‘एनआईबीएल म्युचुअल फण्ड–१’मा ६३.५ प्रतिशत लाभांश दिएपछि फण्ड–२ को तयारी

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ‘एनआईबीएल म्युचुअल फण्ड–१’ मा लगानीकर्तालाई ६३ दशमलव ५ प्रतिशत लाभांश दिएर योजना बन्द गरेपछि ‘एनआईबीएल म्युचुअल फण्ड–२’ योजना ल्याउने तयारी गरेको छ । 

बैंकले ‘एनआईबीएल म्युचुअल फण्ड–२’ नामक बन्दमुखी योजना सञ्चालन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको बताएको छ । बैंकले नेपालको पूँजी बजारमा सामूहिक लगानी कोषअन्र्तगत विभिन्न योजना संचालन गर्ने उद्देश्यले आफू कोष प्रवद्र्धक रही बैंकको सहायक कम्पनीको रुपमा एनआईबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहने गरी ‘एनआईबीएल म्युचुअल फण्ड–१’ नामको सामूहिक लगानी कोष दर्ता गरी दुई वटा बन्दमुखी र एउटा खुलामुखी योजना संचालन गरेको बताएको छ । 

Advertisement

‘एनआईबीएल म्युचुअल फण्ड’को पहिलो योजना ‘एनआईबीएल म्युचुअल फण्ड–१’ सफलतापूर्वक संचालन गर्दै योजनाका इकाईधनीहरूलाई हालसम्म ६३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्न सफल रहेको र आगामी आर्थिक वर्षमा यस योजनाको सात बर्ष अवधि पूरा भई बन्द हुने बैंकले जानकारी दिएको छ ।

पहिलो योजनाको उत्कृष्ट प्रतिफल साथै आम लगानीकर्ताहरुको विश्वासलाई निरन्तरता दिने उद्देश्यका साथ ‘एनआईबीएल म्युचुअल फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न लागिएको बैंकको भनाई छ । यस योजनाको आकार एक अर्ब २० करोड र अवधि १० वर्षको हुने छ । 

प्रतिइकाई मूल्य १० रुपियाँ दरको १२ करोड इकाईमध्ये बीज पूँजीबापत १० लाख इकाई योजना ब्यवस्थापक तथा न्यूनतम दुई करोड ३० लाख इकाई कोष प्रवद्र्धकका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात दुई करोड ४० लाख इकाई सुरक्षित राखी बाँकी न्यूनतम नौ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुला गरिने छ । 

यस योजनाको अवधिभर सामूहिक लगानी कोष नियमावलीे एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रही इकाई बिक्रीमार्फत संकलित रकमलाई जोखिम न्यूनीकरणका उपाय अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरुमा लगानी गरिने बैंकले जनाएको छ । 

सो लगानीबाट आर्जित मुनाफालाई इकाईधनीहरुलाई वार्षिक प्रतिफलको रुपमा वितरण गरिने यस योजनाको उद्देश्य रहेको छ भन्दै बैंकले प्रभावकारी वार्षिक प्रतिफलको रुपमा २१ दशमलव ४३ प्रतिशत यस योजनाका इकाईधनीहरुलाई दिनसक्ने प्रक्षेपण गरिएको छ । साथै यस योजनाको इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई योजनाको अवधिसम्म इकाईहरु दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने छ ।

Advertisement

Advertisement