डलर आम्दानीको योगदानमा पर्यटन क्षेत्र चुक्यो, निषेधाज्ञाले डलर संचितमा कस्तो असर पर्ला ?

काठमाडौं । एक बर्ष देखि विदेशी पर्यटक नआउदा पर्यटन क्षेत्रबाट हुने डलर आम्दानी करिब ठप्प छ । नेपाल आएका विदेशीले गर्ने खर्च र पर्यटकीय सेवाप्रदायकले दिने सेवाका आधारमा डलर आम्दानी हुने गरेका छन् । पर्यटकीय संस्थाले गरेको आम्दानीको योगदान राष्ट्रिय ढुकुटीमा पनि हुने गरेको भएपनि पछिल्लो एक वर्षदेखि यो क्षेत्रको डलर आम्दानी घटेको छ ।

पर्यटन क्षेत्र अन्तर्गतको होटल, एयरलाइन्स, ट्राभल, ट्रेकिङ, राफ्टिङ, पर्यटकीय सवारीसहितले डलर आम्दानी गर्ने गरेका थिए । यस्तो आम्दानी पर्यटक नै नआएका कारण कम भएको होटल संघ नेपाल (हान)का महासचिव साजन शाक्यले बताए । उनले भने ‘पर्यटनमा सबैभन्दा बढी लगानी होटल क्षेत्रकै भएकोले यही क्षेत्रको कारोबार बढी हुने र पर्यटकले गर्ने खर्च पनि होटलमा बसाइँमा नै बढी गर्नुपर्ने  हुन्छ । त्यसैले यो क्षेत्रबाट हुने करिब ६० प्रतिशतसम्म डलर आम्दानी हुन्छ ।’

शाक्यका अनुसार पर्यटक आउँदा सामान्य होटलमा गरिने न्यूनतम २० डलरदेखि पाँचतारेमा हुने दैनिक २०० डलरको औषत खर्च नै यो क्षेत्रको आम्दानी हो । होटल क्षेत्रले गरेको आम्दानीकै आधारमा डलर आम्दानीमा पर्यटनको योगदान सबैभन्दा बढी हुने गरेको पनि उनले बताए ।

कूल गार्हस्थ्र्य उत्पादन (जीडीपी)मा पर्यटन क्षेत्रकै योगदान जम्मा २.५/३ प्रतिशतको मात्रै योगदान हुने भएपनि अप्रत्यक्ष रूपमा हुने खर्चका आधारमा यस्तो आम्दानी अझै बढी हुने बुझाइ पनि शाक्यको छ । महमारी अगाडिसम्म समग्र पर्यटन क्षेत्रबाट हुने आम्दानी करिब ७० अर्ब रुपियाँको हुने गरेको थियो ।

८० प्रतिशतसम्म डलर भित्र्याउने वायुसेवा शून्यमा झरे
वायुसेवा कम्पनीले आफ्नो आम्दानीको करिब ८० प्रतिशतसम्म नै डलर आम्दानी गर्ने गरेको भएपनि पछिल्लो समय डलर आम्दानी करिब शून्य सरह रहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले बताउँछन । उनले भने ‘केही वर्षसम्म हेलिकप्टरको डलर आम्दानीमा योगदान ९० प्रतिशतसम्म हुने गरको थियो तर पछिल्लो समय जलविद्युत् निर्माण र नेपालीको उद्धार उडान बढेकोले १० प्रतिशत नेपाली मुद्राको योगदान बढेको छ ।

अहिले प्रत्यक्ष रूपमै हेलिकप्टरको योगदान डलर भित्र्याउनमा ८० प्रतिशत हुने गरेको थियो भने महामारीपछि ठप्पै भएको छ । कँडेलका अनुसार यो वर्ष भने पर्वतारोहणको सिजन भएकोले केही आम्दानी हुने छ भने अघिल्ला वर्षहरूको तुलनामा जस्तो पर्यटक मारामार हुने, हेलिलाई भ्याइनभ्याई हुने र डलर आम्दानी पनि  उल्लेख्य हुने अवस्था पुनः पर्यटक आगमन सुरु नभएसम्म हुँदैन् ।

कँडेल आन्तरिक उडानका वायुसेवाले पनि करिब ६० प्रतिशतको आम्दानी डलरमै गर्ने बताउँछन् । पर्वतीय उडान, पर्यटकीय गन्तव्यका विमानस्थलसहित सबैजसो गन्तव्यमा वायुसेवाले विदेशीबाट डलरमै भाडा लिने गर्छन् । जसले गर्दा विदेशी मुद्रामा आम्दानी हुने र राष्ट्रिय ढुकुटीमा पनि डलरको  योगदान बढ्ने गरेको बुझाइ संघको छ ।

