महिला लघुवित्तको सेयर मूल्यमा अस्वाभाविक वृद्धि, लगानीकर्ताको आर्कषण किन लघुवित्तमै ?

Advertisement

काठमाडौं । केही समययता लघुवित्त कम्पनीहरूको सेयरमा लगानीकर्ताको निकै आर्कषण बढेको छ । गत चैत ८ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको डेढ महिनामै महिला लघुवित्तको सेयर मूल्य लघुवित्त कम्पनीहरूमध्ये मै उच्च बिन्दुमा पुग्न सफल भएको छ । 

यस कम्पनीले माघ ३० गतेदेखि फागुन पाँच गतेसम्म १० लाख कित्ता साधारण सेयरको प्राथमिक निष्काशन गरेको थियो । चैतको ८ गते पहिलो कारोबार २९९ रुपियाँमा गरेको यस कम्पनीको सेयर मूल्य बिहीबार (वैशाख २३ गते)सम्म आईपुग्दा पाँच हजार ३० रुपियाँ पुगिसकेको छ । यो मूल्य लघुवित्त क्षेत्रकै सबैभन्दा उच्च हो । महिला लघुवित्तको सेयर मूल्यमा आएको अस्वाभाविक वृद्धिले लगानीकर्ताहरूसमेत दोस्रो बजारमा खरीद गर्न झस्किने अवस्था सिर्जना भएको छ । 

Advertisement

गएको आर्थिक बर्षको पहिलो नौ महिना र चालु आर्थिक बर्षको पहिलो नौ महिनाको वित्तीय विवरण तुलना गर्दा महिला लघुवित्तको कमाई सतप्रतिशतभन्दा केही बढिले बढेको देखिन्छ । तर खराब कर्जामा भने खासै सुधार आएको छैन् । अन्य सुचकहरूमा सामान्य सुधार छ । तर सेयर बजारमा महिला लघुवित्तको सेयरमा देखिएको आकर्षण फरक खालको छ । 

यस्तै, लामो समयसम्म कारोबार बन्द रहेर चैत १७ गतेबाट सुचारु भएको एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको सेयरमा पनि उल्लेखीय वृद्धि भएको छ । स्वेदशी लघुवित्तसँग मर्ज भएपछि ६६५ रुपियाँ १२ पैसामा कारोबार सुचारु भएको एनआईसी एसिया लघुवित्तको सेयर करिव डेढ महिनामा एक हजार ८२१ रुपियाँमा आईपुगेको छ । स्वेदशी लघुवित्तसँगको मर्जरका कारण एनआईसी एसिया लघुवित्तको सेयरमा आएको वृद्धिलाई अस्वाभाविक मान्न नसकिने भए पनि महिला लघुवित्तको सेयर मूल्यमा भएको वृद्धि भने अस्वाभाविक देखिन्छ । 

लघुवित्तमै किन आकर्षण ? 
हाल नेप्सेमा सूचीकृत भएर कारोबार गर्ने लघुवित्त कम्पनीहरूको संख्या ५३ छ । जसमा कतिपय कम्पनी मर्जर तथा प्राप्तीको तयारीमा छन् जसका कारण ती कम्पनीको सेयर कारोबार रोक्का पनि छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म आउँदा अधिकाँश लघुवित्त कम्पनीको वित्तीय विवरण पनि उत्साहजनक देखिएको छ । यस अवधिसम्म अधिकाँश कम्पनीले नाफा बढाउन सफल भएका छन् । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानीमा पनि बृद्धि भएको छ । जसको कारण यस क्षेत्रको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो । 

बैंक वित्त कम्पनीको तुलनामा लघुवित्त कम्पनीहरूको आम्दानी बढि हुनुमा यिनीहरूले लिने चर्को ब्याजदर प्रमुख कारण हो । लघुवित्त कम्पनीहरू कतिपय कम्पनी बाणिज्य बैंकको सहायक कम्पनीहरू रहेका छन् । बाणिज्य बैंकहरूले पछिल्लो समयमा ब्याजदर घटाएर एकल अंकमा झारेको बेलामा पनि वित्त कम्पनीहरूमार्फत दोहोरो अंकमा चर्को ब्याज अशुल गर्दै आएका छन् । त्यस्तै यस्ता कम्पनीहरूको सञ्चालन खर्च पनि कम हुने र थोरै कर्मचारीलाई थोरै पारिश्रमिकमा धेरै दायित्व दिएर भए पनि नाफा बढाउन सफल हुँदै आएका छन् । 

लघुवित्त कम्पनीहरूले कोरोना कहरका बीच पनि राम्रो आम्दानी गर्न सफल भएका छन् । अन्य क्षेत्रका धेरै कम्पनीहरूको नाफा घट्नुका साथै वित्तीय सुचकहरू प्रभावित भएको बेलामा पनि लघुवित्त कम्पनीहरूको सुचक खासै प्रभावित नभएका कारण लगानीकर्ताको आँखा यस क्षेत्रमा परेको छ । बजारमा चलखेल गर्ने समूहहरूलाई सानो पुँजी रहेका यस्ता कम्पनीहरू सहज हुने गरेको कतिपय विश्लेषकहरूको तर्क छ । 

कति छ ५३ लघुवित्त कम्पनीको वैशाख २३ गतेसम्मको कारोबार मूल्य ? 
वैशाख २३  गतेसम्मको सेयर मूल्य हेर्दा पाँच हजारभन्दा माथि सेयर मूल्य भएको एउटै मात्रै कम्पनी महिला लघुवित्त मात्रै छ । यस दिनसम्म कारोबारमा आएको लघुवित्त कम्पनीमध्ये पाँच हजारभन्दा तल चार हजारसम्म सेयर मूल्य रहेका कुनै पनि कम्पनी छैनन् । तीन हजारभन्दा धेरै मूल्यमा सेयर कारोबार भइरहेका कम्पनीमा जनउत्थान लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स छ । यी कम्पनीको सेयर मूल्य क्रमसः तीन हजार ९७३ रुपियाँ र तीन हजार ६९० रुपियाँ छ ।

यता दुई हजारभन्दा माथि कारोबार भइरहेका सात वटा लघुवित्त कम्पनी छन् । जसमा फरवार्ड कम्युनिटिको दुई हजार ९२४ रुपियाँ, ग्लोबल आईएमई लघुवित्तको दुई हजार ७३५ रुपियाँ, लक्ष्मी लघुवित्तको दुई हजार २६० रुपियाँ, माहुली लघुवित्तको दुई हजार २३९ रुपियाँ र सर्पोट माईक्रोफाईनान्स को दुई हजार ५४० रुपियाँ छ ।

यस्तै स्वाभिमान र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको बिहीबारसम्मको सेयर मूल्य दुई हजार रुपियाँभन्दा माथि छ । बाँकी कम्पनीहरुको सेयर मूल्य पाँच सयदेखि दुई हजार रुपियाँको हाराहारीमा रहेको  नेप्सेले जानकारी दिएको छ ।

बिहीबार (वैशाख २३ गते)सम्मको लघुवित्त कम्पनीको सेयर मूल्य सूची । 

Advertisement

Advertisement