नबिलका सीईओ शाहले जिते एक करोडको मुद्दा,  क्षतिपूर्तिसहित २ करोड २७ लाख पाउने

Advertisement

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले एक करोड रुपियाँको मुद्दा जितेका छन् । शाहले मेगा बैंक स्थापना गर्दा उक्त बैंकका एक सञ्चालक दुमनसिंह थापा क्षेत्रीलाई २८ माघ २०६६ मा करारनामा गरेर दिएको पैसा फिर्ता नभएपछि थापाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । 

शाहले ६ असार २०७७ मा करार उल्लंघन गरेको हुँदा क्षतिपूर्ति दिलाइ पाउँ भन्दै हालेको मुद्दामा जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलाशसले शाहको पक्षमा फैसला गरेको हो । 

Advertisement

मेगा बैंक स्थापना गर्ने क्रममा थापाले एक करोड ९० लाख रुपियाँ लगानी गर्ने निर्णय गरे । तर उक्त रकम थापासँग थिएन् । उनले शाहसँग एक करोड लिएका थिए । थापाले शाहबाट एक लाख कित्ता शेयरवापत हुन आउने एक करोड रुपियाँ करार गरेरै लिएका थिए । 

उक्त रकम बैंक सञ्चालनमा आएर शेयर बिक्री गर्न मिल्ने भएपछि एक लाख कित्ता शेयर लगानी गरेवापत हुने आय आर्जन, लाभांश, बोनस शेयर लगायतको आम्दानीसमेत खरिद गरेको शेयरकै अनुपातमा फिर्ता गर्ने गरी करार गरेर थापाले लिएका थिए ।

उक्त करार गरेर शाहले थापालाई पैसा दिए । संस्थापक शेयर पाँच बर्षसम्म बिक्री गर्न नमिल्ने भएर पैसा नदिएको भन्ने थापाको जिकिर रहँदै आएको थियो । तर, शाहले पाँच वर्षपछि पनि पैसा थापा दिन आनाकानी गरेपछि शाहले मुद्दा गरेरै आफ्नो पैसा दावी गरेका थिए ।

उक्त शेयरमा भएको लगानीका लागि बैंकले दिएको १८ हजार ५४४ कित्ता बोनश शेयर र ४४ हजार १५७ कित्ता साधारण शेयर शाहले पाउनुपर्ने थियो ।  थापाले शेयर नगद लिएको तर शेयर नामसारी नगरी बेइमानी गरेको कारण देखाएर करारबमोजिम दायित्व पूरा नगर्नेले अनिवार्य क्षतिपूर्ति दिनुपर्ने व्यवस्था मुलुकी देवानी संहिता २०७४ को दफा १५३, ५३७ र ५६१ मा भएको भन्दै शाहले सोही व्यवस्थाअनुसार क्षतिपूर्तिसहितको माग दाबी गरेको थिए ।

उक्त शेयर संस्थापक शेयर एक लाख १८ हजार ५४४ कित्ताको प्रचलित मूल्य प्रतिकित्ता १०८ का दरले एक करोड २८ लाख २ हजार १०८ र साधारण शेयर ४४ हजार १५४ को १९९ को प्रचलिन मूल्य अनुसार ८७ लाख ८७ हजार २१५ गरेर कुल दुई करोड १५ लाख ८९ हजार ९३३ तथा आव २०७४–७५ को नगद लाभांश ११ लाख १४ हजार ५०२ रुपियाँसमेत गरी कुल दुई करोड २७ लाख चार हजार ४९५ पाउनुपर्ने माग शाहले गरेको थिए ।

थापाले भने आफ्नो दायित्व पूरा नगरेको, उल्टै १० वर्षपछि अर्थात हदम्याद नघाएर मुद्दा हालेको जिकिर गरेका थिए । शाहले करारनामा गरेर पैसा दिँदा पनि थापाले आफ्नो दायित्व पूरा नगरेको भन्दै अदालतले शाहलाई अन्याय परेको ठहरसहित क्षतिपूर्तिसमेत फिर्ता गर्न निर्देशन दिएको छ । 

अदालतको फैसलाबाट शाहले थापाविरुद्धको एक करोड रुपियाँको मुद्दा जितेका छन् । शाहलाई थापाबाट शाहकै माग अनुसार हालको धितोपत्र बजार मूल्य बराबरको रकमसहित क्षतिपूर्ति दिनुपर्ने अदालतले गएको फागुन २ मा फैसला गरेको हो । 

Advertisement

Advertisement