सीइडीबी हाइड्रोपावरको आईपीओ आजदेखि, कति कित्ता भर्ने ?

Advertisement

काठमाडौँ । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण शेयर आईपीओ आजदेखि निष्काशन खुला भएको छ । प्रतिकित्ता रु. १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्काशन खुला गर्न लागिएको हो । 

सो मध्ये कम्पनीले २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारी र ५ प्रतिशतले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९ सय ५४ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

Advertisement

पछिल्लो समय आईपीओमा १७ लाख जना भन्दा बढीले आवेदन दिन थालेका छन् । सर्वसाधारणका लागि निष्काशन खुला भएको २३ लाख ४१ हजार ९ सय ५४ कित्तालाई आधार मान्दा २ लाख ३४ हजार १ सय ९१ जनालाई १० कित्ता र ४ जनालाई ११ कित्ता शेयर पर्नेछ । त्यसकारण बढीमा २० कित्ता मात्रै आवेदन दिनु उपयुक्त देखिन्छ । 

कम्पनीको साधारण शेयरको निष्काशन तथा बिक्रीको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले वैशाख १७ गतेदेखि सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत अनलाइनबाट साधारण शेयरमा लगानीका लागि आवेदन दिन सक्नेछन् । उक्त सीइडीबीको साधारण शेयर निष्काशन बन्द छिटोमा वैशाख २१ गते हुनेछ ।

कस्तो छ कम्पनी ?
कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युत कम्पनी र ०.१८ मेगावटको स्यागे खोला जलविद्युत आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ ।

कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रकशन लिमिटेड, दोर्दी खोला जलविद्युत लिमिटेड तथा खारे खोला जलविद्युत कम्पनी लिमिटेड गरी ३ वटा आयोजनाहरु निर्माण भइरहेको छ । साथै कम्पनीको लगानी रहेको संखुवासभा मकालु गाउँपालिका(२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ । 

कम्पनीले सन् २००९ मा स्थापना सीइडीबी हाइड्रोपावर लिमिटेडको चालु आबमा प्रति शेयर आम्दानी १३.०५ र प्रति शेयर खुद सम्पत्ति १३८.७९ रहेको छ । कम्पनीले आव २०७५÷७६ मा १०.५४ प्रतिशत र २०७६÷७७ मा ७.३७ प्रतिशत नगद लाभाँश बितरण गर्न सफल रहेको छ भने कम्पनीले आगामी आबमा पनि लाभांश प्रदान गर्ने समेत प्रक्षेपण गरेको छ । 

साधारण शेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । साधारण शेयर बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपियाँ हुनेछ ।
 

Advertisement

Advertisement