अन्तर्राष्ट्रियमा पाँचौ पटकसम्म असफल बुद्ध एयर नयाँ गन्तव्य ताक्दै, सफल होला अयोध्या उडान ?

Advertisement

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयर आन्तरिक उडानमा सफल र जहाज उडाएरै  नाफा कमाउन सकेको वायुसेवा कम्पनी हो । २३ वर्षको उडान इतिहासमा बुद्ध एयर सहरी क्षेत्रका विमानस्थल अर्थात सुगम गन्तव्यमा मात्रै उडान गर्दै आएको वायुसेवा पनि हो । यसले अरु आन्तरिक वायुसेवाको तुलनामा यात्रु क्षमताका हिसावले ठूलो एटीआर ७२ नामक जहाज प्रयोग गरिरहेको छ । यो वायुसेवालाई विश्व बैंकको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले समेत सस्तो व्याजदरमा ऋण पत्याएको वायुसेवा हो ।

आन्तरिक उडानमा १४ वटा जहाज उडाइरहेको यो वायुसेवाले ११  सय कर्मचारीलाई रोजगारीसमेत दिइरहेको छ । यो वायुसेवाभारत आन्तरिक उडानमा अब्बलसेवा दिनुका साथै एक दशक अगाडि देखि नै पटकपटक अन्तर्राष्ट्रियमा नियमित उडानको प्रयास गरिरहेको छ । तर, सफल भने हुन सकिरहेको छैन् । यो वायुसेवाको व्यवस्थापन र अन्तर्राष्ट्रिय स्तरमा भएको विश्वासले अन्तरदेशीय उडानमा पनि अब्बल नै हुनुपर्ने भएपनि एकपछि र्ओ गन्तव्य असफल हुँदै गएको छ ।

Advertisement

यो वायुसेवाले एक दशक अगाडि नै भुटानको पारोमा चार्टर्ड उडान सुरु गरेको थियो । उक्त उडान ६ महिनामात्रै संचालन भएर बन्द भयो । त्यसपछि भारतको वनारस उडान सुरु गर्यो । वनारसपनि केही समय उडान गरेर बन्द भएको भएपनि पुनः प्रवद्र्धन गरेर र काठमाडौंको पशुपतिनाथ र वनारसकै विश्वनाथ, सारनाथ, गंगामा आरतिसहिका प्याकेजलाई प्रवद्र्धन गरेर यो वायुसेवाले जसोतसो यसमा भने उडान चलाइरहेको थियो । कोरोना महामारीपछि यो गन्तव्य पनि बन्द छ।

यस अघि भारतको लखनउ, दिल्ली, कोलकाता उडान गरेर ६ महिना पनि टिकाउन नसकेको बुद्ध एयर फेरि नयाँ गन्तव्यको तयारीमा छन् । बुद्धले काठमाडौंबाट भुटनको एक र भारतका चारवटा गन्तव्यमा उडान अभ्यास गरिसकेको भएपनि अब फेरि मार्च २०२२ देखि भारतकै नयाँ गन्तव्य अयोध्यामा उडान गर्दै छ ।

बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतका अनुसार भारतले अयोध्यामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएर आगामी जनावरी २०२२ मा सुरुवात गर्दै छ । त्यसपछि पहिलो अन्तर्राष्ट्रिय उडान नै बुद्ध एयरले जनकपुरदेखि अयोध्यासम्म गर्ने भएको छ । यसको तयारी गर्दा र उडान सुरुवात गर्न मार्च लाग्ने अनुमान गरिएको  र सोही अनुसार रणनीति बनाइरहेको पनि बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार अन्तर्राट्रिय उडानमा बुद्ध एयरले प्रयास गर्दै गएको छ । यस अघि सुरु गरेको उडानमा नाफा हुन सकेन र बन्द गर्नुपर्यो । भारतको दिल्लीमा उडान सुरुगर्दा त ६ महिना भित्रमा नाफामा गयो र उडान सञ्चालन अपेच्छा अनुसार हुँदै गयो भने वोइङ वा एयरवसमध्ये एउटाको न्यारोवडि जहाज ल्याएरै सञ्चालन गर्ने उद्घोष सार्वजनिक कार्यक्रम गरेरै गरिएको थियो । अपेच्छा अनुसार उडान भएन र एटीआर ७२ नामकको ७२ सिट पनि पूर्ण क्षमतामा प्रयोग नभएपछि बाध्य भएर उडान बन्द गर्नुपरेको जानकारी बस्नेतले दिए ।

