काठमाडौँमा लकडाउनः बैंक तथा वित्तीय संस्था भने खुल्ने, के-के गर्न पाइन्छ/के पाइदैन ?

काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ । 

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो । आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइने छैन ।  

आदेशानुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन । 

विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । विवाहमा जाँदा ब्यानरसहित दुई वटा मात्रै गाडी प्रयोग गर्नुपर्ने छ । विवाहमा जाँदा जिल्ला वा अन्तर जिल्लाका लागि पास नचाहिने तर पार्टी प्यालेस प्रयोग गर्दा भने अनिवार्य पास चाहिने छ । 

विवाह व्रतबन्धमा सहभागी भई अन्य जिल्लाबाट फर्कनुपर्दा चालकसहित बढीमा सात जनासम्मका लागि स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने छ । मृत्यु संस्कार वा बिरामी कुरुवाका रूपमा  अन्य जिल्ला जानुपर्दा विवरण खुल्ने कागजात (निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिस) सहित प्रशासन कार्यालयबाट पास लिनुपर्ने व्यवस्था गरिएको छ ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ । सोही अधिकार प्रयोग गरी उपत्यकामा आजदेखि लागू गरिएको आदेश यही २२ गते राति १२ बजेसम्म जारी रहने छ । यस्तै अन्य दर्जन बढी जिल्लामा पनि यसैगरी आदेश जारी भएको छ । 

उक्त अवधिमा अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन उपत्यकामा प्रवेश पाउने छैन ।

सरकारी कार्यालयलगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिई सवारी साधन प्रयोग गर्न पाइने छ । विकास निर्माण कार्यमा चाहिने मजदुर र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा पास लिएर चलाउनु पर्ने छ । यस्तै खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसाय बाहेकका व्यवसाय बन्द गरिएको छ ।  खाद्य सामग्री पसल, ग्रोसरी कक्ष बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म चल्न पाइने छ तर तोकेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने हुन्छ ।

सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था बीमा र सहकारीलगायत राष्ट्र बैँकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने संस्थामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने, काठमाडौँ उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्यरूपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । पत्रकारको हकमा सूचना विभाग, पत्रकार महासङ्घ र स्वयं सञ्चार संस्थाले जारी गरेको प्रेस परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने छ ।
 
यसैबीच सरकारले नेपाल सिमाना जोडिएका छिमेकी मुलुकका नागरिकबाहेक अन्य देशका नागरिकलाई स्थलमार्गबाट हुने आवागमन स्थगन गरेको छ । स्थलमार्गबाट नेपाल आउनुपर्ने भारतीय र चिनियाँ नागरिकलाई निजले यात्रा गर्नुअघि स्वाब सङ्कलन भएको ७२ घन्टाभित्रको कोभिड-१९ नेगेटिभ तथा १० दिन अनिवार्यरूपमा होटेल क्वारेन्टिनमा बस्ने गरी होटेल बुक गरेको प्रमाण पेश गरेको आधारमा स्थानीय प्रशासनको अनुमतिमा नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ ।

हवाई मार्गबाट नेपाल प्रवेश गर्ने नागरिकले पनि उक्त मापदण्ड पालना गर्नुपर्नेछ । उनीहरुले १० दिन अनिवार्य होटेल वा होम क्वारेन्टिनममा बस्नुपर्नेछ ।

निषेधाज्ञामा नियमित उडान

यसैबीच, काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न जिल्लामा बिहीबारदेखि निषेधाज्ञा लागू हुँदैछ । निषेधाज्ञाकैबीच आन्तरिक तथा अन्तरराष्ट्रिय उडान नियमित हुनेभएको छ । 

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निषेधाज्ञा लागू गरिएका अवस्थामा पनि दुवैतर्फका उडान नियमित हुने जनाएको छ । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले निषेधाज्ञा लागू हुने बिहीबारदेखि आन्तरिक र अन्तरराष्ट्रिय उडान नियमित सञ्चालन गरिने जानकारी दिए । विमानस्थलसम्म जाने यात्रु तथा एयरलाइन्सका कर्मचारीको सहज आवागमनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरिएको क्यानको भनाइ छ । आन्तरिक उडान नियमित हुने भए पनि निषेधाज्ञाअघिको तुलनामा यात्रुको सङ्ख्या कम हुने प्रवक्ता क्षेत्रीले बताए ।

