संघीयता खारेज गर्न लागेको भन्दै प्रचण्डले ओलीको आलोचना गरे

Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय हितविपरित देशलाई बन्धक बनाएको आरोप लगाएका छन् । वागमती प्रदेशस्तरीय कराँते प्रतियोगिताको उद्घाटनका क्रममा उनले नेपाली जनताको इज्जत, प्रतिष्ठा, राष्ट्रिय स्वाधीनता र आत्मसम्मानमाथि प्रश्न उठाउने कार्य ओलीले गरेको आरोप लगाए ।

प्रचण्डले भने, ‘हिजोआज देशलाई बन्धकी राख्ने राष्ट्रिय हित विपरित गतिविधि गर्ने काममा स्वयं सरकारको नेतृत्व गर्ने प्रमुखहरुबाट भएको छ । नेपाल र नेपाली जनताको इज्जत प्रतिष्ठा आत्मसम्मान र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठाउने दुस्साहस भएको छ ।’

Advertisement

भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्त गोयलसँग प्रधानमन्त्री ओलीले चार बुँदै सम्झौता गरेको खबर सामाजिक सञ्जालमा छाएपछि सोही कुरालाई संकेत गर्दै प्रचण्डले ओलीको आलोचना गरेका हुन् । उनले नेपाली जनताले कुनै हालतमा आत्मसम्मानमाथि प्रश्न उठ्ने गरी दुस्साहस गर्नेहरुलाई माफी नदिने तर्क पनि गरे । 

प्रचण्डले परिवर्तनमाथि षड्यन्त्र भइरहेको बताउँदै त्यसलाई सफल हुन नदिने बताए । सचेत नेपाली जनता, स्वस्थ नेपाली जनता, वलिष्ठ नेपाली जनतालाई यी सबै षड्यन्त्र स्वीकार्य नभएको उनको तर्क छ । 

प्रचण्डले केही मानिसले संघीयतालाई खारेज गर्ने र स्थानीय तहलाई दिएको अधिकार खोस्ने सपना देखेको जिकिर गर्दै भने, ‘अहिले पनि केही मानिसहरुले त्यस्तो सपना देख्छन् । संघीयतालाई खारेज गर्ने, स्थानीय तहमा गएको अधिकारलाई खोसेर फेरि केन्द्रका केही सीमित व्यक्तिहरुको हातमा केन्द्रित गर्ने, समावेशिता र समानुपातिकतालाई उल्ट्याउन खोज्ने प्रवृत्ति देखा परेको छ ।’

Advertisement

Advertisement