‘अब जनकपुरबाट अयोध्या राम जानकीसँग जोडिएको गन्तव्य भएकोले धार्मिक पर्यटक मारामार हुन्छ भन्ने विश्वास छ’, बस्नेत भन्छन्, ‘हामीले गरेको अपेच्छा अनुसार उडान भयो भने जहाज थप गर्दै उडान तालिका पनि बढाउँदै जानुपर्छ ।’ आगामी मे १५ मा आउने एक नयाँ एटीआर ७२ यही गन्तव्यलाई दृष्टिगत गरेर आउन लागेको पनि बुद्ध एयरका प्रवन्ध निर्देशक बस्नेत बताउँछन् ।

बस्नेत भन्छन्, ‘अपेच्छा अनुसार उडान कति हुन्छ, कतिवटा जहाज  र चालक दल तयार बनानुपर्छ भनेर यसको उडान सुरु भएपछि मात्रै अनुमान गर्न सकिन्छ । सुरुमा राम्रो हुन्छ भनेर उडान गर्ने हो फाइदामा नै नगए त कसरी अगाडि बढ्न सकिन्छ र ?’ उनले भने ।

यो वायुसेवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्यहाँबाट उडान गर्ने गरी अन्तर्राष्ट्रिय उडानको पनि तयारी गरेको छ । व्यापार गरेपछि नाफामा जानुपर्छ । त्यसैले यसअघि अन्तर्राट्रिय गन्तव्यमा घाटा भएको ठाउँलाई निरन्तरता दिन नसकिएको हो ।

विदेशी पर्यटक आउने ग्यारेन्टीपछि मात्रै दुर्गम उडान

अहिले कोरोना महामारीपछि विदेशी पर्यटक आउने टुंगो नभएको यसका दीर्घकालिन उडान योजना पछाडि पर्न सक्ने भएका छन् । सन् २०२२ को सेम्टेम्बरबाट दुर्गम क्षेत्रमा उडान गर्ने गरी तयारी गरेको भएपनि विदशी पर्यटक आउने ग्यारेन्टी नभएसम्म उडान सुरु हुन नसक्ने बरु केही समय ढिलो गरेर उडान सञ्चालन गर्ने गरी योजना बनिरहेको पनि बस्नेतले प्रादेशिक उडान विस्तारको लागि अयोजना गरेको एक कार्यक्रमार्फत जानकारी दिएका छन् ।

यो वायुसेवाले सुगम क्षेत्रमा उडान सुरु गरेको दुई दशक पार गरेपछि अब दुर्गममा पनि जानुपर्छ भनेर योजना आगाडि सारेको हो । यसका लागि यो वायुसेवाले रामेछापको मन्थली र कास्कीको पोखरा विमानस्थललाई आधार बनाएर उडान गर्ने तयारीमा छ ।

यो उडानका लागि यो बुद्धकै भगिनि एयरलाइन्स यशोधरा एयरलाइन्स पनि दर्ता गरिसकेको छ । यो वायुसेवाले हाल तारा एयरले जस्तै ट्वीनअटर वा स्काई कुरियर नामका जहाज ल्याएर उडान गर्ने भएको छ । यसैका लागि विदेशी पर्यटक आउने ग्यारेन्टी हुनुपर्ने भनाइ बुद्ध एयरको छ ।

अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा रुची देखाउँदै आन्तरिक वायुसेवा
आन्तरिक उडानको अर्को वायुसेवा यती एयरलाइन्स पनि अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा जाँदै छ । यो वायुसेवाले पर्यटन मन्त्रालयबाट अनुमति लिइसकेको र हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिने तयारीमा छ ।

यसले उडान अनुमतिका लागि वनारसमा परीक्षण उडानसमेत गरिसकेकोले आवश्यक कागजान पूरा गरेर अनुमति पाउने चरणमा रहेको यती एयरका सीईओ अनोज रिमालले बताए । यसले पनि काठमाडौंबाट दक्षिण एसियाली मुलुकमा चार्टर्ड उडान गर्ने तयारी गरेको छ ।

यस्तै आन्तरिक उडानको अर्को वायुसेवा कम्पनी श्री एयरलाइन्सले पनि अन्तर्राष्ट्रिय चार्टर्ड उडानको अनुमति पाएको छ । सो अनुमतिलाई भने यो वायुसेवाले कोभिड सुरु भएपछि स्वास्थ्य सामाग्री ल्याउने प्रयोजनमा प्रयोग गरेको थियो ।

यो वायुसेवाले अन्तर्राष्ट्रियमा नियमित उडानको अनुमति मागेको छ । यसले पनि काठमाडौंबाट भारतीय पर्यटकलाई दृष्टिगत गरेर भारतका विभिन्न सहरमा उडान गर्ने गरी योजना बनाइरहेको छ । कोरोना महामारीका कारण पर्यटकीय गतिविधि सुस्त भएकोले अहिले वायुसेवाका योजनालाई पनि प्रभावित बनाएको छ । 
 

Advertisement

Advertisement