‘पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व’ घोषणा, सदस्यलाई १० प्रतिशत लाभांश दिइने

Advertisement

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसरमा ‘पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व’ घोषणा गरेको छ । संस्थाले २०७६ का लागि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेललाई सम्मान गर्ने निर्णय गरेको हो । 

त्यसैगरी २०७७ का लागि सहकारी अभियन्ता एवं जिल्ला सहकारी संघ ईलामकी अध्यक्ष विष्णुकुमारी लिम्बु दाहाललाई सम्मान गर्ने निर्णय भएको सा. संस्थाका अध्यक्ष भोलानाथ पाठकले जानकारी दिए । संस्थाले स्थापना दिवसको अवसर पारेर हरेक वर्ष सहकारी क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान गर्दै आएको छ । 

Advertisement

गत बर्ष कोरोना महामारी र त्यसको नियन्त्रणका क्रममा लकडाउन गरिएपछि सम्मान कार्यक्रम स्थगित गरिएकोमा यस पटक उक्त सम्मान समेत गर्न लागिएको हो । यस वर्ष पनि कोरोना भाइरसको जोखिम रहेकाले घोषित सम्मान आउँदो साधारणसभामा प्रदान गरिने पाठकले जानकारी दिए । 

संस्थाले सहकारी व्यक्तित्वहरुलाई नगद ११ हजार १५१ रुपिया र ताम्रपत्रसहित सम्मान गर्ने भएको छ । संस्थाको बुधबार आयोजित १३औं स्थापना दिवसको अवसरमा सो सम्मानबारे जानकारी दिइएको हो । सोही अवसरमा संस्थाले सहकारी पत्रकार समाजलाई एक लाख एक हजार १५१ रुपियाँ पनि सहयोग गर्यो । 

कार्यक्रमा संस्थाका ज्येष्ठ सदस्य लक्ष्मण आचार्य, निजामती ट्रेड युनियनका कावा अध्यक्ष भोला पोखरेल, संस्थाका कानुनी सल्लाहकार छविरमण निरौला, संस्थाका अध्यक्ष भोलानाथ पाठकले बोलेका थिए । अध्यक्ष पाठकले जुन देशमा अग्रजको सम्मान हुँदैन त्यो देशमा सभ्यताको विकास हुँदैन भन्ने कुरालाई महशुस गरेर संस्थाले सहकारी अभियन्ताहरूलाई सम्मान गर्ने कामको थालनी गरेको बताए । 


उनले संस्थाले नियमित बचत गर्ने र ऋणमा तिरेको ब्याजका आधारमा संरक्षित पुँजी फिर्ता कोषबाट रकम दिँदै आएको भन्दै संंस्था विकास कोषमा मात्रै एक करोड रकम जम्मा भइसकेको र यस वर्ष १० प्रतिशत लाभांश सदस्यहरुलाई दिने बताए । संस्थामा १५ वर्षसम्म नियमित बचत गर्ने सदस्यलाई चाडपर्व बोनसको रुपमा तीन हजार रुपिया उपलब्ध गराउने भएको छ । त्यसैगरी संस्थाले १० लाखसम्मको ऋणमा अनिवार्य बीमा गर्न शुरु गरेको छ । ७५ वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई ३ देखि ५ हजार रुपिया वार्षिकरुपमा उपलब्ध गराउँदै आएको छ । सामाजिक क्षेत्रमा समेत संस्थाले स्रोतसाधनले भ्याएसम्म सहयोग गर्दै आएको जनाएको छ । संस्थाले अल्पकालिन र दीर्घकालिन योजना बनाएर त्यसकै आधारमा सदस्य र समुदायको  उन्नतिका लागि काम गर्ने अध्यक्ष पाठकले बताए । 

Advertisement

Advertisement