उडान कटौती गर्दै वायुसेवा, चार गुणासम्म भाडा घटाउँदा पनि हेलिलाई यात्रु अभाव

Advertisement

काठमाडौं । यात्रु आउन असहज भएको र अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कने भएकोले आन्तरिक उडानका यात्रु पनि निषेधाज्ञाका कारण घट्न थालेका छन् । निषेधाज्ञा लाग्नु अघिल्लो दिन बुधबार वैशाख १५ मा एकैदिन १४७ उडान र त्यतिनै संख्यामा अवतरण भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहीबार नै ४२ वटा उडान कटौती भएको छ । विहीबारका लागि जम्मा १०५ वटा उडान तालिका सम्बन्धित वायुसेवाले स्वीकृति गराएकामा कति उडान भयो भन्ने विवरण भने साँझ मात्रै अद्यावधिक हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विहीबारदेखिको निषेधाज्ञामा स्थलमार्गका सवारीसाधामार्फ यात्रु सेवा बन्द भएको छ । तर, हवाई सेवा भने सञ्चालनमै रहेको छ । विमानस्थल कार्यालयका अनुसार ११ चैत २०७६ मा सुरु भएको बन्दाबन्दीपछि सबैभन्दा बढी उडान तथा अवतरण बुधबार नै भएको थियो ।

Advertisement

बुधबार विमानस्थल कार्यालयको आन्तरिक टर्मिनल भवनले मात्रै १५ हजार २६४ जना हवाई यात्रुलाई सेवा दिएको छ । विमानस्थल कार्यालयका अनुसार आज विहीबारबाट निषेधाज्ञा लागू हुने भएकोले सो भन्दा अगाडि नै गन्तव्यमा पुगिहाल्न गरेको प्रयासका कारण हिजो सबैभन्दा धेरै भिड विमानस्थलको आन्तरिक उडानमा भएको थियो । उक्त भिड आजबाट क्रमशः घट्दै जान थालेको छ ।

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलका अनुसार निषेधाज्ञाले यात्रु घट्न थालेका छन् । यात्रुलाई हिडडुल गर्न समस्या भएको, अत्यावश्यक नपरी बाहिर ननिस्कने र निषेधाज्ञा अगाडि नै उपत्यका छोडेर बाहिरका नेपाली आफ्ना घरपरिवारमा पुग्न गरेको हतारोले हिजो धेरै उडान भएको देखिएको कँडेल बताउँछन् । उनले भने ‘आज विहीबारबाट यात्रु घट्न थालेका छन् । आज नै वायुसेवाले करिब ३० प्रतिशतले उडान कटौति गरेका छन् भने यात्रुको संख्या पनि ६० प्रतिशतसम्मले नै घटिसकेको कँडेलले बताए । उनका अनुसार अब भोलिबाटै वायुसेवाले आफ्ना दैनिक उडान कटौति गर्दै जाने र कम्तिमा एउटा गन्तव्यमा एक उडानसम्मको सेवालाई सुचारू गर्नेसम्मको नीति लिइसकेको छन् ।

भोलि र पर्सि केही वायुसेवाले यात्रु पाउने तथा आन्तरिक गन्तव्यमा जाने यात्रु भएपनि त्यसपछि भने ७० प्रतिशतभन्दा बढीले उडान कटौति गर्नुपर्ने अवस्था रहेको पनि वायुसेवा सञ्चालक संघको भनाइ छ । संघका अनुसार अहिले नै काठमाडौंबाट बाहिरिने यात्रु भएपनि बाहिरबाट आउनेको गति भने एकदमै न्यून छ । जसका कारण बाहिरबाट आउँदा वायुसेवा कम्पनीले इन्धन शुल्क धान्ने गरी सस्तो भाडा लिएरपनि यात्रु ल्याउन थालेको संघको भनाइ छ ।

चारगुणासम्म भाडा घटाउँदा पनि हेलिलाई यात्रु अभाव
विदेशी पर्यटक नआएका कारण सञ्चालन खर्च जोहो गर्नकै लागि भएपनि हेलिकप्टर कम्पनीले भाडा घटाएर उडान गरेका छन् । चैत २०७६ देखि सुरु भएको बन्दाबन्दी पछि विदेशी पर्यटक नआउँदा थलिएका हेलिकप्टर कम्पनी फेरि सुरु भएको निषेधाज्ञाले अझै कमजोर हुने हेलिकप्टर सोसाइटी आफ नेपालका महासचिवसमेत रहेका कँडेलले बताए ।

उनले भने ‘हेलिकप्टरले २००० अमेरिकी डलर प्रतिघण्टाको भाडालाई घटाएर ५०० डलर प्रतिघण्टासम्म ल्याएको भएपनि यात्रु अभावै रहेको छ ।’ धेरै भाडा घटाएर प्रतिस्पर्धा गर्दा पनि हवाई सुरक्षामा जोखिम हुन सक्ने भन्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टिकरण नै सोधेपछि भने हेलिकप्टर कम्पनीले हेलि थन्काएर राखेका छन ।’ तर सञ्चालन खर्च नै नधान्ने गरी उडान भने नगरेको बुझाई शर्माको छ ।

हाल पर्वतारोहण सिजन भएकोले केही हेलिले भने काम पाइरहेका छन् । केहीले डोरीमा झुन्डाएर गरिने उडान (सिलिङ अपरेसन), उद्धार उडान पाएका छन । समग्रमा सत प्रतिशत उडान हुने या वेला बढीमा २५ प्रतिशत मात्रै उडान भएको छ । बाँकी सयम र हेलिकप्टर थन्किएरै बसेको पनि संघका भनाइ छ ।

पछिल्लो समय सहरी क्षेत्रका विमानस्थलमा हवाई यात्रु उल्लेखय बढेको हुँदा सुगम क्षेत्रमा उडान गर्ने वायुसेवा घाटामा नै जानु नपरेको अवस्था भएपनि अब भने फेरि समस्या हुनसक्ने बुझाई कँडेलको छ ।

आन्तरिक उडानका हवाई जहाज पछिल्लो दुई महिनामा सहरी क्षेत्रका विमानस्थल घाटामा थिएन् भने ती वायुसेवाले जसोतसो सन्चालन खर्च धानेको भएपनि अब फेरि सुरु भएको निषेधाज्ञाले वायुसेवालाई समस्या पर्ने बुझाई पनि संघको छ ।

मापदण्ड पालना नगरे उडान रोक्ने चेतावनी
यस्तै विहीबारदेखि सुरु भएको निषेधाज्ञाकाबीच पनि हवाई उडान खुला भइरहेको तर सार्वजनिक यातायात भने बन्द भएको विषयमा गुनासो बढेको छ । गुनासोकै बीच आन्तरिक उडान भने सूचारु नै छ ।

आन्तरिक उडानको व्यवस्थापन र जनस्वास्थ्यका मापदण्ड पालना भए नभएको विषयमा विहीबार कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले त्रिभुवन विमानस्थलको स्थलगत अनुगमन गरेको छ । सीसीएमसीले तोकिएको मापदण्ड पालना नगरे आन्तरिक हवाई उडान रोक्ने चेतावनी दिएर फर्किको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमानस्थल कार्यालयका अनुसार तोकिएका सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न अनुरोध भएको छ । विमानस्थलबाट कोभिड सर्ने सम्भावना भयो भयो र गुनासो आएको अवस्थामा उडान बन्द हुने चेतावनी पनि सीसीएमसीले दिएको उल्लेख छ । 

Advertisement

Advertisement