सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले चैतमा ब्याज तिर्नुपर्ने बाध्यता छ । त्यो भएको कारण यो समय सेयर बजार घट्ने बेला हो । तर, यस वर्ष त्यस्तो अवस्था रहेन । अहिले बजारमा तरलताको अभाव पनि रहेन् । अहिलेको अवस्था हेर्ने हो भने ३२ लाख भन्दा धेरैले डिम्याट खाता खोले । नयाँ लगानीकर्ताको उत्साहजनक सहभागिताले पनि नयाँ बर्ष सेयर बजार राम्रो हुने देखिन्छ ।

कम्पनीहरूको तेस्रो त्रैमासिक प्रतिवेदन पनि राम्रो आउने सम्भावना रहेको कारण पनि सेयर बजारमा नयाँ वर्षसंगै उत्साह थपिने छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जानको लागि पनि प्रोत्साहन गरिरहेको छ । दुई बैंक हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरको अन्तिम तयारीमा पुगिसकेका छन् । यसले पनि सेयर बजार उत्साह थप्नेछ ।

गत आर्थिक वर्षमा कोरोना महामारीको कारण कतिपय संस्थाले आफ्नो ऋण उठाउन सकिरहेका थिएनन् । जसको कारण कतिपय बैंक तथा वित्तीय संस्थाले आफूले दिने आभांश दर घटाएर दिएका थिए । त्यस्ता कम्पनीले अहिले ऋण उठाउन थालिसकेका छन् । यस्ले गर्दा पनि बैंक तथा वित्तीय संस्थाले दिने लाभांश पनि राम्रो हुने मेरो अनुमान छ । 

अनलराज भट्टराई 
२०७७ सालको समग्र अवस्था हेर्दा एउटा समयमा महामारीको कारण बजार पुरै बन्द भएको अवस्था थियो । बजार खुलेसँगै उत्तार चढाबहरु पनि भए । जब बजार पूरै सञ्चालनामा आउन थाल्यो, त्यसपछिको बजारको अवस्था भने उत्साहजनक छ । २०७७ सालमा प्राविधिक सुधार, रकमको उत्साहजनक बृद्धि र लगानीकर्ताको उच्च मनोवलले गर्दा नै २०७७ सालमा सेयर बजार बुलिस ट्रेन्डमा रह्यो । 

हामीले यस वर्ष बजारमा सबै कुराको अनुभव गर्न पायौं । सेयर बजार बन्द भएको अवस्था देख्यौं । बजारले एकदमै धेरै गुमाएको अवस्था पनि कोरोना महामारीको बीचमा देख्यौं । यस्तै यही वर्ष सेयर बजारले नयाँ इतिहास रचेको पनि देख्यौं । सेयर बजार कारोबारदेखि लिएर सेयर बजार सुचक नेप्सेले पनि ऐतिहासिक रेर्कड बनाएको छ । यसले गर्दा २०७७ मा सेयर बजार एकदमै राम्रो भएको भन्न सकिन्छ ।

अब २०७८ सालमा पनि सेयर बजार उत्साहजनक नै रहने मेरो अनुमान छ । आगामी वर्षमा सुरुको दिनको अनुमान गर्दा अहिलेको हाम्रो आर्थिक स्थिति राम्रो छ । आर्थिक विकास पनि बढ्दै जाने अवस्था छ । आर्थिक गतिबिधि बढेसँगै रोजगार बढ्ने जसले गर्दा उपभोक्ताको आम्दानीको स्रोत बढ्ने हुन्छ । यसले सेयर बजारमा लगानी गर्ने लगानीकर्ताको पनि वृद्धि हुने अनुमान लगाउन सकिन्छ । यसकारण २०७८ मा सेयर बजार घट्नेभन्दा पनि बढ्ने देखिन्छ ।

अम्बिकाप्रसाद पौडेल 
नेपालको पुँजी बजार २०७७ मा साच्चिकै उत्साहजनक रह्यो । ऐतिहासिक रेकर्ड कायम भएको छ ।  २०७६ सालबाट नै पुँजी बजारमा सुधारको काम भएको भएता पनि त्यसको प्रभाव कोरोना महामारीको कारण २०७७ सालमा आएर देखियो । 

यस वर्षमा कम्पनीको मार्केट क्यापलाईजेसन र नेप्से सुचक उत्साहजनक रह्यो ।  कोरोना महामारीको कारण सबै खाले व्यापार व्यवसाय बन्द थिए । आर्थिक क्षेत्र नै बन्द भएको बेलामा पनि नेपालको पुँजी बजारमा उत्साह छाएको छ २०७७ मा । यस वर्ष सुधारका काम पनि धेरै नै भएको देख्न सकिन्छ । 

२०७७ को डाटा र पछिल्लो समय फेरि कोरोनाको कारण लकडाउन गर्ने कि के गर्ने ? भन्ने कुरामा दुविधा आईरहँदा सेयर बजार भने सकारात्मक बाटो नै तय गरिरहेको छ । बजारप्रति नियमक निकायदेखि लिएर लगानीकर्ता पनि सकारात्मक छन् । नयाँ मौद्रिक नीति नआएसम्म सेयर कर्जाको ब्याजदर बढ्ने सम्भावना पनि छैन् । नयाँ वर्षसँगै सेयर बजारमा पनि नयाँ उत्साह थपिदै जाने मेरो अनुमान छ ।

बिष्णुप्रसाद बस्याल 
२०७७ सालमा कोरोना महामारीको कारण बन्द भएको बजार साउनबाट सञ्चालनमा आयो । सञ्चालनमा आएसँगै बजारले लगातार नयाँ रेर्कर्ड बनाउँदै ११ सयको हाराहारीमा रहेको सेयर बजार परिसुचक नेप्से बिन्दु मंगलबार मात्र २७ सय पार गरेको छ । सेयर बजारमा हाईड्रो पावरको समूहबाहेक बाँकी सबै सुचक अलटाईम हाई भएको छ । 

नयाँ वर्षको सुरुवातसँगै सेयर बजारमा पनि नयाँ कुराहरु अवश्य हुन्छ । बजारमा केही करेक्सन आउलान तर समग्र वर्ष भरि भने बजार बुलिस ट्रन्डमै रहने मेरो अनुमान छ ।

Advertisement

Advertisement