Advertisement

काठमाडौं । निषेधाज्ञाको कारण देखाउँदै राजधानीस्थित बल्खु चोकमा खाद्यान बोकेका सवारी साधन रोकिएपछि व्यवसायी र  चालकहरू आक्रोसित भएका छन् । निषेधाज्ञामा अत्यावश्यक सामानहरूको ढुवानीलाई नरोक्ने स्थानीय प्रशासनले बताए पनि प्रहरीले रोकेपछि उनीहरू आक्रोसित भएका हुन् । 

बिहीबार बिहानैदेखि लामो तथा छोटो दूरीका खाद्यान सामग्री बोकेको गाडि बिना कारण रोक्ने काम भएको चालक र व्यवसायीहरूको गुनासो छ । बल्खु चोकमा चालकहरूको ठूलो समूह जम्मा भएर प्रहरीसँग प्रतिवाद गर्दैथिए । प्रहरीले भने उनीहरूलाई सडक किनारतर्फ धकेल्दै थियो । चालकहरूले आफूहरूलाई गन्तव्यमा जान दिन आग्रह गर्दा पनि सुनुवाई नभएको बताए । 

Advertisement

खाद्यानको गाडि किन रोकेको ? भन्दा कोही जवाफ नदिने तर रोकी मात्र रहने कुराले आफूहरू मारमा परेको भन्दै बाराको निजगढस्थित रतनपूरका चालक प्रशान्त लामाले बताए ।  उनले बट्टाईको अण्डा बोकेर चितवन जानलागेको आफ्नो गाडि किन रोकियो ? भनी प्रश्न गरे । उनले भने, ‘गाडीमा बट्टाईको अण्डा बोकेर म चितवन जान लागेको हो । तर मलाई बल्खुमै प्रहरीले रोके । सरकारले अत्यावश्यक सेवाको गाडि नरोक्ने भनेको थियो । अरु गाडिहरू चलिरहेको छ । हामीलाई मात्र किन रोकियो ?’ लामाले आफूहरू मात्र नभई अन्य चालकहरूले सडकमा खाद्यानको गाडि गुडाईरहेको पनि सुनाए । 

त्यस्तै, खाद्यान्न बोक्ने अर्का चालकले आफूहरू लामो समयदेखि थुनिएको बताए । लामो समयदेखि रोकेर राख्दा आफूहरू भोकै परेको भन्दै उनले अत्यावश्यक सेवाका गाडि चलाउने र चालकलाई दुःख दिने कुरा गलत भएको बताए । चालककै भीडबाट मलिन स्वरमा बोल्दै अर्का चालकले भने, ‘हामीलाई पनि कोरोना महामारीको बारेमा जानकारी नै छ । त्यसबाट हामी आफै त्रसित छौं । यस्तो बेलामा अत्यावश्यक सामान ढुवानी गर्ने सवारी साधन नरोक्न सरकारले निर्देशन पनि दिएको छ । तर हामीलाई महामारीको समयमा हामीलाई नचाहिंदो तनाव दिएर...।’

अत्यावश्यक सामग्री बोक्ने सवारी साधनलाई नरोक्ने सरकार आफैले निर्णय गरेर दिनभरी भोकै पार्नेगरी गाडिहरू रोक्ने कुरा अन्यायपूर्ण भएको चालक तथा खाद्यान्न आपूर्ति गर्ने व्यवसायीको भनाई छ । उनीहरूले महामारीको समयमा सरकारले जनतालाई दुःख दिने गरेको भन्दै आक्रोस पोखे । 

Advertisement

Advertisement