स्वास्थ्य मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउँदै

Advertisement

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो ।  मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिए । 

उनले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताउनुभयो । “हामीसँग अक्सिजन ग्यासको कमी छैन”, उनले भने, “तर सिलिन्डर नहुँदा बिरामीका लागि अक्सिजन पु¥याउन कठिन भएको हो ।”  मन्त्रालयले प्राणवायु अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ । 

Advertisement

मन्त्रालयले अस्पताल र सर्वसाधारणलाई खाली सिलिन्डर मौज्दात (होल्ड) नराख्न अनुरोध गरेको छ । नेपालमा अहिले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् । ती अस्पतालबाट दैनिक दुई हजार ५४९ सिलिन्डर भर्नसक्ने क्षमता रहेको मन्त्रालयले जनाएको छ । 

केही अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्कसमेत जडान गरिएको छ । अस्पतालसँग छ हजारभन्दा बढी र अक्सिजन बिक्रेताले दैनिक आठ हजार सिलिन्डर भर्न सक्ने क्षमता रहेको छ । रासस

Advertisement

Advertisement