वायुसेवा सञ्चालक संघका अनुसार नेपालमा पछिल्लो समय आन्तरिक उडानबाट करिब १८ अर्ब रुपियाँको कारोबार हुन थालेको थियो । यस मध्ये आधा जसो डलर आम्दानी हुने गर्दा पनि करिब नौ अर्ब रुपियाँ बराबरको आम्दानी भने डलरमै हुने गरेको थियो ।

बुद्धको मात्रै २ अबको डलर आम्दानी गुम्यो
आन्तरिक वायुसेवाको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरको मात्रै डलर आम्दानी २ अर्ब भन्दा बढीले गुमेको छ । बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतका अनुसार बार्षिक करिब २ करोड डलर अर्थात हालको नेपाली रुपियाँमा २ अर्ब ३८ करोड आम्दानी हुन थालेको थियो । कोभिडपछि विदेशी पर्यटकको आगमन कम हुँदा यस्तो डलर आम्दानी शून्यमा झर्न पुगेको छ ।

बुद्ध एयर एक्लैले बार्षिक १५ लाख भन्दा बढी यात्रुलाई सेवा दिने गरेको छ । यसमध्ये पर्वतीय उडान, पर्यटकीय क्षेत्रका विमानस्थल र बुद्धका उडान हुने सबैजसो गन्तव्यमा विदेशीले डलरमै भाडा तिर्ने गरेको यो वायुसेवाको भनाइ छ । अन्य वायुसेवाले पनि डलर भाडा लिने गरेकोले समग्रमा उड्डयन क्षेत्रबाट हुने आम्दानीको  ६० प्रतिशतको आम्दानी डलरमा हुने गरेको थियो । त्यो सबै महामारीपिछ शून्य सहर भएको छ ।

सरकारले डलर भाडा हटाउने जोड गरिरहेको छ । सरकारले वायुसेवा कम्पनी पनि माउन्टेन, लुक्ला, पोखरा, जोखसोमसहितका सिमिति गन्तव्यमा मात्रै डलर भाडा लिन दिने र अन्यमा हटाउने प्रस्ताव गरेको छ । यसमा वायुसेवाले सहमति दिएका छैनन् । 

विदेशी मुद्रा संचितिको वृद्धिदर कम
नेपालमा विदेशी मुद्रा आर्जन हुने सबैभन्दा पहिलो स्रोत रेमिटेन्स र त्यसपछि वैदेशिक व्यापार हो । यो क्षेत्रबाट भएको योगदान सबैभन्दा उल्लेख्य पनि छ । त्यसपछि पर्यटन क्षेत्रबाट पनि उल्लेख्य आम्दानी हुने गरेको भएपनि एक वर्षदेखि पर्यटन क्षेत्रको योगदान विदेशी मुद्रा आर्जनमा नहुँदा यसको संचितिको बृद्धिदर पनि कम भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् ।

ढकालका अनुसार पर्यटन क्षेत्रको योगदान नहुँदा विदेशी मुद्रा संचितिमा कुनै असर नदेखिएको हुनसक्छ तर विदेशी मुद्रा संचितिको बृद्धिदर भने कम भएको छ । ढकालले भने ‘विदेशी मुद्राको संचित बृद्धिदर अझै बढी हुने थियो कम भएको भने हुनसक्छ ।’ 

विदेशी मुद्राको संचिति कति छ ?
फागुन २०७७ असार मसान्तमा १४ खर्ब ३६ अर्ब ५४ करोड रुपियाँ बराबरको विदेशी मुद्रा संचिति नेपाल राष्ट्र बैंकसँग छ । हालको विदेशी मुद्रा संचितिले नेपाललाई एक वर्षको वस्तु तथा सेवा आयात धान्न पुग्ने बराबर मात्रै हो ।

यस्तो विदेशी मुद्रा संचिति २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रुपियाँ बराबर रहेको थियो । आर्थिक वर्ष २०७६÷७७ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.४ महिनाको वस्तु आयात र १२.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त पुग्छ ।

३४४८ संस्थालाई डलर कारोबारको अनुमति 
सरकारले फागुन २०७७ सम्ममा ३४४८ संस्थालाई डलरमा कारोबार गर्ने अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र लिएर विदेशी मुद्राको कारोबार गर्ने यस्ता संस्थाहरूमा रेमिट्यान्सको कारोबार गर्ने संस्था मात्रै ५१ वटा छन् । त्यसपछि मनि चेन्जर ३६१ वटा, होटल २३० वटा, टे«किङ १६२१, ट्राभल एजेन्सी ९६५, कार्गो कुरियर ६५ र एयरलाइन्स ७६ वटा रहेका छन् ।