महामारीमा राजधानी सुनसान, सगरमाथा आधार शिबिरमा भने भिडभाड

Advertisement

काठमाडौं ।  कोरोना महामारीले राजधानी उपत्यकासहितका विभिन्न जिल्लामा निषेधाज्ञाले सुनसान भएपनि सगरमाथा आधार शिविरमा भने भिडभाड बढेको छ । महामारीमा अरु क्षेत्र खुला नभएको र गत वर्ष पनि महामारीकै कारण आरोहण गर्न नपाएकोले यो वर्ष सगरमाथा चढ्न आरोही ओइरिएको पर्यटन विभागका महानिर्देशक रुद्धसिंह तामाङले जानकारी दिए । तामाङका अनुसार अहिलेसम्म सबैभन्दा बढी आरोहीले अनुमति सन् २०१९ को वसन्त ऋतुका लागि ३८६ जना थिए । यो वर्ष सन् २०२१ को वसन्त ऋतुका लागि भने अहिलेसम्मकै धेरै आरोही आएर अनुमति लिनेमा कीर्तिमान कायम भएको छ ।

यो वर्ष १७ वैशाख (शुक्रबार)सम्ममा ५३ टिमबाट ४०८ जनाले अनुमति लिइसकेका छन् । अनुमति लिएका टोलि धमाधम आधार शिविरबाट उकालो लाग्दै गरेरका पनि छन् । केही आरोहीले सगरमाथाको दोस्रो क्याम्प पार गरिसकेको जानकारी विभागलाई प्रप्त भएको छ । विभागका अनुसार मौसम अनकुल भए यो वर्षको लागि आगामी साताबाट आरोहण सुरु हुने छ ।

Advertisement

पर्यटनको अरु गतिविधि रोकिएकोले यो वर्ष आरोहणमा नै पर्यटकको आकर्षण देखिएको पनि तामाङको बुझाई छ । उनका अनुसार महामारीको समयमा देखिएको यो आरोहण प्रतिको आकर्षण अनुमान भन्दा बढी हो । विभागले महामारीको समय भएकोल सानो संख्यामा र थोरै टिमले मात्रै आरोहण अनुमति लिने अनुमान गरिएको थियो । तर, अनुमान गरेभन्दा बढी आरोही ओइरिएकका कारण नै विभागले यो वर्ष आरोहणका लागि दैनिक कोटा प्रणालीसमेत लागू गरेको छ ।

२४ एजेन्सीबाट ४३ ओरोही टिम सगरमाथामा
विभागका अनुसार विभिन्न २४ वटा ह्याण्डलिङ एजेन्सीबाट ४३ टोलिका ४०८ जनाले अनुमति लिएका छन् । यस्तो अनुमति लिनेमा पुरुष ३५२ र महिला ९२ जना रहेका छन् । सगरमाथा आरोहणमा जाने आरोहीबाट सरकारले ६६ करोड १३ लाख ४२ हजार ९८७ रुपियाँ रोयल्टी संकलन भएको छ ।

विभागका अनुसार यो सिजनमा सगरमाथा बाहेक अरु १५ वटा हिमालमा पनि आरोहण अनुमति जारी भएको छ । कुल १६ वटा हिमालको लागि ८५ वटा टोलिका ७४२ जनाले आरोहण अनुमति लिएका छन् । यस्तो आरोहण अनुमतिबाट विभागले ७१ करोड ४८ लाख ५३ हजार ५२९ रुपियाँ रोयल्टी संकलन भएको पनि विभागले जानकारी दिएको छ । 

Advertisement

Advertisement