‘सीताराम–पद्मकुमारी फाउन्डेसन’द्धारा अक्षण कोष स्थापना

Advertisement

काठमाडौँ । स्वर्गीय समाजसेवी सीताराम ढकालको सम्झनामा उनका छोरा भीम ढकालले  ‘सीताराम–पदमकुमारी फाउन्डेसन’ स्थापना गरेका छन् । समाजसेवामा काम गर्ने उद्देश्यले शनिबार कोटेश्वरमा उक्त प्रतिष्ठान स्थापना गरिएको हो । भीम ढकाल नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक हुन् भने पद्यकुमारी उनकी आमा हुन् । 

जीवनभर भोजपुर र काठमाडौँमा सामाजिक सेवामा सक्रिय रहेका सीताराम ढकालको योगदानलाई सम्मान गर्दै उनको अभियानलाई कायम राख्न फाउन्डेसन स्थापना गरिएको भीम ढकालले बताएका छन् । उनी संस्थाका संरक्षक हुन् । 

Advertisement

फाउन्डेसनको आज प्रथम साधारणसभा सम्पन्न भयो । सभामा भीम ढकालले बाबुआमाको सम्झनामा १० लाख रुपियाँको अक्षयकोष स्थापना गरी सामाजिक कार्यको शुरुवात गरे । सभा उद्घाटन गर्दै वाग्मती प्रदेशका पूर्वप्रमुख तथा महिला बेचबिखन विरुद्धका अभियन्ता अनुराधा कोइरालाले आमाबुबाको सम्झनामा संस्था नै स्थापना गरेर समाजलाई योगदान दिन खोज्नु महत्वपूर्ण कुरा भएको बताइन् । उनले बालिका र महिलामाथिका अपराध बढिरहेकाले पहिलो कुरा उनीहरुलाई शिक्षित बनाउनुपर्ने आवश्यकता औँल्याउँदै फाउन्डेसनले शिक्षामा विशेष योगदान गर्ने छ भन्ने आशा लिइन् । 

फाउन्डेसनले शैक्षिक अध्ययन अनुसन्धानका साथै विपन्न गरीब, फरक क्षमता भएकालाई प्रोत्साहन र सहयोग गर्ने, ज्येष्ठ नागरिक, महिला, बालबालिकालाई सहयोग र आत्मनिर्भर बनाउन आवश्यक कार्यक्रम सञ्चालन गर्ने, ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम स्थापना गर्ने उद्देश्य लिएको छ ।

यस्तै युवा लक्षित सीपमूलक तालीम, खेलकूद, लेख रचना प्रकाशन, स्वरोजगारमूलक कार्यक्रम चलाउने, स्वास्थ्य शिविर, एम्बुलेन्स र शव बाहन सेवा सञ्चालन गर्ने, गरीब किसानलाई अर्गानिक खेतीमा प्रोत्साहन गर्ने, प्रकोपजन्य घटना प्रभावितलाई आवश्यक सहयोग गर्ने, मठ, मन्दिर सरसफाइ तथा निर्माण, एवं वातावरण संरक्षणसम्बन्धीका कार्यक्रम सञ्चालन गर्ने संस्थाको उद्देश्य रहेको जनाइएको छ ।

सोही समारोहमा रु ५१ हजार प्रदान गरी नरेन्द्र खतिवडाले संरक्षण सदस्य र रु २५–२५ हजार रुपियाँ नगद प्रदान गरी श्याम ढकाल र कवि कटवालले विशिष्ट सदस्यको प्रमाणपत्र लिए । भोजपुरमा जन्मिएर काठमाडौँ बस्दै आएका सीताराम ढकालको ७७ वर्षको उमेरमा गत पुसमा निधन भएको थियो ।

सोही समारोहमा साहित्यकार बिन्दु अधिकारी ‘ढकाल’ले पिताको सम्झनामा ‘बालकृष्ण अधिकारी सिर्जनशील साहित्य पुरस्कार’ स्थापनाको घोषणा गरिन् । हरेक वर्ष साहित्यकारलाई सोही कार्यक्रममा वितरण गर्ने गरी उक्त पुरस्कार घोषणा गरिएको हो । अधिकारीले आफ्नो पुस्तक ‘बिन्दुहरु’ र ‘मावली दिदी’ को बिक्रीबाट आएको रकम रु दुई लाखको कोष स्थापना गरी आएको व्याज रकमबाट पुरस्कार प्रदान गरिने जानकारी दिइन् । 

कार्यक्रममा पूर्वमन्त्री टङ्क ढकाल, शङ्कर कोइराला, फाउन्डेसनका अध्यक्ष विश्वमणि गौतमलगायतले स्व सीताराम ढकालको सामाजिक योगदानको चर्चा गरेका थिए । 

Advertisement

Advertisement