अहिलेको परिस्थितिमा कर बुझाउन जान सकिन्न, समय थपियोस्ः उद्योग बाणिज्य महासंघ

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कर तिर्ने समय थप्न सरकारसँग माग गरेको छ । कोरोना भाइरस (कोभिड १९)को बढ्दो संक्रमण र त्यसलाई नियन्त्रण गर्न लागू गरिएको निषेधाज्ञाको विषम परिस्थितिलाई देखाउँदै महासंघले कर बुझाउने समय थप्न सरकारसँग माग गरेको हो । 

महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ को नयाँ भेरियण्टको संक्रमण रोकथामका लागि मुलुकको झण्डै दुई तिहाई भुभागमा निषेधाज्ञा लकडाउन जारी रहेका कारण सरकारलाई बुझाउनुपर्ने कर राजस्वको विवरण बुझाउनुपर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न आग्रह गरेको छ । 

Advertisement

महासंघले सम्बन्धित निकायमा पत्राचार गरी अहिलेकोे विषम परिस्थितिलाई मनन गरी मूल्य अभिबृद्धि कर तथा अन्तःशुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनुपर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन आग्रह गरेको हो । 

कोभिड महामारिका कारण दैनिक उपभोग्य बाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएका, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारसमेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा कर विवरण बुझाउन र कर रकम भुक्तानी गर्न नसकिने भन्दै विज्ञप्तिमा समय थप गर्न आग्रह गरिएको छ ।  

अघिल्लो वर्षमा भएको लामो लकडाउनपछि तङग्रिन सुरु गरेको व्यापार व्यवसाय कोभिडको दोस्रो लहरका कारण पुनः जटिल अवस्थामा आइपुगेको छ । सार्वजनिक यातायातको संचालन नभएको लगायतका कारणबाट उद्योग व्यवसाय पूर्णरूपमा संचालनमा आउन सकेका छैनन भने चलेका पनि अत्यन्त कम क्षमतामा संचालित छन् । महामारी कति लामो समय जान्छ ? यसै भन्न सक्ने अवस्था देखिन्न ।  

लकडाउनले अर्थतन्त्र चलायमान बन्न नसक्दा यससँग प्रत्यक्ष जोडिएका साना ठूला सबै तहका उद्योगी व्यवसायी, काम गरेर खाने श्रमिक कामदारलगायत आम सर्वसाधारणको दैनिक जीवनयापन अत्यन्त कठिन बन्दै जाने यथार्थतालाई समयमै मनन गरी सरकारबाट उचित नीति सहितको सहयोगको लागि समेत महासंघले आग्रह गरेको छ । 

Advertisement

Advertisement