एनआईसी एशिया क्यापिटलको नाफा झण्डै रु. साढे पाँच करोड

Advertisement

काठमाडौं । सञ्चालनमा आएको छोटो समयमानै अन्तर्राष्ट्रिय मान्यता (आईएसओ ९००१ः२०१५ सर्टिफिकेशन) पाएको एनआईसी एशिया क्यापिटल लिमिटेडले क्यापिटलले चालु आर्थिक बर्षको २०७७–७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

विवरणअनुसार कम्पनीले पाँच करोड ४८ लाख खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी ३६ रुपियाँ ५७ पैसा कायम गर्न सफल भएको छ । यो गत बर्षको सोही अवधिको तुलनामा ७१ प्रतिशतले बढि हो । छोटो समयमा मर्चेन्ट बैंकिङ क्षेत्रमा स्थापित भएको एनआईसी एशिया क्यापिटलले तीन वटा म्युचुअल फण्ड योजनाहरू सञ्चालन गरिरहेको छ । 

Advertisement

यस अन्तर्गत दुई वटा बन्दमुखी योजनाहरु ‘एनआईसी एशिया ग्रोथ फण्ड’ र ‘एनआईसी एशिया ब्यालेन्सड् फण्ड’ तथा एउटा खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’ संचालन गरिरहेको छ । चौथो रु. एक अर्ब बराबरको योजना ‘एनआईसी एशिया सेलेक्ट–३०’ (इन्डेक्स फण्ड) नेपाल धितोपत्र बोर्डमा अन्तिम स्वीकृतिको चरणमा रहेको कम्पनीले जानकारी दिएको छ । 

‘एनआईसी एशिया ग्रोथ फण्ड’ तथा ‘ एनआईसी एशिया ब्यालेन्सड् फण्ड’ले संचालनमा आएको पहिलो वर्षदेखि नै नगद लाभांश वितरण गर्न सफल भएको छ । ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत र दोस्रो वर्ष १२ प्रतिशत गरि हालसम्म २२ प्रतिशत लाभांश वितरण गरिसकेको छ भने ब्यालेन्सड् फण्डले संचालनमा आएको पहिलो वर्षको आठ महिनाको अवधिमै आठ प्रतिशत लाभाशं वितरण गर्न सफल भएको छ । 

उक्त लाभांश वितरण पश्चात समेत आर्थिक बर्ष २०७७–७८ को तेस्रो त्रैमासको अन्तमा ‘ एनआईसी एशिया ग्रोथ फण्ड’को खुद सम्पत्ति मूल्य १७ दशमलव ८६ र ‘एनआईसी एशिया ब्यालेन्सड् फण्ड’को खुद सम्पत्ति मूल्य १६ दशमलव ५५ तथा पहिलो खुलामुखी योजना ‘ एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’को खुद सम्पत्ति मूल्य ११ दशमलव ०९ कायम गर्न सफल भएको छ । 

कम्पनीले आर्थिक बर्ष २०७७–७८ को तेस्रो त्रैमाससम्म लगानी व्यवस्थापन सेवा अन्तर्गत ‘मेरो लगानी, मेरो भविष्य’ भन्ने मूल नाराका साथ ग्राहकमुखी तथा नवीनतम विभिन्न योजनाहरु संचालन गरी ४६६ जना ग्राहकबाट रु. एक अर्ब १५ करोड रुपियाँभन्दा बढि रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइएको जानकारी दिएको छ । हालको बजार मुल्यको आधारमा गणना गर्दा उक्त रकम रु. एक अर्ब ५४ करोड रुपियाँभन्दा बढि रहेको कम्पनीको भनाई छ जुन गत वर्षको सोही अवधिको तुलनामा १०५ दशमलव ५४ प्रतिशतले बढि हो । हाल कम्पनीले लगानी व्यवस्थापन सेवा अन्तर्गत इन्कम जेनेरेटेड फण्ड, प्रायोरिटि सर्भिस, सेयर क्लिनिक जस्ता योजना सञ्चालन गरिरहेको छ । 

कम्पनीले निक्षेप सदस्य सेवाअन्तर्गत डिम्याट खाताको पहँुच विस्तारका लागि बिगत एक बर्षदेखि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान सञ्चालन गरिरहेको छ । एनआईसी एशिया बैंकको मुलुकभर रहेका ३५२ शाखा र ७५ वटा विस्तारित काउन्टरबाट डिम्याट खाता खोल्न, शेयरको अभौतिकीकरण गर्न सकिन्छ । पछिल्लो समयमा अनलाइनबाट समेत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको एनआईसी एशिया क्यापिटलले जानकारी दिएको छ । 

कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म तीन लाख ७० हजारभन्दा बढि डिम्याट खाता खोली डिम्याट खाता संख्याको आधारमा नम्बर १ कम्पनी बन्न सफल भएको दाबी गरेको छ । यसको आधारमा आफू समग्र बजारको १० दशमलव ८६ प्रतिशत हिस्सा ओगटन सफल भएको उसको भनाई छ । 

हाल कम्पनीले चार वर्षको नवीकरण शुल्क भुक्तानी गर्दा पाँच वर्षसम्म डिम्याट खाता नवीकरण हुने, डीआईएस शेयर कारोवार गर्दा डिपिले लिने शुल्कमा क्यासब्याक अफर, अनलाईनमार्फत डिम्याट खाता खोल्दा एक घण्टाभित्र निःशुल्क डिम्याट खाता उपलब्ध गराउने लगायतका योजना सञ्चालन गरिरहेका छ । 

कम्पनीले मर्चेण्ट बैंकिङ सेवाअन्तर्गत गएको चैत्र मसान्तसम्म नौ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । निष्कशन तथा बिक्री प्रबन्ध सेवाअन्तर्गत हालसम्म ६ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन, चार वटा कम्पनीको हकप्रद शेयर निष्काशन र १२ वटा कम्पनीको बोलकबोलमार्फत शेयर बिक्री गर्ने काम सम्पन्न गरेको छ । 

कोरोना भाइरसको दोश्रो लहर देशव्यापीरुपमा दिन प्रतिदिन फैलिरहेको सन्दर्भमा तथा आगामी दिनमा समेत सोही प्रकृतिका अन्य महामारीको अवस्थामा क्यापिटलबाट प्रवाह हुने सेवालाई नियमितरुपमा सञ्चालन गर्न आफूले प्रदान गर्ने सेवाहरूलाई डिजिटलाईज गरि अनलाईनमार्फत सहज र सर्वसुलभ बनाउने कम्पनीको भनाई छ । सोहीअनुरुप हाल डिम्याट खाता र मेरो शेयर खाताको नवीकरण भुक्तानी, खुलामुखी योजनाको इकाईको खरिद पुनःखरिद अनलाईनमार्फत गर्न सकिने व्यवस्था मिलाईसकिएको जनाइएको छ । 
 

Advertisement

Advertisement