नेप्सेको टीएमएस प्रणाली आईएमई समूहले सञ्चालन गर्न थाल्यो, नयाँ सफ्टवयर किन्ने तयारी

Advertisement

काठमाडौं । व्यवसायिक समूह आईएमई, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को अनलाइन प्रणाली व्यवस्थापनमा संलग्न हुन थालेको छ । यसअघि पुमोरी कम्पनीअन्तर्गतको वाईको प्रालिले नेप्सेको अनलाइन सिस्टम सञ्चालन गर्दै आएकोमा हालसालै वाईको सोलुशन प्रालि नामक नयाँ कम्पनीमार्फत नेप्सेको प्रणाली सञ्चालन गर्न थालिएको छ । 

यसअघि वाईको कार्यालय जावलाखेलमा रहेकोमा त्यहाँका प्राविधिक कर्मचारीहरूलाई पानीपोखरीस्थित आईएमई समूहकै कार्यालयमा सारेर काम लगाउन थालिएको छ । त्यहाँबाट उनीहरूले नेप्सेको अनलाइन प्रणाली ह्याण्डल गर्दै आएका छन् । 

Advertisement

नेप्सेले अनलाइन कारोबारका लागि अहिले सञ्चालन गरेको टीएमएस प्रणाली वाईकोले बनाएको हो । उक्त प्रणाली तयार गर्ने प्राविधिक कर्मचारीहरूलाई नै आईएमईले वाईको सोलुशन नामक कम्पनी खडा गरी सरुवा गरेको छ । ती कर्मचारीहरूलाई अब सोही कम्पनीले नै तलब दिने र सञ्चय कोष जम्मा गरिदिने छ ।

नेपालको दोस्रो स्टक एक्सचेन्ज सञ्चालन गर्न पहिलेदेखि चासो दिँदै आएको आईएमई समूहले टीएमएस सञ्चालन गर्न थाल्नु अर्थपूर्ण देखिन्छ । वाईको सोलुशनमा आर्ईएमई समूहबाहेक अन्य केही स्टक ब्रोकर कम्पनीको पनि संलग्नता देखिन्छ । आईएमईले हालको टीएमएस सिस्टम विस्थापन गरी भारत वा बंगलादेशबाट नयाँ सफ्टवयर खरीद गर्ने योजनासमेत बनाएको छ । 

अहिलेसम्म टीएमएस नेप्सेकै सम्पत्ति भए पनि यसको प्राविधिक सञ्चालन वाईकोले गर्दै आएको थियो । अहिले एकाएक आईएमई समूह प्रवेश गरेको हो । आईएमई स्रोतले टीएमएसको सम्पूर्ण पक्ष नभई ब्रोकर पक्षको डाटा ह्याण्डल मात्रै आईएमईले गर्ने दाबी गरे । नेप्से स्रोतले भने टीएमएसको सम्पूर्ण प्रणाली अब वाईको सोलुसनमार्फत सञ्चालन र नियन्त्रण हुन्छ । 

दोस्रो स्टक एक्सचेन्ज सञ्चालन गर्ने पूर्वतयारीको रुपमा आईएमईले टीएमएस प्रणालीको सञ्चालनमा आफ्नो संलग्नता गराएको हो ? भनी सोधिएको प्रश्नलाई आईएमई स्रोतले अस्वीकार गरेन । आईएमई समूहले वाईको सोलुसनको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सीडीएस एण्ड क्लियरिङ लिमिटेडका पूर्वसीईओ देवप्रकाश गुप्तालाई नियुक्त गरिसकेको छ । 

स्रोतका अनुसार नेप्सेको टीएमएसमा विज्ञता र अनुभव हासिल गरेर दोस्रो स्टक एक्सचेन्ज सञ्चालन आफूले गर्ने आईएमई समूहले योजना रहेको छ । आईएमईले अहिले नै इन्ट्राडे ट्रेडिङलगायतका कामसमेत सुरु गर्ने योजनासमेत बनाएको छ । 

Advertisement

Advertisement