भ्रष्टाचार आरोपी गोकुल बास्कोटालाई लेखा समितिबाट हटाउः ट्रान्सपरेन्सी इन्टरनेशनल

Advertisement

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नेकपा एमालेका नेता गोकुल बास्कोटालाई लेखा समिति सदस्यबाट हटाउन माग गरेको छ । सेक्युरिटि प्रेस खरिद प्रकरणमा मुछिएका बास्कोटालाई हालै लेखा समितिको सदस्य बनाइएको थियो । 

सत्तरी करोड रुपियाँ बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि सुचना तथा सञ्चार प्रविधि मन्त्रीबाट राजीनामा दिएका बास्कोटा प्रधानमन्त्री केपी ओलीका विश्वास पात्रका रुपमा चिनिन्छन । भ्रष्टाचार आरोपीलाई सार्वजनिक लेखा समितिको सदस्य तोकिएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै ट्रान्सपरेन्सीले उनलाई समितिको सदस्यबाट हटाउन आग्रह गरेको छ । 

Advertisement

लेखा समितिले सेक्युरिटि खरिद प्रक्रिया र अडियो टेपका विषयमा थप छानबिन गरी भ्रष्टाचार मुद्दा लगाउन २०७६ फागुन ३० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई फाइल पठाएको थियो । लेखा समितिले छानबिन गरी मुद्दा नचलाएको विषयमा आयोगसँग जानकारी मागिरहेको अवस्था छ । बास्कोटालाई लेखा समितिकै सदस्य बनाएपछि यो प्रकरणमा पदीय प्रभाव पर्नसक्ने चिन्ता ट्रान्सपरेन्सीको छ । 

यो सिफारिस नेपाल सरकारको भ्रष्टाचार विरुद्धको ‘शून्य सहनशिलता’ नीतिको प्रतिकूल रहेको ट्रान्सपरेन्सीको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘बाँस्कोटालाई लेखा समितिको सदस्य बनाइनु संसदीय मान्यता, पद्धति र स्वार्थको द्वन्द्व सिद्धान्त प्रतिकूल भएको हुँदा यो विषयमा संसद् र एमाले संसदीय दल दुवै गम्भीर हुनुपर्छ । एमाले संसदीय दलको नेता प्रधानमन्त्री स्वयम् भएको हुँदा आफ्नै मान्यता विपरीतको यो निर्णय सच्याउनेतर्फ अग्रसर हुन जरुरी छ ।’ 

Advertisement

Advertisement