तथापि निषेधाज्ञाको नराम्ररी असर आन्तरिक हवाई उडानमा परेको छ । निषेधाज्ञा हुने अघिल्ला दुईदेखि तीन दिनमा वायुसेवा प्रदायक कम्पनीले उडान सङ्ख्या थपेर यात्रुलाई गन्तव्यमा पुर्याउन ब्यस्त रहे । यसबीचमा काठमाडौँ बाहिरिने र भित्रिने हवाई यात्रु पनि ह्वात्तै बढेका छन् । यात्रुको सुविधालाई मध्यनजर गर्दै अधिक सङ्ख्यामा उडान थपिएको एयरलाइन्सले जनाएका छन् ।

आन्तरिक उडानका ठूला हवाई सेवा प्रदायक कम्पनीहरु बुद्ध एयर, यती एयलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीलाई यात्रु ओसार्ने चटारो परेको छ । यात्रुको चाप बढेपछि वायुसेवा कम्पनीले उडान थपेका छन् । बुद्धले आज २२ र मङ्गलबार २० तथा यतीले पाँच उडान थपेको थियो । हिजो पनि सोही हाराहारीमा उडान थपिएको कम्पनीले जनाएका छन् । बुद्ध एयरले हिजो १५० उडानमार्फत झण्डै आठ हजार यात्रु गन्तव्यमा पु¥याएको छ । सो कम्पनीले मङ्गलबार मात्रै देशका विभिन्न गन्तव्यमा आगमन र प्रस्थान दुवैगरी १४८ वटा उडान गरेको छ । ती उडानबाट सात हजार ५०० सयभन्दा बढी यात्रु उडेका छन् ।

बुद्धले बिहीबारका लागि १०० हाराहारी उडान गर्ने र ती उडानका लागि करिब चार हजार यात्रुले बुकिङ्ग गरेको जनाएको छ । कम्पनीका सूचना अधिकारी दीपेन्द्र कर्णले निषेधाज्ञा अघिको तुलनामा कम सङ्ख्यामा उडान हुने बताए । उडान सञ्चालन भए पनि विमानस्थलसम्म पुग्ने र फर्कनेका लागि के कस्तो व्यवस्था हुन्छ भन्ने अझै अन्यौलता रहेको बताए । 

यती एयरलाइन्सले हिजो आगमन र प्रस्थान दुवैगरी ७६ उडान गरेको छ । उक्त उडानबाट चार हजार १०० यात्रुले सेवा लिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यतीले बिहीबार २७ उडान निर्धारण गरेको छ । कम्पनीले मङ्गलबार ७० उडान गरेको थियो । तीन हजारभन्दा बढी यात्रुले सेवा लिएका छन् ।

निषेधाज्ञा लागू भए पनि आन्तरिक उडान नरोक्ने सरकारको निर्णय अनुरुप एयरलाइन्सले उडान नियमित सञ्चालन गर्नेछन् । यसबीचमा यात्रुको सङ्ख्या भने न्यून रहेको कम्पनीको भनाइ छ । हवाई कम्पनीले स्वास्थ्य प्रोटोकल पालना गरेर उडान नियमित गर्ने जनाएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् । अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान गर्दै आएकामा कोभिड महामारीकै बीच अहिले २० वायुसेवा प्रदायकले अन्तरराष्ट्रिय उडान गरिरहेका छन् ।

सुरक्षित हवाई यात्राका लागि अपिल
यसैबीच, वायु सेवा सञ्चालकहरुको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घ, नेपालले कोभिड महामारीको विषम परिस्थितिमा हवाई यात्रा सुरक्षित नै हुने हुदाँ सम्पूर्ण यात्रुमा सुरक्षा मापदण्डको पूर्ण पालना गर्नेगरी हवाई यात्राका लागि अपिल गरेको छ ।

सङ्घले बुधबार एक विज्ञप्ति जारी गर्दै सदस्य वायुसेवा कम्पनीहरुले सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवं नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमोदित कोभिडसम्बन्धी ‘स्टान्डर्ड अपरेटिं प्रसिउडर’ को पूर्णरुपमा पालना गर्नेगरी यात्रुलाई सेवा उपलब्ध गराउने  प्रतिबद्धतासमेत जनाएको छ ।

मन्त्रिपरिषद्को वैशाख १३ गतेको निर्णयअनुसार आन्तरिक हवाई उडान वायुसेवा कम्पनीहरुले यथावतरुपमा हवाई सेवा सञ्चालन भइनै राख्ने निर्णय गरेको सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताए । । अहिलेको असहज परिस्थितिमा हवाई यात्रा सुरक्षित रहेको र स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरेर सेवा प्रदान गरिने उनले उल्लेख गरे ।