प्रचण्डको भर पर्दा रंगशाला अलपत्र परेपछि धुर्मुसले उपप्रम पोखरेललाई भेटेर सहयोग मागे

Advertisement

काठमाडौं । चितवनमा क्रिकेट रंगशाला बनाइरहेका कलाकार धुर्मुस (सीताराम कट्टेल)ले बिहीबार उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेटेर रंगशाला निर्माणको लागि सहयोगको आग्रह गरे । 

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निकट रहेर उनकै आडबलमा रंगशाला सम्पन्न गर्ने सपना देखेका धुर्मुसले प्रचण्डकै कारण रंगशाला अलपत्र पर्ने अवस्था आएपछि नेकपा एमालेका नेता एवं उपप्रधानमन्त्री पोखरेललाई भेटेका हुन् । 

Advertisement

धुर्मुसले प्रधानमन्त्री केपी ओलीलाई नै भेटेर समस्या दुर्साउन खोजे पनि प्रधानमन्त्रीले कार्यव्यवस्तताको कारण देखाउँदै समय नदिएपछि पोखरेललाई भेटेका हुन् । धर्मुसले रंगशाला बनाइरहेको ठाउँ प्रचण्डको निर्वाचन क्षेत्र हो । प्रचण्ड र उनकी पुत्री रेणुसँग निकटसम्वन्धका कारण अपेक्षाकृत सहयोग जुट्न नसकेपछि र सहयोगको घोषणा गरेकाहरूले समेत पैसा नदिएपछि धुर्मुस समस्यामा परेका थिए । 

यता प्रचण्ड र रेणुले भने धुर्मुस–सुन्तली फाउडेशनले बनाइरहेको क्रिकेट रंगशालालाई आफूहरूको कार्यप्रगतिको रुपमा प्रस्तुत गर्दै आएका थिए । उनीहरूले यसलाई प्रयास गर्न थालेपछि काँग्रेस र एमालेनिकटहरूले धुर्मुसलाई सहयोग गर्न छोड्दै आएका थिए । 

उपप्रधानमन्त्री पोखरेलसँगको भेटमा उनले रंगशाला निर्माणका क्रममा आफू १३ करोड रुपियाँ ऋणमा डुबेको बताउँदै सहयोगको आग्रह गरेका थिए । अहिलेसम्म दाताबाट ३३ करोड रुपियाँ संकलन भएको र ४६ करोड रुपियाँ खर्च भइसकेको उनले जानकारी दिएका थिए । 

कुराकानीका क्रममा धुर्मुस निकै भाबुक भएका थिए । आफू राज्यलाई सघाउने अभियन्ता भएको बताउँदै धुर्मुसले तर टुहुरो जस्तो भएको बताएका थिए । पोखरेलले भेट्न समय दिएकोमा उनले आफूलाई बल्ल सरकार छ, राज्य छ भन्ने महशुस भएको भन्दै भने, ‘हामीेले निकै पीडा भोग्यौं । धेरैपटक बुढाबुढी रोएका छौं ।’

रकमको जोहो भए छ महिनादेखि एक बर्षसम्ममा क्रिकेट रंगशाला तयार हुने धुर्मुसको दाबी छ । अन्तर्राष्ट्रियस्तरको सबै मापदण्ड पालना गरेर रंगशाला निर्माण गरिरहेका उनले बताए । 

उपप्रधानमन्त्री पोखरेलले प्रसंशनीय काम गरेको भन्दै धुर्मस र सुन्तलीको प्रसंशा गरेका थिए । उनले राज्यका तर्फबाट रंगशालालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 

Advertisement

Advertisement