सुन चोरीपैठारी गरी दुई अर्ब ५२ करोड राजश्व चुहावट गर्ने बिरुद्ध मुद्दा दर्ता

Advertisement

काठमाडौँ । दुई अर्ब ५२ करोड ७७ लाख ९६ हजार ८८ रुपियाँ राजश्व चुहावट गर्नेहरु बिरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ । पटकपटक सुन चोरी पैठारी गरी राजश्व चुहावट गरेको अनुसन्धानबाट पुष्टी भए पछि उच्च अदालत हेटौँडामा मुद्दा दर्ता गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय हेटौँडाको प्रहरी टोलीले चेकजाँचको क्रममा रातोमाटे चेकपोष्टमा बिना बिल बिजक बसमा लैजाँदै गरेको ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन बरामद गरी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएकोमा अनुसन्धान गर्दा राजश्व छलि गरेको पाइएपछि बैशाख १२ गते मुद्दा दर्ता गरिएको हो ।

Advertisement

अनुसन्धानका क्रममा भारत कर्नाटक राज्य बस्ने अब्दुल मजिद अनेकल, रोशन पटेल भनिने लुखमनुअल हाकिम र एश एम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिका सञ्चालक राजेश गुरुङले पटकपटक सुन चोरी पैठारी गरेको पुष्टी भएको छ । उनीहरु बिरुद्ध २ अर्ब ४३ करोड ८६ लाख ८० हजार १ सय १६ रुपियाँ बिगो दाबी सहित मुद्दा दर्ता गरिएको हो ।

त्यसैगरी यश इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिका सञ्चालक राजेश गुरुङ बिरुद्ध ४ करोड ३० लाख ७९ हजार ४ सय ३२ रुपियाँ, भैरव स्टोर्सका प्रोप्राइटर सञ्जिव श्रेष्ठ बिरुद्ध ४ करोड ५६ लाख ६ हजार ८ सय २७ रुपियाँ र काठमाडौँ २ बस्ने शंकर घिमिरे बिरुद्ध ४ लाख २९ हजार ५ सय १३ रुपियाँ बिगो कायम गरी मुद्दा दर्ता गरिएको विभागद्वारा आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ । 

राजश्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ४(क) र (ग) बमोजिम बिगो रकम असुल गरी सो को शतप्रतिशत जरिवाना र कैद सजायको माग दाबी सहित मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । 

Advertisement

Advertisement