सवा अर्ब लाग्ने वाइडबडीको मर्मत निःशुल्क ! कसरी सफल भयो निगम अर्बको दायित्वबाट उम्कन ?

काठमाडौं । राष्ट्रिय ध्वजाबाहकको अन्नपूर्ण नामक एक वाइडबडी जहाज ८ जनावरीको विहान साढे ४ बजे दोहाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै थियो । निगमको ९एन एलजेड नामक ए३३०–२०० कलसाइनको २५० सिट क्षमताको उक्त जहाज अवतरण गर्दा हेभि ल्याण्डिङ हुन पुग्यो ।

क्याप्टेनद्वय एमएम डंगोल र सुनील श्रेष्ठको कमाण्डमा रहेको उक्त जहाज हेभि ल्याण्डिङ गर्दा ल्याण्डिङ गियरमा समस्या आएको थियो । तर, चालक दलले यसको जानकारी नदिएका कारण जहाजले थप ५८ वटा उडान गरेपछि मात्रै समस्या आएको जहाज उडिरहेको निगमले थाहा पायो । जहाजमा प्राविधिक समस्या आएको जानकारी निगमले दुई सातापछि मात्रै थाहा पायो र २२ जनावरी २०२१ देखि जहाजलाई ग्राउण्डेड गरियो भने चालकदलका सदस्यलाई आवश्यक कारवाही पनि गर्यो ।

जहाज ग्राउण्डेड गराएर मर्मत गर्न जहाज निर्माता कम्पनी एयरबसलाई जानकारी निगमले नै दियो । जहाजको प्राविधिक पक्षको विश्लेषण फ्रान्समै भएर आयो । बाहिरबाट हेर्दा केही समस्या थिएन भने जहाज बेस्सरी थचारिएर ल्याण्ड भएको जानकारी पनि चालक दलले नदिएको हुँदा निगम व्यवस्थापनले यो विषयको जानकारी ढिलो गरी थाहा पाएको निगमका महाप्रवन्धक डिमप्रसाद पौडेल (प्रकाश)ले दिए । जतिबेला निगमले थाहा पायो त्यतिबेलासम्म उक्त जहाजले ५८ वटा उडान गरिसकेकोले थियो ।

निगमले जहाज निर्माता एयरवसकै राय अनुसार एक महिनाभित्र थप ४२ उडान गरेर एक सयवटा सम्म उडान गर्न मिल्ने जानकारी पाएको भएपनि थप जोखिम नलिने निर्णयसहित जहाज ग्राउन्डेड गरेर यसको लागत अनुमान गर्न थाल्यो ।  निगमका महाप्रवन्धक पौडेलका अनुसार उक्त जहाज मर्मत गर्न करिब १ अर्ब २० करोड रुपियाँ लाग्ने अनुमान भएको थियो । जहाजको तत्कालै मर्मत गर्न एयरक्राफ्ट अन ग्राउण्ड (एओजी) वेसिसमा यसका पाटपूर्जा मगाएर मर्मत गर्न त सकिन्यो । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडानका यात्रु कम भएकोले निगमका महाप्रवन्धक पौडेलले सम्बन्धित विभाग प्रमुखसँग सोधपुछ गरे र जहाज मर्मतमा हतार नगर्ने निर्णय पनि लिए ।

एओजी वेसिसमा ल्याण्डिङ गियर ल्याउँदा महंगो पर्ने र आर्थिक चलखेल पनि हुन सक्ने भन्दै निगमले तुरुन्तै उक्त पाटपूर्जा ल्याउने निर्णय लिएन् । पौडेलले भने, ‘एओजी वेसिसमा ल्याण्डिङ गियर ल्याउँदा अर्को चलिरहेको कुनै कम्पनीको जहाजबाट बिना टेण्डर ल्याउन सकिन्थ्यो । त्यसका लागि करिब ८० करोड रुपैयाँ ल्याण्डिङ गियरका लागि मात्रै खर्च गर्नुपर्ने अनुमानित लागत निस्कियो ।’

जहाजको उक्त ल्याण्डिङ गियर मर्मत गर्ने र लाने लाउने भाडासहित करिब १ अर्ब २० करोड रुपियाँ खर्च गर्नुपर्ने भएकोले तत्काल निर्णय नगरी जहाजको आवश्यकता र मर्मत गर्ने समयको विश्लेषण भएको छ । सोही अनुसार यो रकम नतिर्ने र जहाज पनि धेरै व्यस्त नभएकोले ग्राउन्डेड गरेर सार्वजनिक प्रस्ताव माग गरेरै ल्याण्डिङ गियर ल्याउने निर्णयमा निगमका महाप्रवन्धक पौडेल पुगे ।

