अर्काको नक्कल गरेर प्रोडक्ट नलेउः बीमा समिति, त्यसो भए दायरा फराकिलो बनाउः कम्पनी

Advertisement

काठमाडौं । जीवन बीमा कम्पनीहरूले अधिकांश प्रोडक्टहरू एकै प्रकृतिको ल्याएपछि बीमा समितिले नविन प्रकृतिका प्रोडक्ट ल्याउन सल्लाह दिएको छ । एक कम्पनीले अर्कोको नक्कल गर्दै प्रोडक्ट ल्याउने गरेको समितिको तर्क छ । उसले नौला र इन्नोभेटिभ (सिर्जनात्मक) प्रोडक्टमा ध्यान दिन पनि कम्पनीहरूलाई सल्लाह दिएको छ । 

यता बीमा कम्पनीहरूले भने प्रोडक्ट निर्माणको दायरा नै समितिले साँधुरो बनाइदिएको गुनासो गर्छन । उनीहरूले प्रोडक्ट निर्माणको दायरा निकै साँघुरो रहेकाले हाईब्रिड प्रोडक्ट ल्याएर चित्त बुझाउनुपर्ने बाध्यता परेको बताउँछन् । 

Advertisement

समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले नयाँ प्रोडक्ट कस्तो ल्याउने ? त्यो कुरा बीमा कम्पनीमा निर्भर रहने बताए । उनी भन्छन्, ‘नयाँ किसिमका प्रोडक्ट ल्याउने काम बीमा समितिको होइन् । कम्पनीको हो । प्रोडक्ट बजार सुहाउँदो छ भने समितिले स्वीकृति नदिने भन्ने नै हुँदैन् । तर कैफियत देखिएका प्रोडक्ट चाहीं हामीले स्वीकृत गर्न मिल्दैन ।’

कुनै प्रोडक्टलाई जस्ताको त्यस्तै स्वीकृति नदिँदा बीमा कम्पनीहरूले केही असन्तुष्टि व्यक्त गर्नु स्वभाविक रहेको पौडेलले बताए । कुनै पनि प्रोडक्ट डिजाइन गरेपछि बीमा कम्पनीहरूले आफ्नो एक्चुरीबाट सल्लाह लिएकै हुन्छन् । त्यस्तै, बीमा कम्पनीहरूको प्रोडक्ट स्वीकृत गर्नुपूर्व बीमा समितिले पनि आफ्नो एक्चुरीलाई देखाउने गर्छ ।

समितिले एक्चुरीलाई प्रोडक्ट देखाउँदा त्यसमा केही हेरफेर हुने गरेको उनले स्वीकार गरे । पौडेलका अनुसार कुनै पनि बीमा कम्पनीको प्रोडक्ट स्वीकृत गर्नुअघि समितिले पनि आफूले अनुसन्धान गरेको हुन्छ ।

तर अहिले बीमा समितिमा सीमित जनशक्ति रहेको छ । जनशक्ति सीमित रहेकाले प्रोडक्टको दायराको अनुसन्धानलाई फराकिलो बनाउँन तत्कालै सम्भव नरहेको प्रवक्ता पौडेल बताउँछन् । समिति आफूसँग उपलब्ध स्रोत र साधनको सही प्रयोग गर्दै अघि बढिरहेको दाबी उनको छ । 

यता बीमा कम्पनीहरू भने एक किसिमको प्रोडक्ट डिजाइन गरेर समितिमा पठाए पनि स्वीकृत भएर आउँदा अर्कै किसिमको भएर आउने गरेको गुनासो गर्छन् । दायरा नै साँधुरो गरेर इन्नोभेटिभ प्रोडक्ट ल्याउ भन्ने समितिको तर्क उचित नभएको कम्पनीका सीईओहरूको भनाई छ । 

तर बीमा समितिले आफ्ना लागि सबै कम्पनी बराबर भएकाले एक्चुरीको सल्लाहअनुसार नै प्रोडक्ट स्वीकृत गरेर पठाइदिने गरेको बताउँछ । प्रोडक्टमा खोट देखाउनुभन्दा पनि आफ्नो सिर्जनात्मक क्षमता बढाउन कम्पनीहरू लाग्नुपर्ने  समितिको सुझाव छ ।

बीमा समितिका एक कर्मचारीले कर्पोरेट नेपालसँग भने ‘अहिले कम्पनीहरूलाई प्रोडक्ट ल्याउन जति पनि ठाउँ खुल्ला छ । अब इन्नोभेटिभ प्रोडक्ट बनाउने भनेको त कम्पनी आफैमा भर पर्ने कुरा हो ।’

ती कर्मचारीले थपे, ‘बीमा कम्पनीहरूले वाईवाई र म्यागी भनेर प्रोडक्टको खोल त फेर्छन् तर भित्र चाउचाउ भने एउटै हुन्छ ।’ बीमा कम्पनीहरूले पनि मौलिक प्रोडक्ट ल्याउन जोड दिनुपर्ने तथा समितिले समेत प्रोडक्टको दायरा वृद्धि गर्नुपर्ने ती कर्मचारीले बताए ।

प्राईम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराईका अनुसार अहिले बजारको माग नयाँ किसिममा प्रोडक्टमा नै छ । तर माग अनुसारको प्रोडक्ट बनाउन त्यति सहज छैन ।

‘अहिले हामीले बजारको माग अनुसारको प्रोडक्ट ल्याउन यति सहज छैन् । बीमितको आवश्यकता पूरा गर्न बीमा कम्पनीहरूले निकै मेहनत गर्नुपर्ने अवस्था छ । हामीले नयाँ प्रोडक्ट नभए पनि हाईब्रिड प्रोडक्टमा जोड दिएका छौं,’ उनले कर्पोरेट नेपालसँग भने ।

यसरी निमार्ण हुन्छ प्रोडक्ट
अहिले जीवन बीमा कम्पनीहरूले तीन किसिमका प्रोडक्ट बजारमा ल्याउने गरेका छन् । आजीवन, सावधिक र म्यादी प्रकृतिका प्रोडक्ट मात्र बीमा कम्पनीले ल्याउन मिल्छ । बीमा कम्पनीहरूले आफ्नो प्रोडक्ट डिजाइन गरेर आफ्नो एक्चुरीलाई देखाउनुपर्छ । 

तर बीमा समितिले पनि बीमा कम्पनीले ल्याएको प्रोडक्ट एक्चुरीलाई पुनः देखाउनुपर्ने प्रावधान छ । तीन महिनामा एउटा फिलिमको सुटिङ सकिने तर एउटा प्रोडक्ट भने डिजाइन तयार नहुने अवस्था रहेको कतिपय सीईओहरूको तर्क छ । हाल बजारमा रहेका प्रोडक्टमा बीमितको एक किसिमको आकर्षण रहे पनि नयाँ प्रोडक्ट ल्याउँदा उनीरूको सहभागिता अझै बढ्ने समितिको भनाई छ । 

Advertisement

Advertisement