जहाज मर्मतमा हतार नगर्दा जोगियो सवा अर्ब
जहाज मर्मत गर्दा आवश्यक उक्त सामान एओजीमा नल्याउने र सार्वजनिक प्रस्ताव माग गरेर प्रतिस्पार्धाबाट ल्याउन करिब ४० करोड रुपियाँ वचत हुने अनुमान त्यतिबेलै गरिएको पनि पौडेल सम्झन्छन् । जहाज मर्मत गर्ने, आवश्यक पाटपूर्जा ल्याउनेसहितको खर्च डेढ अर्ब रुपियाँसम्म लाग्ने हल्लाको अनुमान पनि भइरहेको थियो । जहाजको पाटपूर्जा मर्मत गर्न र उपलब्ध गराउन विभिन्न कम्पनीले दबाब पनि दिन थालेका थिए भने एओजी वेसिसमै लिन पनि प्रस्ताव आएको निगमका महाप्रवन्धक पौडेल सम्झन्छन् । ल्याण्डिङ गियरमा प्रतिस्पर्धा नगर्दा २९ करोड रुपैयाँ लाग्ने भनेको कम्पनीले नै प्रतिस्पर्धाबाट ल्याउँदा २२ करोड रुपैयाँमा नै दिन तयार भएको र यो रकम पनि बीमा कम्पनीले तिर्ने हुँदा निमगले बिना खर्च जहाज मर्मत गर्न पाएको पौडेल बताउँछन् ।

निगमले प्राविधिक समस्या आएर ग्राउण्डेड भएपछि जहाज मर्मत आकस्मिक गर्नु नपरेको हुँदा पौडेलले निगम आफैंले पैसा तिर्नुभन्दा पनि जहाजको बीमा कम्पनीसँग परामर्श गर्न थाले । सुरुमा कुरा गर्दा बीमा दिन तयार नभएका बीमा कम्पनी र त्यसको पुनर्बीमा कम्पनीलाई निम्याएरै निगमले बीमा दाबी गर्यो । अन्ततः बीमा कम्पनीले नै पूर्ण रूपमा क्षति भएको ल्याण्डिङ गियरको रकम तिर्न तयार भएपछि अब जहाज मर्मतमा पठाउने तयारीमा निगम पुगेको पौडेल बताउँछन् ।

यो जहाज सिंगापुरको ल्याण्डिङ गियर बनाउने कम्पनी स्याफ्रोनबाट लिने गरी प्रतिस्पर्धाबाट कम्पनी छनोट पनि भइसकेको छ । यो कम्पनीमा ल्याण्डिङ गियर मर्मत गर्दा लाग्ने सबै खर्च बीमा कम्पनीले नै व्यहोर्ने र त्यसका लागि आवश्यक खर्च पनि अग्रिम रूपमा दिन तयार बनाएर मात्रै जहाज पठाउने निर्णयमा पुगेको महाप्रवन्धक पौडेल बताउँछन् । मर्मत गर्दा लाग्ने पैसासहितको सबै खर्च बीमा कम्पनीले नै व्यहोर्ने भएकोले निगमले कुनै पनि खर्च नगरी सवा अर्ब लाग्ने जहाज मर्मतलाई बिना पैसा बनाउने भएको छ ।

उक्त जहाज अर्को साता मर्मतमा जाने भएको छ । जहाजको उक्त ल्याण्डिङ गियर मर्मत गरेर फर्कने भने करिब एक महिना लाग्छ । निगमसँग अर्को एक वाइडबडी जहाज मकालु पनि छ । कोरोना महामारीका कारण जहाजको खपत कम भएको तथा हवाई यात्रु नै कम हुँदा एउटैले पनि पुगेको छ । त्यसैले पनि निगमले उक्त जहाज मर्मतमा अधिक खर्च नगरी फूर्सदमा बनाउँदा शत् प्रतिशत बीमाबाट तिराउन सफल भएको बुझाई पनि पौडेलको छ ।

हेभि ल्याण्डिङ गर्ने ती क्याप्टेनद्वय डंगोल र श्रेष्ठलाई निगमले आवश्यक कारवाहीसमेत गरेको छ । निगमले ती पाइलटको तलव रोक्क, ग्रड बृद्धि रोक्का, निश्चित समय उडानमा रोकसहितको कारवाही निगमले गरेको छ ।